नेपालगन्ज बसपार्कमा यात्रुहरू लुट्ने चार जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, गत मंगलबार काठमाडौँ जाने तयारीमा बसमा बसेका यात्रुहरूलाई ६÷७ जनाको समूहले धाकधम्की, डरत्रास र हातपात गर्दै लुटपाट गरेको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न समूहले यात्रुहरूको साथबाट रु. ५९ हजार नगद, मोबाइल फोन तथा केही जिन्सी सामान जबरजस्ती लुटिएको जानकारी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न चार जनालाई बुधबार पक्राउ गरेको हो । उनीहरूको साथबाट कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा नेपालगन्जका रामु परियार, सुवास बिष्ट, सन्जय क्षेत्री, कोहलपुरमा सन्दिप जंग क्षेत्री रहेका छन् ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरी नायव उपरीक्षक पातलीले जानकारी दिएका छन् ।





























