बाँकेको नेपालगञ्ज -१२ मुक्तिपुर स्थित युनाइटेड एजुकेसनल एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका दुई छात्रा सोनिया पाण्डे र सुविक्ष्या सिंह ठाकुरीले ४.० जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन् ।
विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार संस्कृती बज्राचार्यले ३.९५, सार्थक रावतले ३.९१, निर्जल रेग्मीले ३.९० तथा समृद्धि शर्माले ३.८७ जीपीए प्राप्त गरेका छन् । यस वर्ष विद्यालयबाट एसइईमा सहभागी ५७ जना विद्यार्थीमध्ये अधिकांशले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयका अनुसार १४ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए, ३६ जनाले ३.२० देखि ३.६० जीपीए तथा ७ जनाले २.८० देखि ३.२० जीपीए ल्याएका छन् ।

दैनिक नेपालगञ्जको “द जीपीए टक विथ दैनिक नेपालगञ्ज” (The GPA Talk with Dainik Nepalgunj) कार्यक्रममा ४ जीपीए प्राप्त छात्रा सोनिया पाण्डे र सुविक्ष्या सिंह ठाकुरीले आफ्नो सफलताको अनुभव खुलेर साझा गरेका छन् । उनीहरूले आफ्नो सफलताको श्रेय विद्यालय, शिक्षक, अभिभावक तथा निरन्तर मेहनतलाई दिएका छन् ।
उनीहरूका अनुसार युनाइटेड एजुकेसनल एकेडेमी केवल विद्यालय नभई दोस्रो परिवारजस्तै हो । स्कुलमा कहिल्यै स्कुलजस्तो महसुस भएन, घरजस्तै लाग्थ्यो । केही नजान्नेले सिक्ने र जान्नेले सिकाइदिने संस्कार थियो, उनीहरूले भने ।
सोनिया र सुविक्ष्या बाल्यकालदेखि नै मिल्ने साथी हुन् । उनीहरू प्ले–ग्रुपदेखि नै सँगै अध्ययन गर्दै आएका छन् र विद्यालयमा प्रायः पहिलो तथा दोस्रो स्थान हासिल गर्दै आएका थिए । दुवैले आफ्नो पहिलो प्राथमिकता सधैं युनाइटेड एजुकेसनल एकेडेमी नै रहेको बताएका छन् ।
उत्कृष्ट नतिजापछि नेपालगञ्ज, कोहलपुर तथा काठमाडौंका विभिन्न कलेजबाट छात्रवृत्तिसहित अध्ययनका लागि प्रस्ताव आएको उनीहरूले जानकारी दिएका छन् । “अहिले धेरै कलेजबाट फोन र म्यासेज आइरहेका छन् । छात्रवृत्ति दिएर पढ्न आग्रह गरिरहनुभएको छ ।
सोनिया पाण्डेले आफूहरू नेपालगञ्जमै जन्मिएको, हुर्किएको र यहीँको वातावरणसँग जोडिएको बताउँदै उच्च शिक्षाका लागि पनि नेपालगञ्ज नै पहिलो प्राथमिकतामा रहेको बताइन् । “हामी पढ्ने नेपालगञ्जमै हो । हामी यहीँ जन्मियौं, यहीँ हुर्कियौं, त्यसैले नेपालगञ्ज सधैं हाम्रो पहिलो प्राथमिकता हुन्छ,” उनले भनिन् ।
सुविक्ष्या सिंह ठाकुरीले नेपालगञ्जमै पनि काठमाडौंसरह गुणस्तरीय शिक्षा रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई यहीँ अध्ययन गर्न आग्रह गरिन् । दुवैको रुचि विज्ञान संकायमा जीवविज्ञान (Biology) अध्ययन गर्ने र भविष्यमा बीएससी नर्सिङ (BSc Nursing) गर्ने रहेको बताएका छन् ।
सोनियाले आफू सधैं अन्तर्मुखी (Introvert)) स्वभावको रहेको बताइन् भने सुविक्ष्या कन्टेन्ट क्रियटर (Content Creator)का रूपमा सक्रिय रहेको जानकारी दिइन् । उनीहरूले आफ्नो अधिकांश समय सँगै अध्ययन र स्वअध्ययन (Self Study)मा बिताएको बताए ।
“पहिला पैसा, इज्जत र मायालाई नै सबैथोक ठान्थ्यौं, तर अहिले पढाइ नै सबैभन्दा ठूलो शक्ति रहेछ भन्ने महसुस भएको छ,” सुविक्ष्याले भनिन् । “जसले कहिल्यै फोन गर्दैनथे, उहाँहरू पनि अहिले फोन र म्यासेज गरिरहनुभएको छ । निकै खुसी लागेको छ । अझै पनि आमाबाबुलाई गर्व महसुस गराउने इच्छा छ ।”
सोनियाले भने सबैले आफूलाई “टपर” भनेर चिनाए पनि आफ्नो क्षमता र मेहनतलाई कहिल्यै नबिर्सने बताइन् । “अबका दिनमा पनि यही स्थानमा अडिन चाहन्छु । सबैले मेरो उदाहरण दिऊन् भन्ने चाहना छ,” उनले भनिन् ।
उनीहरूका अनुसार विद्यालय र परिवारबाट ठूलो अपेक्षा भएकाले धेरै दबाब ((Pressure)) का बीच अध्ययन गर्नुपरेको थियो । “४ जीपीए आउँछ भन्ने सोचेका थिएनौं । तर सबैको अपेक्षामा अडिनुपर्ने जिम्मेवारी थियो,” उनीहरूले बताए । यसले अझ चुनौती र जिम्मेवारी बढाएको महसुस गरेका छौं,” उनीहरूले बताए ।
विद्यालयको वातावरणलाई सम्झँदै उनीहरूले शिक्षकहरूले हाँस्दै, उदाहरणसहित र व्यवहारिक तरिकाले पढाउने गरेको बताए । “स्कुलले कहिले यता, कहिले उता घुमाउन लैजाने, रमाइलो गतिविधि गराउने गर्थ्यो । हामी दुवै सधैं अगाडि बढेर सहभागी हुन्थ्यौं,” उनीहरूले भने ।
सुविक्ष्याका अनुसार नेपालमा अझै “रटन्ते शिक्षा” (Rote Learning) को प्रभाव धेरै रहेको छ । “यदि विद्यार्थीले रट्ने बानीभन्दा बाहिर निस्केर अवधारणामूलक सिकाइ (Conceptual Learning Method) अपनाउन सके राम्रो अंक ल्याउन सकिन्छ,” उनले भनिन् ।
विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यले विद्यार्थीको मेहनत, अभिभावकको साथ तथा शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम बनाउन विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जिवराज भण्डारीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सामूहिक सहकार्यले सफलता सम्भव भएको बताउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई अझ सुदृढ बनाइने जानकारी दिनुभयो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।
यसैबीच, युनाइटेड एजुकेसनल एकेडेमीले कक्षा ११ (+२) मा नयाँ भर्ना खुला गरेको जनाएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून तथा शिक्षा संकायमा अध्ययनको व्यवस्था रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । एसइईमा उत्कृष्ट नतिजासँगै विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण अझ बढेको विद्यालयको भनाइ छ । विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र विद्यार्थीमैत्री वातावरणमार्फत सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।