नेपालगन्ज सहर व्यवस्थित र सुरक्षित बनाउनका लागि सिसि क्यामेरा जडान गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले पहिलो चरणमा नेपालगन्जका मुख्य चोक तथा भित्री बाटो प्रवेश गर्ने स्थल र बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
डिपिआर गरी कुल नौ करोड बढी बजेट लागत अनुमान गरिएको सिसि क्यामेरा जडान कार्यलाई उपमहानगरपालिकाले बहुबर्षिय योजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको छ । त्यसका लागि पहिलो चरणमा २ करोड ७३ लाख ७३ हजार ३ सय १ रूपैयाँ बजेट उपमहानगरपालिकाले विनियोजन गरेको छ । कुल ९ करोड ३१ लाख ४५ हजार १ सय ७ रूपैयाँ लागत अनुमान गरिएको सिसिक्यामेरा जडान कार्य सम्पन्न गर्न आगामी बर्षको बजेटमा पनि स्रोत सुनिश्चित गर्ने निर्णय कार्यपालिकाले गरेको हो ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले पहिलो चरणमा सिसि क्यामेरा जडान संवेदनशील र प्राथमिकतामा पर्ने क्षेत्रहरूमा जडान गरिने जानकारी दिए । ‘नगरका मुख्य चोकहरूमा यातायातका साधनको नम्बर प्लेट समेत स्पष्ट देख्न सकिने खालका उच्च प्रविधिको क्यामेरा जडान हुनेछ’, उनले भने, ‘त्यसबाहेक अन्य ठाउँहरूमा रातीको समयमा पनि दृश्य स्पष्ट देखिने क्यालिटीका सिसी क्यामेरा जडान हुनेछन् ।’
नगर प्रमुख विष्टले सहरको सुरक्षाको दृष्टिकोणले निगरानी गर्न पनि सिसि क्यामेराको आवश्यकता महसुस गरिएको बताए । ‘विभिन्न घटना हुँदा अनुसन्धानमा सहयोग पुर्याउन पनि सिसि क्यामेराले मद्दत पुर्याउँछ’, उनले भने ।
नगर प्रमुख विष्टले सहरमा जथाभावी फोहोर फालिने गरेको र त्यसको निगरानीका लागि पनि सिसि क्यामेराको मद्दत लिइने बताए । ‘विहान सफा गरेको सहर राती हुँदा जताततै फोहोर फालेको देखिन्छ, २४ घण्टा कर्मचारी खटाएर निगरानी असम्भव भएकाले क्यामेराबाट निगरानी गर्नेछौं’, उनले भने । रातीको समयमा सञ्चालन हुने व्यवसायीले उत्पादित फोहोर जथाभावी नफालेर बोरामा राखिदिनु पर्ने नगर प्रमुख विष्टले बताए । क्यामेराको निगरानी पनि जाथाभावी फोहोर फाल्नेको पहिचान हुनसक्ने कारवाही गर्ने उनले बताए ।
उपमहानगरपालिकाले राँझ चोक, कारकाँदो चोक, त्रिभवन चोक, त्रिवणीमोड, सुर्खेतरोडको हाइवेका विभिन्न ठाउँ, भित्री सडकहरू लगायतका स्थानमा सिसि क्यामेरा जडानको योजना बनाएको हो ।
