पाँच महिनामा ९० बर्ष कैदका लागि २ सय बढी पक्राउ

मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ । तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ ।

बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका धेरै छन् । अहिले प्रहरीले उनीहरूलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरूले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् ।

बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ ।

बाँकेमा पछिल्लो पाँच महिनामा मात्रै २ सय ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको मासिक तथ्यांक अनुसार, उनीहरूबाट ९० बर्ष बढी कैद भुक्तान बाँकी रहेको थियो । जेनजी आन्दोलनका क्रममा विभिन्न जेलबाट फरारहरू खोज्न समेत प्रहरीले सक्रियता बढाइरहेको छ ।

बाँकेमा गत मंसिरदेखि चैत्र मसान्तसम्म पक्राउ परेका फरारहरूबाट १ करोड ४२ लाख ७१ हजार रूपैयाँ बढी जरिवाना असुलीका लागि बाँकी रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार प्रहरीले गत मंसिरमा ४७ जना, पुस महिनामा ३३ जना, माघ महिनामा ३५ जना, फागुन महिनमा २७ जना र चैत्र महिनामा ६२ जना फरार पक्राउ गरेको थियो । मंसिर महिनामा पक्राउ परेकाबाट ३४ बर्ष बढी, पुसमा पक्राउ परेकाबाट २० बर्ष बढी, माघमा पक्राउ परेकाबाट ८ बर्ष बढी, फागुनमा पक्राउ परेकाबाट ७ बर्ष बढी र चैत्र महिनामा पक्राउ परेकाबाट १९ बर्ष बढी कैद भुक्तान बाँकी रहेको थियो ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले प्रहरीले नियमित रूपमा अदालतबाट सजाय पाएका र प्रहरीमा मुद्दा रही फरार खोज्दै आएको बताए ।

Exit mobile version