उपचारका क्रममा एक जनाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबार दिनभरजसो तनावको अवस्था सिर्जना भएको छ । बैजनाथ गाउँपालिका–६ की ६२ बर्षीया दिलसरा विश्वकर्माको उपचारका क्रममा आइतबार मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाही भएको भन्दै तनावको अवस्था सिर्जना गरेका हुन् ।
समाधानका लागि संवाद पहलमा सहभागी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतलाई अभद्र व्यवहार गर्ने गरी विवाद बढ्दै गएपछि छलफलले खासै निष्कर्ष दिन नसकेको बैठकमा सहभागी बताउँछन् । ‘पोष्टमार्टमपछि शव बुझ्ने र कानुनी उपचारमा जाने समझदारी बनेको हो’, बैठकमा सहभागी अस्पताल व्यवस्थापन समितिका एक जना सदस्यले दैनिक नेपालगन्जसँग भने । तर, पीडित परिवार स्रोतका अनुसार बिरामीको उपचारमा खटिएका चिकित्सक उपर नै किटानी जाहेरी दिएर दिलसराका छोरा सुरेश विश्वकर्माले कानुनी उपचार खोजेका छन् ।
दिनभरको घटनालाई लिएर उत्पन्न परिस्थितिले स्वास्थ्य उपचारको क्षेत्रमा नकारात्मक अवस्थाको सिर्जना हुने भन्दै चिकित्सकहरूले भने चिन्ता व्यक्त गरेका छन् । ‘उपचारमा सबै सावधानी अपनाइएको थियो कि थिएन भन्ने कुराको खोजी गरेर कैफियत भेटिए चिकित्सकको लाइसेन्स नै खारेज हुनसक्ने कानुनी व्यवस्था छन्’, घटनालाई नजिकबाट नियालिरहेका एकजना वरिष्ठ चिकित्सकले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने, ‘तर यहाँ नेपाल मेडिकल काउन्सिल जस्ता नियामक निकायमा उजुरी दिनुको साटो मान्छे मार्न बसेका डन जस्तो गरेर अस्पताल भित्रै चिकित्सकहरूमाथि दुव्र्यवहार हुन लागेपछि उत्पन्न हुने असुरक्षाले अस्पतालप्रतिको विश्वास, आस्था र भरोसाको जग हल्लिने जोखिम उत्पन्न भएको छ ।’
घटनालाई सरोकारवालाहरूले दबाब, प्रभावभन्दा माथि उठेर अनुसन्धान गर्नुपर्ने पीडितहरूको माग छ । पीडित परिवारले सामान्य अवस्थामा उपचारका लागि गएकी दिलसराको मृत्यु उपचारमा लापरवाहीकै कारण भएको दाबी सहित विभिन्न आशंका व्यक्त गरिरहेको छ । ‘औषधी ओभरडोज दिएको हाम्रो आशंका हो’, मुख्य चिकित्सक आफै उपचारमा सहभागी नभएर सहयोगी मार्फत औषधी उपचार गर्दा लापरवाही भएको दाबी गर्दै परिवारका एक सदस्यले दैनिक नेपालगन्जसँग भने, ‘अस्पतालले मृत्युको चित्तबुझ्दो जवाफ समय लगाउनुले पनि हामीलाई त्यो आशंका प्रति बल पुगेको छ ।’ उनीहरूले त्यसविरुद्ध कानुनी उपचारमै जाने निर्णय गरिएको र प्रहरीलाई किटानी जाहेर दिइएको बताए ।
चिकित्सकहरूले घटनाको प्रहरी अनुसन्धान भन्दा प्राविधिक अध्ययन अनुसन्धान आवश्यक भएको औंल्याउँछन् । उनीहरू भन्छन्, ‘मृत्युलाई डाक्टरले जित्न सक्दैन, भीड र बार्गेनिङ्गबाट समस्याको समाधान खोजियो भने यसले निम्त्याउने जोखिमबाट सिंगो स्वास्थ्य क्षेत्र प्रभावित हुन्छ ।’ ‘गलत नजिर नबस्ने गरी घटनाको अनुसन्धान गरेर निकास दिन सरोकारवालाहरूलाई हामी सबैको आव्हान हो’, चिकित्सकले भनेका छन् ।
भीड र दिनभरको तनावले भेरी अस्पतालमा उपचार सेवा समेत प्रभावित भएको थियो ।
