सीड्स नेपालले शनिवार नेपालगन्जमा सौन्दर्यकर्मीहरूका लागि एक दिने प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको जनाएको छ ।
आयोजकका अनुसार, कार्यक्रममा बाँके, बर्दिया, टिकापुर (कैलाली), दाङ र कैलालीका ६१ जना सौन्दर्यकर्मीले सक्रिय सहभागिता जनाएका थिए । अभिमुखीकरणमा सहभागीहरूले प्रजनन स्वास्थ्यका विभिन्न पक्ष, महिनावारी स्वच्छता व्यवस्थापन, यौनिक संक्रमण रोगहरू, संक्रमण रोकथामका उपायहरू, साथै कार्यस्थलमा स्वच्छता अभ्यास र व्यवस्थापनबारे सिकेका थिए ।
सीड्स नेपालका अध्यक्ष विकास केसीले कार्यक्रममा मुख्य उद्देश्य सौन्दर्यकर्मीहरूमा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको बताए ।
कार्यक्रममा बोल्दै उनले भने, सौन्दर्यकर्मीहरूले आफ्ना ग्राहकहरूसँग लामो समय बिताउँछन् र ग्राहकहरू प्रायः आफ्ना स्वास्थ्यसम्बन्धी समस्याहरू उनीहरूसँग सेयर गर्छन् । त्यसैले महिलाहरूले प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी प्राप्त गर्नु अत्यन्त जरुरी छ ।’ ‘जानकारी र सेवाको अभावले असुरक्षित गर्भपतन, मातृ मृत्युदर, यौनिक संक्रमण रोग तथा समग्र स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ,’ अध्यक्ष केसीको भनाइ थियो ।
तराईका जिल्लाहरूमा पनि प्रजनन स्वास्थ्यसम्बन्धी जागरुकताको कमीले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको जानकारी दिंदै अध्यक्ष केसीले सौन्दर्यकर्मीहरूलाई सशक्त बनाएर समुदायमा सही जानकारी पुर्याउनु अत्यन्त महत्वपूर्ण रहेको बताए ।
‘यस कार्यक्रमले सौन्दर्यकर्मीहरूलाई सही ज्ञानले सशक्त बनाउने लक्ष्य राखेको छ, जसले गर्दा उनीहरूले आफ्नो समुदायका महिलाहरूलाई भरपर्दो प्रजनन स्वास्थ्य जानकारी प्रवाह गर्न सकून् र सौन्दर्य पार्लरहरूमा उच्च स्तरको स्वच्छता तथा सुरक्षा कायम गर्न सकून्,’ अध्यक्ष केसीको भनाइ थियो ।
मेरि स्टोप्स नेपाल र सुनौलो परिवार नेपाल, कोहलपुरको सहजीकरणमा आयोजना गरिएको कार्यक्रमले सौन्दर्यकर्मीहरूलाई स्वास्थ्य, स्वच्छता र सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्दै समुदायमा सकारात्मक प्रभाव पुर्याउने विश्वास गरिएको आयोजकले जनाएको छ ।
