बाँकेमा यस बर्ष गहुँ उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । बाँकेका किसानले अहिले गहुँ भित्र्याउन व्यस्त पाइन्छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले यस बर्ष बाँकेमा मौसम अनुकुल रहेकाले गहुँ उत्पादन वृद्धि हुने अनुमान गरिएको बताए । ‘हाल गहुँ उत्पादनको तथ्यांक संकलन गरिरहेका छौं’, उनले भने ।
गत बर्षको तथ्यांक अनुसार, बाँकेमा २१ हजार ५ सय हेक्टरमा गहुँ खेती हुने गरेको छ । जसबाट ७३ हजार मेट्रिक टन गहुँ उत्पादन भएको छ थियो ।
मकै खेतीमा आकर्षण
बाँकेका किसानहरू मकै खेती तर्फ आकर्षित भएका छन् । एकै बर्षमा तीन बाली लगाउन सकिने भएपछि किसानको मकै खेती तर्फ आकर्षण बढेको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख, कृषि–अर्थ निर्देशक डा. विनोद घिमिरेले मकैको बजारिकरण सुनिश्चित गरिएकाले पनि मकै तर्फ किसानहरू आकर्षित भएको बताउँछन् । कार्यालय प्रमुख घिमिरेले बाँकेमा ४ हजार २ सय २८ हेक्टरमा मकै खेती हुने गरेको र त्यसबाट १९ हजार ५ सय ९९ मेट्रिक टन मकै उत्पादन हुने गरेको जानकारी दिए । ‘किसानले उत्पादन गरेको मकैले बजार पाएन भन्ने अवस्था बाँकेमा अहिले छैन’, उनी भन्छन् ।
बाँकेमा अन्य खेती गर्ने किसान पछि मकै खेती तर्फ आकर्षित हुन थालेका छन् । बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनिया बल्दीपुरुवाका किसान बेमौसमी खेती मकै खेतीतर्फ आकर्षित भएका छन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न लागेका हुन् । तरकारी खेतीबाट भन्दा मकैखेतीबाट राम्रो आम्दानी हुने भएपछि हिरमिनियाका अधिकांश किसानहरू मकैखेतीमा आकर्षित भएका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसानले बेमौसमी मकैखेती गरि राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय किसान नेत्रराम मौर्यले आफनो पुख्र्यौली र भाडामा सय कठ्ठा जग्गा लिई टोटल दुई सय भन्दा वढी कठठा जग्गामा मकैखेती गरेका गरेको बताउँछन् । तर व्यावसायिक कृषि पेशामा लागेका किसानलाई सरकारले अपेक्षा अनुरूप सहयोग नगरेको उनको गुनासो छ । ‘सरकारले प्रत्येक वर्ष कृषिमा लगानी गरेको छु भन्छ तर वास्तविक किसानको घरमा लगानी पुगेको छैन खोई हामीलाई त थाह भएन’, उनले भने । ‘समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको बेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा पनि रहँदैन,’ उनले भने ।
यस्तै डुडुवा गाउँपालिका वडा नम्वर ६ हिरमिनिया बल्दीपुरुवाकै स्थानीय किसान राध्येश्याम यादवले भने समयमा मल, बिउ नपाउने गरेको गुनासो गर्छन् । ‘विउ, मलखाद समयमा पाइदैन, सबै ईन्डियाबाट ल्याउनुपर्ने वाध्यता छ, सिचाईको पनि व्यवस्था छैन के गर्ने कसरी गर्ने ?’, सरकारले कुनै किसिमको सुविधा नदिएको स्थानीय यादव बताउँछन् ।
त्यसैगरेर सोही वडाकै करिब १८ कठ्ठामा मकै खेती गरिरहेका स्थानीय मुनिर लोध तरकारी खेती गर्दा भण्डारण गर्ने ठाउँको व्यवस्था छैन त्यसैले मकै खेतीमा लागेको र मकै खेतीमा ज्यादा फाईदा पनि हुने हुनाले मकै खेती गरिरहेको बताउँछन् ।
‘पहिला थोरै मात्रामा मकै खेती गर्दा यहाँ मकै जोन कार्यक्रम थियो र अहिले धेरै मात्रामा मकै खेती हुँदा यहाँबाट मकै जोन कार्यक्रम अर्कौ ठाउँमा गैहाल्यो हामीलाई सहयोग गर्ने कोही छैन हामीहरूलाई समस्या छ,’ स्थानीय सन्जित मौर्य भन्छन् ।
डुडुवाको वडा नम्बर ६ लाई मकै खेतीको जोनका रूपमा चिनिन्छ । उक्त वडाका अधिकांश स्थानमा अहिले मकै खेतीका लोभलाग्दा दृष्यहरू देख्न पाइन्छ । करिब ६ सय घरधुरी स्थानीयहरू मकैखेतीमा आवद्ध छन् । उनीहरू नेपालमा पाइने बीउबाट उत्पादन हुने मकैका दाना साना हुने र तौल पनि कम हुने भएकाले आफूहरूले भारतबाट मकैको बीउ ल्याएर खेती गर्ने गरेको बताउँछन् ।
लुम्बिनीमा कृषि उत्पादन वृद्धि
लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार लुम्बिनीमा कृषि उत्पादन वृद्धि हुँदै गएको छ । विगतका तथ्यांक अनुसार, लुम्बिनीमा धान, मकै, गहुँ, कोदो, जौ आलुको उत्पादनमा वृद्धि भएको हो ।
लुम्बिनीमा २०७७÷०७८ मा धान १२ लाख ७१ हजार ७ सय मेटिकटन उत्पादन भएकोमा प्रत्येक बर्ष उत्पादन वृद्धि हुँदै गत आ.व. २०८१÷०८२ मा प्रदेशभर उल्लेखनीय वृद्धि भई १३ लाख ७६ हजार ३ सय ७० मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको थियो ।
त्यस्तै, आ.व. २०८०÷०८१ मा मकै ४ लाख ७९ हजार ४ सय ७७ मेट्रिक टन र गहुँ उत्पादन ५ लाख ४६ हजार ७ सय १९ मेट्रिक टन उत्पादन भएको थियो । आ.व. २०८१÷०८२ मा मकै ४ लाख ९१ हजार ४ सय ६४ मेट्रिक टन र गहुँ ५ लाख ६३ हजार १ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धिले लुम्बिनी प्रदेशको खाद्य सुरक्षा तथा कृषिजन्य व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । कृषि क्षेत्र प्रदेशको आर्थिक संरचनामा महत्वपूर्ण अङ्ग रहेका कारण बाली उत्पादनमा आएको वृद्धि आगामी दिनमा प्रदेशको समग्र आर्थिक क्रियाकलापलाई थप मजबुत गर्ने संकेतका रूपमा हेरिएको छ ।
