विक्रम सम्वत २०४६ सालको आन्दोलन यता बहुदल र पार्टी आर्शिवादको आडमा मौलाएको भ्रष्टाचार र अराजकताले देशका लगभग सबै अंगहरु अपांग जस्तै भएका छन् । देशको सुव्यवस्थाको डोरी यतिसम्म मक्किएको छ कि त्यो मक्किएको डोरीको साइड इफेक्ट गत भदौमा जताततै छताछुल्ल पोखिएको हो । अब त्यो डोरी समाएर कोई शिखरमा पुग्नु भनेको ठूलो चुनौती पार गर्नू नै हो । यहि परिप्रेक्ष्यमा बालेन्द्र साहले त्यस्तै मक्किएको डोरीकै भरमा पनि सुशासनको शिखर चुम्ने आँट गरेर प्रधानमन्त्री भएका छन् ।
२०४६ सालमा निर्दलीय पञ्चायतलाई हुत्याएर बहुदल त आयो तर देशमा बहुदल राजनीतिमा मात्रै सीमित रहन सकेन । बहुदलले पार्टीगत संरचना भित्र मात्रै बस्न पनि सकेन । यो त देशको शिक्षामा पुग्यो । शिक्षा हासिल गरेर देशका लागि कटिबद्ध र इमान्दार जनशक्ति उत्पादन हुने विद्यार्थीमा दलीय आर्शिवादबाट विद्यालय विश्वपवद्यालय बन्द हडतालको धङधङ्गी देखि शिक्षक प्राध्यापक कुट्नेसम्म पुग्यो । शिक्षक प्राध्यापकहरु पनि शिक्षित प्रशिक्षित हुँदा हुँदै पनि दलकै संंघ संगठन भित्र बसेर काम गर्ने र नेताको चाकडी गर्ने अनि नियुक्ति सरुवा बढुवा आदिको आर्शिवादमा विश्वास गर्नेमा पुगे ।
दलका मान्छे नहुनुलाई देशविरोधी, पश्चगामी र विकास विरोधी नकारात्मक हुनु हो भन्ने न्यारेटिभमा बहुदल पुग्यो । दलका नेतालाई जनताले सुझाव दिने, विषय विज्ञले सल्लाह दिनु, जनताले आफ्नो मत सार्वजनिक गर्नु र सुशासनको चाहना राख्नुलाई प्रजातन्त्र र लोकतन्त्रको विरुद्धको आवाज भन्ने भाष्य खडा गर्न खोजियो । दल र यिनका नेताको आदेशलाई मात्रै लोकतन्त्र भनियो ।
देशभित्र उद्यम व्यवसाय गर्नुलाई बैमान र केहि पनि नगरि दलको भएकै र कार्यकर्ता भएर राजनीति गरेकै भरमा इमान्दार इमान्दार भएको भन्ने भाष्य निर्माण गरियो । पत्रकारिता देखि यातायात व्यवसायसम्म, कुचिकार देखि औद्योगिक मजदूरसम्म दलको संघसंगठनको नभएसम्म त्यो व्यक्ति न त बुद्धिमानी हुन सक्यो, न उसको श्रमको कदर हुन सक्यो ।
सत्ता भनेको विर्ता भयो । जनता भनेका भोट दिने र नबोली तमासा हेरेर बस्नुपर्ने दास भए । कर्मचारी भनेका काम गर्ने होइन कानूनका फुर्का दिखाएर अंकुस लगाउने र जनतालाई दुख दिएर असुली धन्दा चलाउने दलका प्यादा जस्तै भए । संस्थान, कुटनीतिक नियोग भनेका दलका कार्यकर्ता भर्ती केन्द्र र यसका कर्मचारीहरु भनेका काम भन्दा ब्रोकरको काम गर्ने र बोनस खाने एजेन्सी जस्ता भए । देशको प्रधानमन्त्री कार्यलय दलालीको भेटघाट केन्द्र बन्दै गयो ।
देशले सार्वजनिक ऋणको भारी थप्दै गयो त्यो पनि यहि ब्यवस्थाले भर्ती गरेका बमरिन्दाहरुलाई पाल्न र पोस्न । विकास असम्यक र गैर समानुपातिक गारउँदै लगियो । विकास बजेट खर्च हुनै नसक्ने अवस्था बनाइयो । कानूनका अनेर्कौ झन्झट राखेर काम गर्नेहरु ठेकेदारहरुलाई भुक्तानी बीना सेटिङ र कमिशन नदिने नियति नै बनाइयो । यसैको आडमा नेताहरु ठेकेदारका दलालहरुको घेराभित्र रमाउन थाले । विकास बजेट नै जनता र स्थानको आवश्यकता भन्दा नेता कर्मचारीको पहुँच र व्यक्तिगत आम्दानीको स्थानमा स्थानन्तर गर्ने परिपाटीको विकास गरियो ।
यी र यस्तो अवस्थामा पुर्याएर बहुदलले देशलाई सम्मुन्नत बनाएको डम्फू बजाइरह्यो । जनताका आधारभूत आवश्यकतातिरको चासो भन्दा पनि नियमित हुने कामहरुको फेहरिस्त पस्केर काम गरेको हाँक दिने काम भयो । कुटनीतिलाई समेत च्याँखे दाउ बनाउने र व्यक्तिगत वा दलगत स्वार्थ बन्छ भने देशलाई गौण राखेर जाने जस्तो घटिया काम हुँदै गयो ।
वितेको ३५ बर्षमा देशलाई राजनीतिक अस्थिरता, भाइभतिजावाद, नातावाद कृपावाद, कार्यकर्ता पालनपोषण मात्रवाद, आतंकवाद, हत्याहिंसा, जातिय क्षेत्रिय कित्ताकाट, गैर नेपाल िधार्मिक साँस्कृतिक तुष्टिकरण आदिको भुँवरीमा हालेर देशका सबै अंगहरुका डोरी मक्याएर राखियो ।
देशको सबैतिरका समाउने नैतिक राजनीतिक, कुटनीतिक, औद्योगिक, मौद्रिक, समाजिक, डोरीहरु यस्तो मक्किएका छन् कि यसलाई अब मर्मत मात्रै गरेर हुनेवाला छैन । यसलाई प्रतिष्थापन नै गर्नपर्ने अवस्था छ । यस्तो अवस्थामा सबैतिर मक्किएको सयंन्त्र सुधार्नका लागि जनताले युवा नेता बालेन्द्र साहलाई देश जिम्मा दिएका छन् । उनीबाट जनताले निकै आशा र भरोसा पनि राखेका छन् । यो मक्किएको अवस्थाको डोरी समाएर थिति बसाल्ने र देशलाई विधि पद्धतिमा हिँडाएर शिखर चढ्ने चुनौती बालेनलाई छ ।
बालेनलाई इन्तु किन्तु परन्तु भन्ने गर्ने छूट छैन । उनलालाई रिबन काटेर ताली खाने र वाहवाही सुनेर बस्ने छूछ छैन । कार्यकर्ता र ठेकेदारहरुको मैजारो लगाएर भजनमण्डलीमा रमाउने छूट छैन । थिति बसाल्दा कोहि मेरा मान्छे वा मेरो पार्टीका मान्छे रिसाउँछन् कि भन्ने छूट छैन । मिडियाबाजको डबलीमा भ्रमको खेति गराएर सबथोक ठिक छ भन्ने पनि छूट छैन । यो कुरा सबैले बुझ्नुपर्छ । यसमा जनता देखि उनैको दलका कार्यकर्ताले पनि सम्झिनुपर्छ । उनलाई यो मक्किएको अवस्थाको डोरी थमाएर खुट्टा तान्ने र मसिहाको पगरी गथाएर जयजयकार मात्रै गरेर उनलाई सुम्पिएको कार्यभार पुरा हुन सक्दैन । मक्किएको डोरी समाएर शिखर चुम्ने चुनौती स्वीकार गरेका बालेनलाई सबैको भरोसा र साथ चाहिएको छ । यसतर्फ उनका दलका कार्यकर्ताले पनि हेक्का राखून् ।




























