नेपालगन्ज विमानस्थलमा यात्रु सुविधालाई लक्षित गर्दै नयाँ टर्मिनल भवन आंशिक रूपमा सञ्चालनमा आएको छ । साथै निःशुल्क सटल बस सेवा पनि सुरु गरिएको छ ।
विमानस्थलका अनुसार बिहीबार देखि डिपार्चर तर्फको सेवा पनि सञ्चालनमा आउनेछ, जसले यात्रु व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
‘मंगलबार अराइभल सेवा नयाँ टर्मिनल भवनबाट सेरु भएको छ’, नेपालगन्ज विमानस्थल प्रमुख सरोज कुमार पोखरेलले भने, ‘डिपाचरका लागि त्यससँग सम्बन्धित एक्स रे मेसिन लगायतका आवश्यक पूर्वाधार सार्ने काम भैरहेको छ । उनले आज बिहीबारदेखि नयाँ टर्मिनल भवनबाट डिपार्चर सेवा सुरु हुनेसक्ने सम्भावना औंल्याए ।
‘नयाँ टर्मिनल भएको पूर्वाधार सबै निर्माण भएपछि सेवा सुरु भएको हो’, नेपालगन्ज विमानस्थल प्रमुख पोखरेलले भने । विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते सम्झौता गरेर २०८२ साल पुस सम्ममा तीन अर्ब नौ करोड रुपियाँमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, २०८२ साल असोजमै निर्माण पूरा गरिएको थियो ।
दुई तलासहितको अत्याधुनिक टर्मिनल भवनलाई अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी पूर्वाधारहरू निर्माण गरिएको छ भने अध्यायगमन र सुरक्षाका लागि कार्यालय भवनहरू पनि तयार पारिएका छन् । भवनको अन्डरग्राउड तलामा सर्वसाधारणका लागि विभिन्न पसलहरू समेत राखिने गरी भवन तयार गरिएको छ ।
सो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।
यसैबीच, यात्रुहरूको आवत–जावतलाई सहज बनाउन विमानस्थलले निःशुल्क सटल बस सेवा पनि सञ्चालनमा ल्याएको छ । विमानस्थल परिसरदेखि करिब दुई किलोमिटर टाढा रहेको राँझा चोकसम्म बस सेवा उपलब्ध गराइएको हो ।
नागरिक उड्डयन प्राधिकरणद्वारा सञ्चालित बस सेवा नियमित रूपमा चलाइने जनाइएको छ । करिब २५ यात्रु अट्ने क्षमताको बस अपाङ्गमैत्री रहेको छ । नयाँ टर्मिनल र सटल सेवाले विमानस्थल र मुख्य सडकबीचको दूरीका कारण हुने असुविधा घटाउने विश्वास गरिएको छ । यी सुधारहरूले नेपालगन्ज विमानस्थल प्रयोग गर्ने यात्रुहरूलाई थप सहज, सुरक्षित र व्यवस्थित यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
