कार्यसम्पादन गर्ने क्रममा आउने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जनप्रतिनिधिले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) तथा अन्तर्गत स्थानीय सरकार, के गर्दैछन्, के गर्नुपर्छ भन्ने विषयमा आयोजित छलफल कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले उपमहानगरपालिकाले गरेका कतिपय काम नागरिकलाई चित्त नबुझ्न सक्ने बताउनुभयो । उहाँले सबै कुरा वार्ता र छलफलकै माध्यमबाट समाधान हुन सक्ने धारणा राख्नुभयो । ‘अफठ्यारो परे प्रमुख–उपप्रमुखसमक्ष आउनुस् भनेर बारम्बार भनिरहेकै छौं, यहाँहरु आइरहनुभएकै छ, ’उहाँले भन्नुभयो ।
नगरपालिकाले गरेका असल अभ्यासबारे समाचार सम्प्रेषण गर्नुका साथै कमीकमजोरी पनि उजागर गर्न उहाँले मिडियालाई आग्रह गर्नुभयो । उहाँले उपमहानगरपालिकाको कार्यालयमा कसैले घुस मागेको प्रमाणसहित आए कारवाही गर्न तयार रहेको बताउनुभयो ।
‘सबै जनालाई सन्तुष्ट बनाएर भगवानले पनि काम गर्न सक्दैनन्, ’उहाँले भन्नुभयो । आफूले जापान जाँदा एकजना नेपालीले ७–८ वटा होटलसम्म सञ्चालन गरेको देखेको उपप्रमुख अर्यालले बताउनुभयो । ‘विदेश गएका नेपालीले त्यहाँ प्रगति पनि गरेका छन्, ’उहाँले भन्नुभयो । उपप्रमुख अर्यालले बुटवलका सामूदायिक विद्यालयलाई राष्ट्रियस्तरमा अब्बल बनाउने प्रयास गरिएको बताउनुभयो ।
त्यस्तै देवदह नगरपालिकाका प्रमुख धु्रव प्रसाद खरेलले काम गर्ने क्रममा धेरै कानूनी जटिलता रहेको बताउनुभयो । उहाँले नगरपालिकामा कर्मचारीको अभाव र स्थानीय स्रोत अत्यन्तै कम रहेको बताउनुभयो । ‘नगरमा कर प्रणालीलाई व्यवस्थित गरेका छौं, गर्नुपर्ने धेरै काम छन् । विकास निर्माण गर्दै जाने हो, ’नगरप्रमुख खरेलले भन्नुभयो ।
उहाँले देवदहमा सबैभन्दा ठूलो समस्या फोहोरमैला व्यवस्थापनकै रहेको बताउनुभयो । ‘खुल्ला रुपमा हाम्रो एकल अधिकार प्रयोग गर्न पाएका छैनौं, ’उहाँले भन्नुभयो–‘अशिक्षा, गरीबीकाविरुद्ध लडिरहनुपरेको छ ।’ देवदहले धेरै नमूनायोग्य कामहरु गरेको र नगरपालिकामा आएर अनुगमन गर्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्वअध्यक्ष डी.आर. घिमिरेले मिडियाले समस्याको उठान गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले आलोचनाबाट डराउन नहुने बताउनुभयो । ‘आलोचनाले समाधान निकाल्छ, परिणाम दिन्छ, त्यसैले आलोचनाबाट डराउनुहुँदैन, ’उहाँले भन्नुभयो । स्थानीय सरकारको ध्यान कर उठाउनेतर्फ मात्र गयो कि भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘स्थानीय सरकारले नागरिकलाई बाँध्ने होइन, सहजीकरण गर्ने हो, ’घिमिरेले भन्नुभयो ।
कार्यक्रममा कुखुरापालक किसान विशाल थापाले मैले आर्जन गरेको शिक्षाले गुजारा चल्छ कि चल्दैन भनेर सोच्नुपर्ने बेला आएको बताउनुभयो । उद्योगी कृष्ण प्रसाद पाण्डेले स्थानीय सरकारले लगानी गरेको तालिमबाट कत्तिको प्रतिफल प्राप्त भयो भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
फर्निचर व्यवसायी नेत्र रुचालले घुमन्ते र बिना दर्ता घरघरमा पुगेर काम गर्ने व्यक्तिहरुका कारण उद्योग दर्ता गरेर सञ्चालन गरेर उद्योग–व्यवसाय सञ्चालन गरेका उद्योगी–व्यवसायी पीडित रहेको बताउनुभयो ।
उद्योगी मणि खनालले तरकारी तथा फलफूमा अत्याधिक विषादी भेटिएकोले यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघको सह–कोषाध्यक्ष धन कुमारी खनालले तालिमबाट कतिजना उद्यमी–व्यवसायी बन्नुभयो भन्नेबारे बहस जरुरी रहेको बताउनुभयो ।
व्यवसायी लक्ष्मी प्रसाद श्रेष्ठले बुटवलमा रात्रीकालीन बजार अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघ, रुपन्देहीको उपाध्यक्ष अस्मिना पाण्डेले गर्नुभएको थियो । कार्यक्रम वैशाख २८ गतेसम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो ।





























