वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै वृद्धि भएको छ । चालु आर्थिक बर्ष २०८२/०८३ को फागुन महिनामा भन्दा चैत्र महिनामा विदेशिनेको संख्यामा वृद्धि भएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार, फागुन महिनमा नेपालबाट १ सय ४ मुलुकमा श्रम स्वीकृति लिने सहितको संख्या संख्या ५२ हजार ९ सय ४४ रहेको थियो । उक्त संख्या चैत्र महिनामा १० हजार बढीले वृद्धि भएको छ । चैत्रमा १ सय १ मुलुकका लागि श्रम स्वीकृति लिनेको संख्या ६१ हजार ८ सय १९ रहेको छ ।
धेरै नेपाली मलेसिया, युरोप र खाडी राष्ट्र नै जाने गरेका छन् । तथ्यांक अनुसार चैतमा सबैभन्दा बढी १८ हजार ६ सय ४९ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका थिए । दोस्रोमा संयुक्त अरब इमिरेट्स (युएई) मा ११ हजार ४ सय ६३, कतारमा ८ हजार ९ सय ५९ र साउदी अरबमा ८ हजार ९ सय २० जना गएका छन् । पछिल्लो समय युरोपेली राष्ट्रहरूमा पनि नेपालीको आकर्षण बढेको देखिएको छ । रोमानियाका लागि ४ हजार ४ सय ३८ जनाले श्रम स्वीकृति लिँदा जापानका लागि १ हजार ६ सय २६ र साइप्रसका लागि १ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत फागुनमा यूएइका लागि ७ हजार १ सय ३ ले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, मलेसियाका लागि ५ हजार ९ सय ४५, कतारका लागि २ हजार ४ सय ३६, साउदी अरबका लागि २ हजार २ सय ५१, रोमनियाका लागि २ हजार ५ सय ४३, कुवेतका लागि १ हजार ९ सय ९९ श्रम स्वीकृति जारी भएका थिए ।
आर्थिक वर्ष २०८१÷८२ मा नेपालबाट विभिन्न देशमा जान श्रम स्वीकृति लिनेहरूको संख्या ८ लाख ३९ हजार २ सय ६६ रहेको थियो । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, स्वीकृति लिने मध्ये दक्षभन्दा अदक्ष र अर्ध–दक्ष कामदारको संख्या उल्लेख्य देखिएको छ ।
तथ्यांकअनुसार, गत आ.व.मा कुल ८ लाख ३९ हजार २ सय ६६ जनामध्ये ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष र ९४ हजार ४ सय ५५ जना महिला थिए । श्रम स्वीकृति लिने मध्ये सबैभन्दा बढी दक्ष श्रमिक ५ लाख ६ हजार ८ सय २७ जना रहेका थिए । त्यसपछि अदक्ष श्रमिक २ लाख २७ हजार ४ सय ७ जना छन् भने अर्धदक्ष श्रमिक ९९ हजार ७ सय २३ जना रहेका थिए ।
यस्तै व्यावसायिक श्रमिक ४ हजार ३ सय ७२ जना र उच्च दक्ष श्रमिक ९३७ जनाले श्रम स्वीकृति लिएका थिए । लैंगिक दृष्टिकोणले हेर्दा पुरुषभन्दा महिला संख्या निकै कम देखिएको थियो । गत आ.व.मा कुल स्वीकृति मध्ये पुरुषको संख्या ८८.७५ प्रतिशत (७ लाख ४४ हजार ८ सय ११) रहेको छ भने महिलाको संख्या ११.२५ प्रतिशत (९४ हजार ४ सय ५५) मात्र थिए ।
सरकारी तथ्यांकअनुसार, नेपाली श्रमिकहरू अझै पनि मुख्यतया अदक्ष र अर्धदक्ष श्रमको लागि विदेशी रोजगारमा निर्भर रहेको देखिन्छ । गत आ.व.मा नयाँ श्रम स्वीकृति ५ लाख ५ हजार ९ सय ९७ रहेका थिए भने पुनः श्रम स्वीकृति ३ लाख ३३ हजार ३ सय ९ रहेका थिए ।
बाँकेका नौ सयलाई श्रम स्वीकृति
चालु आर्थिक बर्षको चैत्रमा बाँकेका करिब ९ सय बढीले श्रम स्वीकृति लिएका छन् । उक्त संख्या फागुन महिनामा ७ सय ८५ रहेको थियो । चैत्रमा ८ सय ९९ ले श्रम स्वीकृति लिएका हुन् ।
गत आर्थिक बर्षमा बाँकेका १२ हजार बढीले वैदशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार, गत आर्थिक बर्ष २०८१÷०८२ मा श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या १२ हजार ३८ रहेको थियो । जसमध्ये पुरुषको संख्या १० हजार ९ सय ८७ र महिलाको संख्या १ हजार ५१ रहेको छ । जसमध्ये पुनः श्रम स्वीकृति लिने पुरुषको संख्या ७ हजार ६० र महिलाको संख्या ७ सय ९८ रहेको छ ।





























