‘मानवताका लागि एकबद्ध होऔं’ भन्ने मूल नारासहित बाँकेमा बिहीबार विश्व रेडक्रस दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा, विभिन्न उपशाखा तथा सर्कलहरूले सामाजिक सन्देशमूलक कार्यक्रम आयोजना गर्दै दिवस मनाएका हुन् ।
हरेक वर्ष ८ मेका दिन रेडक्रसका संस्थापक जोन हेनरीको जन्मदिनको अवसर पारेर विश्वभरका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूले यो दिवस मनाउने गर्दछन् । बाँकेमा पनि दिवसले मानवता, स्वयंसेवा र सामाजिक सहकार्यको सन्देश फैलाएको छ ।
दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका निवासी नियमित रक्तदाता फरमान अली सिद्धिकी (सोनु) ले आफ्ना स्वर्गीय बुबा इरसाद अली सिद्धिकी (मुन्ना दाइ) को तेस्रो पुण्यतिथिको स्मरणमा नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्रलाई रगत भण्डारणका लागि आवश्यक फ्रिजर प्रदान गरेका छन् । उक्त सहयोगले रक्तसञ्चार सेवाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले दातालाई सम्मान तथा धन्यवाद ज्ञापन गर्दै रेडक्रसका सेवा गतिविधिमा स्वयंसेवकहरूको निरन्तर साथ र योगदान उल्लेखनीय रहेको बताए । उनले विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा मानवीय सहयोगका क्षेत्रमा रेडक्रसले समुदायसँग मिलेर प्रभावकारी काम गरिरहेको उल्लेख गरे ।
बाँके जिल्ला शाखाअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा १७ वटा उपशाखा सक्रिय रहेका छन् । कुसुम, कचनापुर, सोनारी, गंगापुर, बेतहनी, कोहलपुर, बैजनाथ, खजुरा, सितापुर, जानकी, बेलासपुर, पुरैनी, घरवारीटोल, पिप्रहवा, सदरलाइन, बाँकेबगिया र मनिकापुर उपशाखाले आ–आफ्नो क्षेत्रमा रक्तदान, सचेतना तथा सामाजिक सेवा सम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।
प्रादेशिक रक्तसञ्चार केन्द्रमा आयोजित मुख्य कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, कार्यसमिति सदस्यहरू अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, सरिता ज्ञवाली, खगेसरी भण्डारी, सीता शर्मा पोख्रेललगायत कर्मचारी तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्रका इन्चार्ज उपेन्द्र रेग्मीले गरेका थिए ।





























