जिल्ला बाँके जिल्ला को कोहलपुर नगरपालिका–१३ स्थित आर्मी चेकपोष्टदेखि करिब ३ किलोमिटर पूर्वतर्फ पर्ने रानी सामुदायिक वन नजिक पूर्व–पश्चिम राजमार्गको सडकछेउमा एक पुरुषको शव फेला परेको छ।
आइतबार फेला परेको मृतकको उमेर करिब ४० देखि ४२ वर्ष जतिको देखिएको प्रहरीले जनाएको छ। मृतकले माथिल्लो शरीरमा पहेंलो रङमा कालो धर्का भएको टिसर्ट तथा तल्लो शरीरमा निलो जिन्स पाइन्ट लगाएका छन् भने हल्का दाह्री–जुँगा रहेको बताइएको छ।
हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको तथा आफन्तजन पनि सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
प्रहरीले शवको पहिचान गर्ने वा सम्बन्धित व्यक्तिबारे जानकारी हुने जो–कोहीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क गर्न अनुरोध गरेको छ।





























