कोहलपुर गोल्डकप चौथो संस्करण घोषणा८ टोलीले प्रतिस्पर्धा गर्ने

पश्चिम नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोहलपुर गोल्डकप’ को चौथो संस्करणको घोषणा गरिएको छ।

आगामी बैशाख १९ गतेदेखि २६ गतेसम्म बाँकेको कोहलपुर–१३ स्थित तेह्र विगाह खेलमैदानमा यो भव्य प्रतियोगिता आयोजना हुने घोषणा भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले क्षेत्रीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मञ्च प्रदान गर्न लागिएको जानकारी दिएको हो।

आयोजक समितिका निर्देशक कर्ण बहादुर बस्नेतले यसवर्ष प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहने जानकारी दिए । निर्देशक बस्नेतले पत्रकारसँग भने, प्रतियोगितामा ‘ए’ डिभिजनका ३ वटा क्लब, २ वटा विदेशी टिम, मोफसलका २ वटा क्लब र १ आयोजक टिम रहनेछन्।

आयोजकका अनुसार, प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा ‘जङ्गल सफारी’ गराइने योजना आयोजकको छ। साथै उनीहरूलाई स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत गराइने आयोजकले जनाएको छ।

यस वर्षको प्रतियोगितालाई थप व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रा.लि. लाई दिइएको छ। ईश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहले आयोजनाको तयारीबारे जानकारी दिएका थिए।

खेल र पर्यटनलाई जोड्ने लक्ष्य
विगतका तीन संस्करणको सफलतापछि यसपटक खेलकुदलाई पर्यटनसँग जोडेर नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको कोहलपुर गोल्डकपका निर्देशक कर्ण बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार खेल तालिका र मुख्य प्रायोजकका बारेमा थप विवरणहरू आगामी दिनमा सार्वजनिक गरिनेछ।

स्थानीय स्तरमा खेलकुदको विकास र पहिचानका लागि यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथि, कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता पौडेलले बताइन् ।
कार्यक्रमको अध्यक्षता आयोजक रेसिंग सहारा क्लबका उपाध्यक्ष सन्तोष बम मल्लले गरेका थिए ।

Exit mobile version