आगामी वैशाख २ देखि असार ७ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने आर्थिक गणनाका लागि म्याग्दीमा तयारी थालिएको छ । बाँकेमा पनि बैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख, आर्थिक गणना अधिकारी अवदेश कुमार शुक्लाले जानकारी दिएका छन् ।
बाँकेमा पशु सेवा केन्द्रको परिसरमा सम्पर्क कार्यालय स्थापना र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेर आर्थिक गणनाको तयारीलाई तीव्र पारिएको हो ।
आर्थिक गणना अधिकारी शुक्लाले चैत महिनाभर गणनाको तयारी पूरा गरिने जानकारी दिएका छन् । चैत मसान्तसम्म गणकको नियुक्ति, गणकलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबीच छलफल सकेर गणना सुरु गरिने उनले बताए । बाँकेमा आर्थिक गणनाका लागि ८६ जना गणक र ११ जना सुपरीवेक्षक परिचालन हुने छन् ।
बाँकेमा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन भइसकेको छ । पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन भैरहेको छ । उक्त समितिको नेतृत्व पालिकामा पालिका प्रमुख तथा वडामा वडाध्यक्षले गर्नेछन् ।
‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आवभित्र सम्पन्न हुनेगरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । विसं २०७५ को वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।
यस गणनाका क्रममा १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण संकलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिनेछ ।
सरकारले पहिलो पटक १ वैशाख २०७५ देखि ३१ जेठसम्म देशभर आर्थिक गणना गरेको थियो । उक्त आर्थिक गणना अनुसार, बाँकेमा साना –ठूला गरी १८ हजार ६ सय ६६ उद्योग व्यवसाय सञ्चालनमा रहेका थिए ।
प्रथम आर्थिक गणनाको प्रतिवेदन अनुसार, बाँकेमा रहेका १८ हजार ६ सय ६६ उद्योग व्यवसायमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएका थिए । रोजगारी पाउनेमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ४९ जना महिला रहेका छन् ।





























