बाँके जिल्लामा चैत्र महिनाभरि भएका सवारी दुर्घटना, ट्राफिक कारबाही तथा राजश्व संकलनसम्बन्धी तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको विवरणअनुसार एक महिनाको अवधिमा जिल्लाभर ३६ वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले सार्वजनिक गरेको तथ्यांकअनुसार ती दुर्घटनामा ५४ वटा सवारी साधन संलग्न रहेका थिए । दुर्घटनाका कारण ७ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये घाइतेहरूको प्रहरीद्वारा उद्दार गरिएको जनाएको छ ।
प्रहरीले दुर्घटनाको कारणसमेत विश्लेषण गरेको छ । विवरणअनुसार तीव्र गतिका कारण सबैभन्दा धेरै २७ वटा दुर्घटना भएका छन् । चालकको लापरवाहीका कारण १ वटा दुर्घटना भएको उल्लेख छ । त्यसैगरी चौपायाका कारण १ वटा, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा २ वटा तथा यात्रुसम्बन्धी कारणले २ वटा दुर्घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि पनि व्यापक कारबाही गरिएको प्रहरीले जनाएको छ । चैत्र महिनामा चेकजाँचका क्रममा १ हजार ७ सय ८१ वटा सवारी साधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट १५ लाख ५७ हजार रूपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले बढ्दो सवारी चापसँगै दुर्घटना न्यूनीकरणका लागि तीव्र गति नियन्त्रण, चालक सचेतना, नियमित चेकजाँच तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ ।
