धम्बोझी ब्याडमिन्टनमा रोमाञ्चक प्रतिस्पर्धा

९२ टिमबीचको भिडन्तपछि विजेताको टुंगो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको कभर्ड हलमा आयोजित ‘प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता’ दुई दिनसम्म चलेको तीव्र प्रतिस्पर्धापछि रोमाञ्चक नतिजासहित आइतवार सकिएको छ ।

दुई दिनसम्म करिब ९२ टिमबीच भएको प्रतिस्पर्धामा खेलाडीहरूले उच्चस्तरीय प्रदर्शन गर्दै दर्शकलाई उत्साहित बनाएका थिए । भने, बाहिरबाट आएका खेलाडीहरुले आयोजनाको भव्यताप्रति खुलेरै प्रशंसा गरेका छन् ।

पुरुष बी लेभलतर्फ बिजन ओली र जितेन्द्र पुनको जोडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ । त्यस्तै पुरुष सी लेभलमा दिपकराज बम र हिमाल बस्नेतको जोडी च्याम्पियन बन्न सफल भयो । यु–१५ पुरुष एकलतर्फ कैलालीका आदित्य चौधरीले प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जिते ।

प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच उपविजेताहरू पनि उत्तिकै उत्कृष्ट प्रदर्शन गर्दै मैदानमा दमदार उपस्थिति जनाए । बी लेभलमा सनिउल्ला राइनी र राजेश साउदको जोडी उपविजेता बने भने सी लेभलमा शिव शाह र सद्दाम शेष तथा यु–१५ एकलतर्फ विराट बस्नेत उपविजेता बने ।

त्यस्तै बी लेभलमा पवन चौधरी–सन्दिप चौधरी तथा अर्जुन बुढा–मुस्कान केसीको जोडीले तेस्रो स्थान हासिल गरे । सी लेभलतर्फ कुमार शान शाह, नरेश थापा, नरेश मल्ल र परशुनारायण चौधरीको जोडी तेस्रो स्थानमा रहे । यु–१५ एकलतर्फ आशुतोष कशौधन र विपिन केसीले तेस्रो स्थान प्राप्त गरे ।

विजेता खेलाडीहरूलाई नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय सदस्य रतन कुमार टण्डन, पूर्व प्रशिक्षक श्रवण कुमार श्रेष्ठ, बाँकेका सहायक प्रजिअ महेश कुमार गुरुङ, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी चक्र डम्बर पाल, मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रमुख महेश चन्द, बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय थापा लगायतले पुरस्कृत गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को सहकार्य तथा नेपाल ब्याडमिन्टन संघ काठमाडौं र बाँके जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताले स्थानीय खेलाडीहरूमा उत्साह थपेको आयोजकले जनाएको छ ।

आयोजक धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीका अनुसार, प्रतियोगिताले युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्य बोकेको थियो । उनले आगामी वर्ष प्रतियोगितालाई अझ भव्य र प्रतिस्पर्धात्मक बनाइने पनि बताए ।

‘कडा प्रतिस्पर्धा, उत्साहपूर्ण माहोल र दर्शकको हुटिङबीच आयोजित प्रतियोगिताले नेपालगन्जको ब्याडमिन्टन क्षेत्रमा नयाँ ऊर्जा थपेको छ,’ बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय थापाले दैनिक नेपालगन्जसँग भने ।

Exit mobile version