नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउ घटनाबारे छलफल गर्न आकस्मिक सचिवालय बैठक बोलाएको छ।
एमालेका महासचिव शंकर पोखरेल ले आज बिहान साढे ८ बजे ललितपुरस्थित च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्।
अध्यक्ष ओलीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै एमाले आन्दोलनको तयारीमा जुटेको छ। सोही तयारीका सन्दर्भमा बस्ने सचिवालय बैठकपछि केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूसँग थप छलफल हुने जनाइएको छ। उक्त बैठकहरूले आन्दोलनका कार्यक्रम, स्वरूप तथा रणनीति तय गर्ने एमाले स्रोतले जनाएको छ।
पार्टी सचिव महेश बस्नेत का अनुसार सचिवालय बैठक सम्पन्न भएपछि विरोध कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।
एमालेले अध्यक्ष ओलीको पक्राउलाई “प्रतिशोधपूर्ण कदम” को संज्ञा दिँदै त्यसविरुद्ध सशक्त रूपमा उत्रिने संकेत गरेको छ।



























