कञ्चनपुरको दोधारा चाँदनीमा प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय परिषद् बैठक तथा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी २०८२ भव्यरूपमा आयोजना भएको छ ।
प्रलेसका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिनाले दिएको जानकारी अनुसार, शुक्रवार र शनिवार दुई दिनसम्म आयोजित कार्यक्रममा भारतबाट आगन्तुक विद्वान्हरूले सहभागिता जनाएका थिए ।
सहभागीहरुमा प्रोफेसर डाक्टर सुरज बहादुर थापा (अखिल भारतीय प्रगतिशील लेखक संघ, नयाँ दिल्ली, प्रोफेसर नलिन रञ्जन सिंह र मनोज कुमार सिंह (जनवादी लेखक संघ, भारत), जीतेन्द्र हरि पाण्डेय र शारिक रब्बानी (भारतीय सांस्कृतिक सहयोग एवं मैत्री संघ, भारत), ज्ञानप्रकाश चौवे (जनवादी लेखक संघ, उत्तर प्रदेश) तथा ओमकार सिंह (जन संस्कृति मञ्च, भारत) लगायत थिए । उनीहरु सबैलाई प्रलेसले भव्य कार्यक्रमबीच सम्मान अभिनन्दन गरेको थियो ।
डा. तिमिल्सिनाका अनुसार, सङ्गोष्ठीको क्रममा जारी दोधारा चाँदनी घोषणापत्रमा साहित्यिक क्षेत्रका विभिन्न पहलहरू र राष्ट्रिय चेतनाका विषयमा विचार प्रकट गरिएको छ । घोषणापत्रमा प्रगतिशील लेखक सङ्घले नेपाली सीमा र राष्ट्रिय स्वाधिनताको रक्षामा जीवन बलिदान दिने सहिदहरू प्रति श्रद्धा प्रकट गर्दै सुदूर पश्चिम प्रदेशका भाषा, संस्कृति, कला तथा साहित्यलाई विश्व प्रगतिशील साहित्यमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
साथै, वर्तमान राजनीतिक परिस्थितिमा विदेशी प्रभाव र आन्तरिक भ्रष्टाचारका विरुद्ध नेपाली जनताको आवाजलाई साहित्य मार्फत प्रवाहित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । घोषणापत्रले बामपन्थी आन्दोलनका सबै पार्टी, सङ्घ संस्था र व्यक्तिलाई एकताबद्ध भएर राष्ट्रियता, सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्य संरक्षणमा लाग्न आग्रह गरेको छ ।
विदेशी हस्तक्षेप, अमेरिकी साम्राज्यवादको युद्धनीति, छिमेकी राष्ट्रहरूबीच द्विपक्षीय सम्झौताबाट उत्पन्न चुनौती र विश्वव्यापी युद्धका सम्भावनाहरूको विरोधमा प्रगतिशील लेखक संघ नेपालले स्पष्ट र कडा धारणा राखेको छ । यसै सन्दर्भमा, राष्ट्रपति निकोलस मडुरो र उनकी पत्नीको तत्काल रिहाई, युद्धउन्मादको अन्त्य र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने आग्रह पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
सङ्गोष्ठीले साहित्य र विचारको माध्यमबाट सामाजिक चेतना जगाउने मात्र नभई, युवा पुस्तामा सिर्जनात्मक चेतना र राष्ट्रिय जिम्मेवारीको भावना प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । प्रगतिशील लेखक संघ नेपालले आफ्नो साहित्यिक यात्रा अझ सक्रिय र राष्ट्रियतामा आधारित बनाउन प्रतिबद्धता जाहेर गरेको सचिव तिमिल्सिनाले जानकारी दिए ।






























