आगलागीको प्रमुख कारण विद्युतीय

नेपालगन्जमा आगलागीको प्रमुख कारण विद्युतीय रहेको औंल्याइएको छ । मंगलबार सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर आईआई) को प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको विपद् ब्यवस्थापनका असल अभ्यास तथा प्रयासका सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै पत्रकार रूपा गहतराजले आगलागीको प्रमुख कारण विद्युतीय रहेकाले त्यसको नियन्त्रणका लागि अब योजना बनाउन आवश्यक रहेको बताइन् ।

‘विद्युतीय सामाग्रीबाट हुने आगलागीका घटना नियन्त्रणका लागि प्रयास गर्ने हो भने आगलागीका धेरै घटना नियन्त्रण हुनसक्छन्’, पत्रकार गहतराजले भनिन् । उनले वि.सं. २०७७ देखि २०८२ सम्म भएको आगलागीको घटना विश्लेषण गर्दा सबैभन्दा बढी १ सय ९६ घटना आगलागीका कारण भएको जानकारी दिइन् । पत्रकार गहतराजले आगलागीका घटना २४ वटा ग्याँस, आगोका कारण १ सय ५६, अन्य १८ र कारण थाहा नभएका ९५ घटना रहेको बताइन् ।

अर्की पत्रकार अमृता जैसीले आफ्नो प्रस्तुति राख्दै वि.सं. २०८२ मा आगलागीका ९७ वटा घटना भैसकेको जानकारी दिइन् । उनले आर्थिक बर्ष २०७७ मा ६८, २०७८ मा ६१, २०७९ मा ८०, २०८० मा ९२, २०८१ मा १०१ आगलागीका घटना भएको तथ्यांक प्रस्तुत गरिन् ।

पत्रकार जैसीले विपद्का घटना र त्यसको नियन्त्रणका लागि स्थानीय तहले गरेको प्रयासका बारेमा बताएकी थिइन् । उनले नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा चार सय सामुदायिक विपद् स्वयंसेवक तयार गरेको उल्लेख गर्दै पुनर्ताजगी तालिमको आवश्यकता औंल्याइन् । वडा नम्बर ३ र ७ मै आवास बीमा कार्यक्रम अन्तर्गत १ सय ८४ परिवारको बीमा भएको उनले बताइन् ।

‘उपमहानगरपालिकाले प्रिमियम आफैं तिरिदिएर बीमामा प्रेरित गरेको छ । क्षति आंकलन गरी राष्ट्रिय बीमा कम्पनीबाट १५ लाखसम्मको बीमा कभर गरिन्छ’, उनले भनिन्, ‘पुराना विद्यालय र संरचनाहरूको रेट्रोफिटिंग गरेर भूकम्प प्रतिरोधी बनाइएको छ । आगलागीको जोखिम बढी रहेकोले समुदास्तरमा आगलागी नियन्त्रणका घरेलु उपायबारे कृत्रिम घटना अभ्यास समेत गराइँदै आइएको छ ।’

साँघुरा गल्लीहरू जहाँ दमकल जान सक्दैन, ती ठाउँहरूका लागि फायर ब्रिगेड बाइकको ब्यवस्थापन गरिएको पाइएको उल्लेख गर्दै पत्रकार जैसीले बाँकेमा जिल्ला, स्थानीय तहले विपद् व्यवस्थापन सम्बन्धी प्रतिकार्य योजना बनाएको र केही वडा समेत त्यसको तयारीमा रहेको जानकारी दिइन् ।

कार्यक्रमका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज पश्चिम क्षेत्रको केन्द्र भएकोले नेपालगन्जको क्षमता विकास गरी ‘विपद् ब्यवस्थापन हब’ को रूपमा विकास गरिनुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि उनले लुम्बिनी प्रदेश सरकार र योजना आयोगको पनि ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले पारस्थितिकीय र पर्यावरणमैत्री विपद् ब्यवस्थापनको मोडेल नै आजको आवश्यकता भएकोमा जोड दिए । विपद् ब्यवस्थापनमा सबै तहको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासहरूको आफूहरूले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराएका थिए ।

Exit mobile version