भारतको पश्चिम बङ्गालमा सत्ता परिवर्तनपछि बढ्दो राजनीतिक तनावबीच सत्तारूढ बन्न लागेको भारतीय जनता पार्टी (भाजपा) का एक प्रभावशाली राजनीतिक सहयोगीको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा आएका बन्दुकधारीहरूले बुधबार राति कोलकातामा ४१ वर्षीय चन्द्रनाथ रथमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनापछि राज्यको राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ ।
प्रहरीका अनुसार रथ पश्चिम बङ्गाल भाजपाका प्रमुख तथा सम्भावित मुख्यमन्त्री सुभेन्दु अधिकारीका निकट सहयोगी थिए । कोलकातास्थित आफ्नै घर नजिकै उनीमाथि योजनाबद्ध आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रत्यक्षदर्शी र प्रहरी विवरणअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले रथ सवार कारलाई रोकेर नजिकैबाट लगातार गोली चलाएका थिए ।
राज्य प्रहरी प्रमुख सिद्धनाथ गुप्ताले बुधबार राति करिब ११ बजे घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा प्रयोग गरिएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ, तर त्यसमा नक्कली दर्ता नम्बर प्रयोग गरिएको पाइएको छ । प्रहरीले आक्रमणकारीको खोजी तीव्र बनाएको जनाएको छ ।
प्रहरी अनुसन्धानअनुसार आक्रमणकारीहरूले रथमाथि करिब एक दर्जन गोली प्रहार गरेका थिए । अधिकांश गोली छाती र मुटुको भागमा लागेको बताइएको छ । उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
अपोलो अस्पतालका चिकित्सक प्रीतम सेनगुप्ताले रथलाई अस्पताल ल्याउँदा शरीरमा धेरै गोली लागेको र अवस्था गम्भीर भइसकेको बताउनुभयो । उहाँका अनुसार रथको मृत्यु अस्पताल ल्याउनुअघि नै भइसकेको थियो ।
यस घटनापछि पश्चिम बङ्गालमा चुनावपछिको हिंसा र राजनीतिक प्रतिशोधको बहस चर्किएको छ । राज्य विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले घटनालाई ‘ठण्डा दिमागले गरिएको योजनाबद्ध हत्या’ को संज्ञा दिनुभयो । उहाँले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्नुभयो ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले हालै सम्पन्न पश्चिम बङ्गाल विधानसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको थियो । सोमबार सार्वजनिक परिणामअनुसार २९४ सदस्यीय विधानसभामध्ये भाजपा एक्लैले २०७ सिट जित्न सफल भएको हो । १० करोडभन्दा बढी जनसङ्ख्या रहेको पश्चिम बङ्गालमा भाजपाले पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुगेको छ ।
विश्लेषकहरूले यसलाई हिन्दी भाषी उत्तर र मध्य भारतबाहिर भाजपाको सबैभन्दा ठूलो राजनीतिक विस्तारका रूपमा व्याख्या गरेका छन् । सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री बनेपछि पश्चिम बङ्गालजस्तो राजनीतिक रूपमा संवेदनशील राज्यमा प्राप्त यो विजयलाई भाजपाका लागि रणनीतिक उपलब्धि मानिएको छ ।
पश्चिम बङ्गालमा सन् २०११ देखि ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काङ्ग्रेस (टीएमसी) सत्तामा थियो । मोदीकी प्रमुख आलोचक मानिएकी बनर्जी यसपटक आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएको छ । उहाँले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गर्दै विभिन्न अनियमितताबारे प्रश्न उठाउँदै आउनुभएको छ ।
चुनावी परिणाम सार्वजनिक भएयता राज्यभर राजनीतिक झडप र हिंसाका घटना बढिरहेका छन् । बुधबारसम्म चुनावपछिको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा पाँच पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भाजपाले रथको हत्या राजनीतिक प्रतिशोधको हिस्सा भएको आरोप लगाएको छ । पश्चिम बङ्गाल भाजपाका अध्यक्ष समिक भट्टाचार्यले यो ‘पूर्वनियोजित हत्या’ भएको दाबी गर्दै तृणमूल काङ्ग्रेसलाई दोष दिनुभयो । उहाँले टीएमसीकै कार्यकर्ताहरूले हमला गराएको आरोप लगाउँदै राज्यमा भय र हिंसाको राजनीति चलाइएको टिप्पणी गर्नुभयो ।
यता तृणमूल काङ्ग्रेसले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । पार्टीले विज्ञप्ति जारी गर्दै चन्द्रनाथ रथको हत्या निन्दनीय भएको जनाएको छ । साथै टीएमसीका कार्यकर्तामाथि पनि भाजपासमर्थित समूहबाट आक्रमण भइरहेको आरोप लगाएको छ ।
राजनीतिक तनावका बीच भाजपाले शनिबार आफ्नो संसदीय दलको बैठकपछि नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने जनाएको छ । राज्यमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला भएको यो हत्या घटनाले पश्चिम बङ्गालको राजनीतिक भविष्य थप अस्थिर बन्न सक्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् ।




























