सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

नेपालगन्जमा सामाजिक उत्तरदायित्वको एक सुन्दर उदाहरण प्रस्तुत गर्दै होटल पौवाले आफ्नो १०औँ स्थापना दिवस मानवसेवाको भावनासँग जोडेर मनाएको छ । उत्सवको चहलपहललाई केवल औपचारिकतामा सीमित नराखी, मानव सेवा आश्रम नेपालगन्जमा आश्रय लिइरहेका आश्रयविहीन नागरिकहरूसँग साट्ने निर्णयले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो ।

बुधवार स्थापना दिवसका अवसरमा पौवाको नेपालगन्ज शाखाले आश्रममा रहेका जेष्ठ नागरिक, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूलाई बिहानको खाना खुवाउँदै सम्मान प्रकट ग¥यो । करिब ८० जना आश्रित र सेवामा खटिएका स्वयंसेवकहरूलाई भोजन गराइएको थियो । त्यो केवल खाना वितरण मात्र थिएन, बरु सहानुभूति, माया र आत्मीयताको स्वाद पनि सँगै बाँडिएको अनुभूति सहभागीहरूले गरेका थिए ।

पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल मूल्यका रूपमा अघि बढाउँदै आएको बताउँदै, ‘मानव सेवा आश्रमजस्तो पुण्य कार्यमा संलग्न संस्थासँग सानो भए पनि सहकार्य गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो,’ भने । उनका अनुसार, देशभर रहेका पौवाका २० वटै शाखाले स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यहरू गरिरहेका छन् ।

नेपालगन्ज शाखाका महाप्रबन्धक गिरिराज पाण्डेले आश्रममा पुगेर आफ्नै हातले खाना खुवाउने अवसरलाई अत्यन्त भावुक र प्रेरणादायी अनुभवका रूपमा वर्णन गरे । ‘जेष्ठ नागरिक र आश्रित व्यक्तिहरूको आशिर्वाद पाउनु हाम्रो टिमका लागि ठूलो उपलब्धि हो,’ उनले भने । उनले थपे, ‘ग्राहकलाई गुणस्तरीय र स्वस्थकर खाना खुवाउँदै आएको हाम्रो अनुभवलाई आज फरक परिवेशमा प्रयोग गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।’

मानव सेवा आश्रमकी सह–संयोजक विष्णु घर्तीले पौवाको यस कार्यको खुलेर प्रशंसा गर्दै भनिन्, ‘यस्ता कार्यक्रमले आश्रमका आश्रितहरूमा आत्मीयता र अपनत्वको भावना जगाउँछ, जुन हामी सबैका लागि अमूल्य छ ।’

कार्यक्रममा पौवा नेपालगन्जका शाखा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शेयर सदस्यहरू, वरिष्ठ शेफ दीपक भण्डारी लगायत कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो । उनीहरूले केवल खाना वितरण मात्र गरेनन्, आश्रमका आश्रितहरूसँग समय बिताउँदै उनीहरूको सुख–दुःखमा सहभागी हुने प्रयास पनि गरे ।

‘स्थापना दिवसलाई केवल उत्सव नभई सेवाको अवसरका रूपमा रूपान्तरण गर्दै होटल पौवाले व्यवसायसँगै मानवताको सन्देश समाजमा प्रवाह गरेको’ संस्थापक शेयर सदस्य शरण कर्माचार्यले दैनिक नेपालगन्जसँग भने ।

Exit mobile version