आम्दानी, खर्च र त्यसको व्यवस्थापनका सम्बन्धमा सहकारीका सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरण अभिमूखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक सहयोगमा नेपालगन्ज न्यूरोड स्थित शारदा उपभोक्ता सहकारी संस्था लि.ले नगरपालिकाको सहकारी शाखाको समन्वयमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बचतको महत्व र त्यसको प्रभावकारिताबारे जानकारी दिइएको हो थियो ।
सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले वैदेशिक रोजगारीमा जाने, उनका परिवार र वैदेशिक रोजगार सम्बन्धी समस्यामा सहजीकरण गर्दै आएको जानकारी दिए । उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने बाहेक पनि सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
‘एक आर्थिक बर्षमा कम्तिमा ३ वटा सहकारीमा ९ वटा सेसन वित्तिय साक्षरता सम्बन्धी सञ्चालन गर्दै आएका छौं, त्यस बाहेक माग भएमा पनि हामीले वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्छौ’, सामीका कार्यक्रम संयोजक नेपालीले भने, ‘वित्तीय साक्षरता निकै आवश्यक छ, त्यसैले विद्यालयका विद्यार्थीलाई पनि त्यसखालको कार्यक्रम सञ्चालन गर्दैछौं ।’
आयोजक शारदा उपभोक्ता सहकारी संस्था लि. की व्यवस्थापक रुपा पन्थीले वित्तिय व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै सदस्यहरुलाई त्यसको महत्व बुझाउनका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।
‘आम्दानी अनुसार बचत, फजुल खर्च नियन्त्रण, दीर्घकालीन रुपमा आर्थिक सक्षम बन्नका लागि बनाउनु पर्ने पारिवारिक बजेटका बारेमा सदस्यहरुलाई जानकारी दिएका हौं’, संस्थाका २५ बढी सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै संस्थाकी व्यवस्थापक पन्थीले भनिन् ।
सामी कार्यक्रमकी वित्तीय साक्षरता सहजकर्ता खुम कुमारी डाँगीले परिवारको आम्दानी अनुसार बजेट बनाएर खर्च गर्दा बचत गर्न सकिने र बचतले सानोसानो हुँदै ठूलो व्यवसाय गर्न सकिने, फजुल खर्च नियन्त्रण गर्न सकिने बताइन् । ‘अनावश्यक खर्चले परिवार भित्र कलह समेत हुने गरेको छ, त्यो आम्दानी र खर्चको पारिवारिक बजेट बनाउँदा हुन्छ’, उनले भनिन् ।
कार्यक्रममा सहभागी नेपालगन्ज वडा नं. ४ बसपार्ककी दिपा थापाले वित्तीय साक्षरता कार्यक्रमबाट आम्दानी खर्चको व्यवस्थापन विधि, फजुल खर्च नियन्त्रण, बचतको महत्व लगायतका महत्वपूर्ण कुराहरु सिक्ने मौका पाएको बताइन् ।
त्यस्तै, अर्का सहभागी व्यवसायी भुपेन्द्र मरासिनीले यसअघि पनि बचत गर्दै आएपनि वित्तीय साक्षरता कार्यक्रमबाट बचतको महत्वबारे बुझेको र त्यसलाई पूर्ण रुपमा पलाना गरेर अगाडि बढ्ने बताए ।
