नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले चालु आर्थिक बर्षको विकास निर्माणको कार्यलाई तिव्रता दिइरहेको बताएका छन् ।
आर्थिक बर्षको सुरुमै जेनजी आन्दोलनका भएपछि निर्धारित योजनाको बजेट कटौटी तथा स्थगनले असर परेपनि वडास्तरका योजनाहरुलाई अगाडि बढाइरहेको वडाध्यक्ष बर्माले बताए । त्यसक्रममा बुधबार सिद्धार्थ शिवशक्ति टोलमा पक्की नाला सहितको पिसिसि सडक शिलन्यास गरेका वडाध्यक्ष बर्माले बहुबर्षिय योजनाहरुले निरन्तरता पाउने आशा गरिएको बताए । ‘हाम्रो वडामा मात्रै १२ करोडका २ वटा छुट्टाछुट्टै योजनामा बजेट विनियोजन गरिएको छ’, वडाध्यक्ष बर्माले जेनजी आन्दोलनपछि उक्त बजेटको अवस्था के हुने चासो राखिरहेको बताए ।
उपमहानगरपालिकाकै बजेटमा पनि २० प्रतिशत बजेट कटौती भैसकेको जानकारी दिंदै वडाध्यक्ष बर्माले भने, ‘२०÷२२ वटा साना विकास निर्माणका परियोजनालाई जसरी पनि पूर्णता दिने योजना सहित काम गरिरहेको छु ।’
उनले संघीय तथा प्रदेशबाट वडामा पारेको बजेट कार्यान्वयनका लागि पनि आफुले लागि परेको बताए । सिद्धार्थ शिवशक्ति टोलमा शिलान्यास गरिएको सडक ३० लाख बजेटमा २ सय २९ मिटर नाला र सडक पिसिसि गरेर यसै आर्थिक बर्ष भित्र पूरा गर्ने गरी काम सुरु गरिएको वडाध्यक्ष बर्माको भनाइ छ ।
