नेपाल– भारत सीमावर्ती रुपैडीहा रोडवेज डिपो क्षेत्रमा नेपाली यात्रुमाथि ठगी, लुटपाट तथा दुव्र्यवहारका घटना फेरि बढ्न थालेका घटना सार्वजनिक भएका छन् । त्यहाँबाट भारतीय पत्रकार सुरेन्द्र मधेसियाले दिएको जानकारी अनुसार, राति १२ बजेदेखि बिहान ८ बजेसम्म करिब डेढ दर्जन बस आगमन हुने यस डिपोमा विशेषगरी बिहान ३ बजेतिर दलालहरूको सक्रियता अत्यधिक देखिएको छ ।
सीमा बिहान ६ बजेसम्म बन्द रहने भए पनि केही नेपाली होटलका दलालहरू अवैध बाटो प्रयोग गरी रुपैडीहा पुग्ने र यात्रुहरूलाई जबरजस्ती होटलतर्फ लैजान खोज्ने गरेका छन् । यस क्रममा झगडा, कुटपिट, झैझगडा र तानातानसम्म हुने गरेको स्थानीय स्रोतले जनाएको छ ।
इसअघि पनि होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलको नेतृत्वमा रुपैडिहा पुगेको व्यवसायी टोलीले त्यहाँस्थित भारतीय प्रहरी, एसएसबी लगायतका सुरक्षा अधिकारीहरुसँग भेटेरै नेपाली दलालहरुबाट यात्रुले पाइरहेको दुख रोक्न आग्रह गरिएको थियो । ‘केही दिन सकारात्मक रेस्पोन्स आयो, तर पछि फेरि उस्तै अवस्था भएको छ,’ संघका अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने ।
प्त्रकार मधेसियाका अनुसार, बुधबारमात्रै बिहान एक नेपाली यात्रुको झोला हराएको घटना सार्वजनिक भएको छ । त्यस्तै, मोबाइल चोरी, जेब काटिने तथा सामान हराउने जस्ता घटना पनि बढ्दै गएको गुनासो छ । राना पेट्रोल पम्प, सेन्ट्रल बैंक चौराहा र रोडवेज डिपो क्षेत्रमा १५–२० जनाको समूहमा महिला र पुरुष दलालहरू जम्मा भई यात्रु तान्ने काममा संलग्न रहने गरेका छन् ।
यसअघि पनि सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीको सक्रियतामा केही व्यक्तिहरू पक्राउ परेका थिए र मुद्दा उपजिलाधिकारी कार्यालय मा पठाइएको थियो । ‘केही समय समस्या नियन्त्रणमा आए पनि अहिले पुनः उस्तै अवस्था देखिएको छ,’ पत्रकार मधेसियाले दैनिक नेपालगन्जसँग भने ।
यस विषयमा रुपैडीहा डिपोका सहायक क्षेत्रीय प्रबन्धक रामप्रकाशले पुनः रुपैडीहा थानामा लिखित जानकारी गराउँदै बिहान ३ बजेदेखि नै डिपो क्षेत्रमा प्रहरी परिचालन गर्न माग गरेका छन् । उनले यात्रुको सुरक्षाका लागि कम्तिमा दुई जना प्रहरी स्थायी रूपमा खटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उक्त पत्रको प्रतिलिपि नानपारा उपजिलाधिकारी कार्यालय, नानपारा क्षेत्राधिकारी कार्यालय लगायत सम्बन्धित निकायमा पठाइएको जनाइएको छ । स्थानीय प्रशासनले समस्या समाधानतर्फ चासो नदेखाए नेपाली यात्रु थप जोखिममा पर्ने चिन्ता व्यक्त गरिएको छ ।
‘नेपाली प्रहरी प्रशासनको ध्यानाकर्षण आवश्यक छ,’ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष कंडेलले गैरकानुनी रुपमा होटल व्यवसाय सञ्चालन गरिरहेकाहरुबाट यो समस्या बढी भइरहेको औल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘अब केही सुधार होला की !’ उनले नेपालतर्फ नाकामा तैनाथ प्रहरीलाई यस कुराको पुरै जानकारी रहेको औल्याउँदै रोक्न उनीहरुकै भूमिक महत्वपूर्ण हुने बताए । ‘अटोवालाहरुसँग ५० रुपिया प्रति व्यक्ति असुलेर चुपचाप अबैध र अराजक कामलाई प्रोत्साहित गरिएको छ,’ संघका प्रतिनिधि भन्छन्, ‘दुबै देशका सुरक्षाकर्मी यसका लागि सक्रिय भइदिनुपर्छ ।’





























