बाँकेको कोहलपुर नगरपालिकाले गत बैशाख १६ गतेको सूचना अनुसार अतिक्रमित क्षेत्र खाली गराउने भएको छ । कोहलपुर नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्न बैशाख २५ गते साँझसम्मको समय दिएको थियो । उक्त समयसीमासम्म अतिक्रमण नहटाए शनिबार विहान नगरपालिकाले आफैले अतिक्रमण हटाउने भएको छ ।
बिहीबार कोहलपुर नगरपालिकाले सूचना जारी गर्दै वडा नं. ११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमण हटाउने र त्यहाँ रहेका भूमिहिन दलित तथा भूमिहीन सुकुम्बासीलाई तत्काल अस्थायी बसोबासका लागि अन्यत्र सार्ने जानकारी दिएको छ ।
कोहलपुर नगरपालिकाले यसअघि क्रिकेट मैदान आसापासमा अतिक्रमण गरी बसेका व्यक्तिहरूले लगत संकलन गरिसकेको छ । अतिक्रमण हटाएपछि अस्थायी रूपमा भूमिहीन, सुकुम्बासी राख्नका लागि कोहलपुर नगरपालिकाले १६ ठाउँमा होल्डिङ सेन्टर तोकेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जारी गरेको सूचनामा २ सय बढी परिवार भएमा होल्डिङ्ग सेन्टरका रूपमा गेष्ट हाउसलाई पनि प्रयोग गरिने उल्लेख गरेका छन् । साथै नगरपालिकाले होल्डिङ्ग सेन्टर व्यवस्थापनका लागि उपसमिति समेत बनाएको छ । नरेश वान्तवा राईलाई आवास तथा खाद्यान्न व्यवस्थापन उपसमितिको संयोजक बनाइएको छ ।
कोहलपुर नगर प्रमुख पूर्ण आचार्यका अनुसार, कोहलपुर ११ स्थित नगर विकास समितिको जग्गामा हाल ७ सय ५१ वटा घर टहरा रहेका छन् । जसमा अव्यवस्थित बसोबासी ४ सय १६, भूमिहीन दलित १ सय ७२ र भूमिहीन सुकुम्बासी १ सय ६३ घरधुरी रहेका छन् । उनले एउटै परिवारका सदस्यले अलग निवेदन दिएकाले ४ सय परिवार हुनसक्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्दै केही व्यक्तिको अन्यत्र पनि जग्गा रहेको भेटिएको उल्लेख गरेका छन् ।
