तपाई व्यवसायी हो भने खरिदको भुक्तानी बैंकिङ्ग प्रणालीबाट गर्नु नै उचित हुनेछ । त्यसो नगरे भविष्यमा समस्या हुनसक्ने तर्फ नेपालगन्जका व्यवसायीलाई सचेत गराइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसँगको सहकार्यमा बिहीबार आयोजना गरेको किराना तथा खाद्य व्यवसाय सँग सम्बन्धित वर्तमान ऐन तथा कानुनी प्रावधान सम्बन्धमा सचेतना तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीले गरेको खरिदको भुक्तानी बैंकिङ्ग प्रणालीबाट गर्न सुझाव दिइएको हो ।
कार्यक्रममा प्रस्तुति राख्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका निमित्त प्रमुख, कर अधिकृत उदयराम केसीले व्यवसायिक फर्मले खरिद गर्दा ५० हजार बढीको भुक्तानी नगद नगर्न सुझाव दिएका हुन् । ‘व्यवसायीले बिक्री गर्दा ग्राहकले नगद ल्याएपछि लिनुपर्छ, त्यसो नगर्दा बिक्री प्रभावित हुनसक्छ, तर खरिदको भुक्तानी भने अनिवार्य रूपमा बैंकिङ्ग प्रणाली मार्फत गर्नुस्’, उनले भने, ‘भोलिका दिनमा नगद भुक्तानी कै कारण व्यवसायी समस्यामा पर्न सक्छन् ।’
कर अधिकृत केसीले सामान बिक्रीको भुक्तानी अनलाइन प्रणालीबाट लिंदा व्यक्तिगत खातामा नलिन समेत सुझाव दिएका थिए । ‘फर्मको भुक्तानी व्यक्तिगत खातामा लिनु उचित होइन’, उनले भने, ‘फर्मको क्युआर भुक्तानीमा अतिरिक्त शुल्क लाग्दैन, कारोबार पनि पारदर्शी हुन्छ ।’
व्यवसाय दर्ता, कर प्रणाली, कर तिर्ने विधि तथा मूल्य अभिवृद्धि करमा जानुपर्ने अवस्था र व्यवसायीले गरिरहेको त्रुटिहरूबारे कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई जानकारी दिंदै कर अधिकृत केसीले कर सम्बन्धी ज्ञान नहुँदा आन्तरिक राजश्व कार्यालयमा पुगेर बुझ्न सकिने बताए ।
‘प्रत्येक पसल, व्यवसायी कहाँ पुगेर कर शिक्षा दिन जनशक्तिले भ्याउँदैन’, कर अधिकृत केसीले भने, ‘त्यसैले व्यवसाय सुरु गर्दा कर कानुन बारे व्यवसायीले जानकारी लिनुपर्छ ।’
कार्यक्रमका सहभागीलाई कर शिक्षा बारे पुस्तक उपलब्ध गराएका कर अधिकृत केसीले थ्रेस होल्डबारे पनि व्यवसायी जानकार हुनुपर्ने बताए । उनले भ्याट भन्ने बित्तिकै व्यवसायीले झन्झट मान्ने, तर्सिन गरेको उल्लेख गर्दै नबुझ्दा त्यसो भएको बताए । ‘भ्याटमा जाँदा कुनै समस्या हुँदैन, ८÷९ कक्षा पढेको मात्रै भएपनि हिसाब किताब राख्न सक्छन्’, उनले भने, ‘व्यवसायीले आफ्नो खरिद र बिक्री जे हो त्यही इमान्दारितापूर्वक हिसाबकिताब राख्नुपर्छ ।’
कर अधिकृत केसीले पान, भ्याट दुवैमा दर्ता हुने व्यवसायीले खरिद र बिक्री खाता आफैले प्रमाणित गरेर अनिवार्य रूपमा राख्न सुझाव दिए । ‘कर विवरणको दायित्व सरकारले व्यवसायीलाई दिएको छ, व्यवसायीले बुझाउने विवरण अनुसार नै कर निर्धारण हुन्छ’, उनले भने, ‘कर प्रशासनले सबैको विवरण हेर्न सक्दैन, जनशक्ति पनि हुँदैन, तर परीक्षण गर्न पुग्दा हरहिसाब कानुन बमोजिम राखेको हुनुपर्छ ।’
कार्यक्रममा स्वागत गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले व्यवसायीले माग गरे अनुसार भन्सार कडाई भएको उल्लेख गर्दै सकेसम्म सस्तोमा ग्राहकलाई मालसामान उपलब्ध गराउन आग्रह गरे । आफ्ना पसलमा राज्यले निषेध गरेको प्रतिबन्धित मालासमान बिक्री नगर्न आग्रह गर्दै अध्यक्ष धामीले नेपाली सामान बिक्री गर्ने पद्धतिमा अगाडि बढ्न आव्हान गरे । ‘हामीले ल्याउने सामान पनि भन्सार तिरेर मात्रै ल्याउ’, उनले भने ।
अध्यक्ष धामीले पछिल्लो समय भन्सारमा तसला खोस्दै गरेको आफ्नो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राज्यलाई सघाउन गएको र उद्योगी, व्यवसायीको हितमा गएको प्रष्टिकरण दिएका थिए ।
संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोखरेल, नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, किराना तथा खाद्य व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।






























