पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चारग्रामस्थित भवनमा ‘डुडुवा सभाहल’ गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष नवीन गिरीका अनुसार, डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको सभाहलमा महासंघसँगै पत्रकारका व्यवसायिक हितमा कार्यक्रम सञ्चालन गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगन्ज उपमहानगरपालिका, तत्कालिन सांसदहरुको कोष, पत्रकारहरुको व्यक्तिगत हातेमालो लगायतको सहयोगमा तत्कालिन जिल्ला अध्यक्ष झलक गैरेको नेतृत्वमा शाखाको भवन निर्माण गरिएको थियो ।

विहीवार नवनिर्मित डुडुवा सभाहलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले उद्घाटन गरे । शाखाको नेपालगन्ज ४ सञ्चारग्राम (बसपार्क) स्थित भवनको दोस्रो तलामा सभा हल निर्माण गरिएको हो ।

सभाहलको तल्लो तला तत्कालिन अध्यक्ष ठाकुरसिंह थारुको नेतृत्वमा व्यवसायिक सटरका रुपमा प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईले सांसद विकास कोष सहयोगबाट बनाइएको थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । लोकतन्त्रमा मिडिया वाचडगको रुपमा रहने भन्दै उनले मिडिया नै खास प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारले निजी मिडियालाई नियन्त्रण गर्न खोजेको आशंका ब्यक्त गर्दै सरकारको नीति विरुद्ध सबै पत्रकार गोलबद्ध हुनुपर्नेमा जोड दिए ।

त्यसक्रममा महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका पूर्व अध्यक्षहरु झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गरे ।

त्यस्तै, अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, प्रकाशन तथा प्रशारण समाजका केन्द्रिय सचिव आशिष कुमार गुप्ता, क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरी, थारु पत्रकार संघ बाँकेका अध्यक्ष जागेश्वर सिंह थारु, ठकुरी पत्रकार समाजका बाँकेका सचिव विजय मल्लले कार्यक्रममा बोलेका थिए ।

शाखा उपाध्यक्ष तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए । त्यसैबीच, नव बर्ष २०८३ को शुभकामना व्यक्त गरिएको सभाहल उद्घाटन कार्यक्रमसँगै महासंघले प्रकाशन गरेको भित्तेपात्रो विमोचन पनि गरिएको छ ।

Exit mobile version