भूमिसुधार तथा मालपोत कार्यालय, बाँकेले अबदेखि परिचय खुल्ने कागजात अनिवार्य रूपमा हेरीमात्र कार्यालयमा प्रवेश दिने व्यवस्था लागू गरेको छ ।
कार्यालयले अनाधिकृत व्यक्ति तथा विचौलियाको प्रवेश रोक्न र सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र गुनासो–रहित बनाउन नयाँ प्रणाली लागू गरिएको जानकारी दिएको हो ।
प्रमुख मालपोत अधिकृत सबिन सिंह चौधरीका अनुसार, अब सेवा लिन आउने कानुन व्यवसायी, लेखापढी व्यवसायीले अनिवार्य रूपमा आफ्नो परिचयपत्र बोकेरै आउनुपर्नेछ । अन्य सेवाग्राहीले पनि प्रवेशद्वारमै नागरिकता, लाइसेन्स, काम खुल्ने निवेदन वा अन्य परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय परिसरमा प्रवेश पाउनेछन् ।
कार्यालयले आधिकारिक काम बाहेक व्यक्तिहरूले विभिन्न शाखा वा फाँटमा अनावश्यक रूपमा प्रवेश गरी कामकाजमा बाधा पु¥याउने गतिविधि नगर्न पनि अनुरोध गरेको छ ।
कार्यालयको भनाइ अनुसार, यस व्यवस्थाले विचौलियामुक्त वातावरण सिर्जना गर्न, सेवा प्राप्तिको सहजता बढाउन र पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






























