
नेपालगञ्जमा सम्पन्न प्रथम जिल्लास्तरीय तेक्वान्दो पुम्से प्रतियोगिता २०८३ ले खेलाडीहरूको क्षमता, अनुशासन र आत्मविश्वास प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बनेको छ। प्रतियोगितामा बालबालिका तथा युवाहरूले उत्कृष्ट प्रदर्शन गर्दै तेक्वान्दो खेलप्रति बढ्दो आकर्षण र सम्भावना स्पष्ट पारेका छन्।

चार वर्षदेखि पुम्से तेक्वान्दो अभ्यास गर्दै आएका होली ल्याण्ड तेक्वान्दो दोजाङ्गका खेलाडी पर्वनका अनुसार तेक्वान्दो अन्य खेलभन्दा भविष्य उज्ज्वल रहेको छ। उनले तेक्वान्दो ओलम्पिकमा समेत समावेश खेल भएकाले अन्तर्राष्ट्रिय स्तरमा अवसर धेरै हुने बताए। साथै राष्ट्रपति कप लगायत विभिन्न राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता रहने जानकारी दिए।
भृकुटी तेक्वान्दो दोजाङ्गकी खेलाडी अनुराधा बिष्टले तेक्वान्दो सुरु गर्नुअघि शारीरिक रूपमा फिट नभएको तर खेल सुरु गरेपछि शरीर मेन्टेन हुनुका साथै आत्मविश्वास निकै बढेको अनुभव सुनाइन्। उनले महिला भएकै कारण कतै पनि आफूलाई कमजोर महसुस हुन नदिएको र आत्मरक्षामा सक्षम भएको बताइन्।
त्यसैगरी खेलाडी ऋतिकका महतोले सुरुमा डर लागे पनि निरन्तर अभ्यासपछि सफलता प्राप्त गरेको बताइन्। उनले देहरादूनमा सहभागी प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भएको जानकारी दिइन्।
अभिभावकहरूले तेक्वान्दोले बालबालिकामा अनुशासन, आत्मनिर्भरता र आत्मविश्वास विकास गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार पहिले मोबाइल धेरै चलाउने बालबालिका अहिले अभ्यास र खेलमा बढी केन्द्रित भएका छन्।

बाँके जिल्ला तेक्वान्दो सङ्घको अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक पनि रहेका प्रकाश लामिछानेले भने साना खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको बताए। उनले बाँकेबाट यसअघि पनि १३ जना खेलाडीलाई पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएको उल्लेख गर्दै आगामी दिनमा अझै ठूलो सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यले तेक्वान्दो तथा अन्य मार्सल आर्ट खेललाई पर्याप्त प्राथमिकता नदिएको गुनासो पनि गरे। उनका अनुसार व्यक्तिगत मेहनत र स्थानीय स्तरको प्रयासले मात्र खेललाई अघि बढाइरहेको अवस्था छ।

भृकुटी तेक्वान्दो दोजाङ्ग नेपालगञ्जकी प्रमुख उमादेवी थापा ले तेक्वान्दोले बालबालिकामा आत्मनिर्भरता र आत्मविश्वासको विकास गर्ने बताइन्। उनले पढेका र नपढेका बालबालिकाबीच जस्तै तेक्वान्दो खेल्ने र नखेल्नेबीच आत्मविश्वास र आत्मरक्षामा स्पष्ट फरक देखिने उल्लेख गरिन्। अहिलेको समयमा आत्मरक्षा र आत्मविश्वास नै मुख्य आधार भएको उनको भनाइ थियो।

भृकुटी तेक्वान्दो दोजाङ्गका सल्लाहकार चन्द्रप्रकाश श्रेष्ठले प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता उजागर गरेको बताए। उनले यस्तो प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा पुग्न प्रेरणा दिने भन्दै थप सहयोग आवश्यक रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तेक्वान्डो सङ्घ केन्द्रीय सदस्य मान थापा मगरले नेपालगञ्जमा ऐतिहासिक रूपमा पहिलो पटक पुम्से प्रतियोगिता सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले आफ्नै प्रयास र सामर्थ्यमा प्रतियोगिता आयोजना गरिएको भन्दै आयोजकको प्रशंसा गरे। साथै उनले नेपालगञ्जमै प्रशिक्षण लिएर खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको उदाहरण दिँदै यो क्षेत्र तेक्वान्दोको विकासमा महत्वपूर्ण रहेको बताए।

प्रतियोगितामा कोहलपुर–२ स्थित सुपर स्टार तेक्वान्दो दोजाङ्ग पाँच स्वर्ण पदकसहित प्रथम भएको छ। दोस्रो स्थान नेपालगञ्जको धम्बोजी तेक्वान्दो दोजाङ्गले प्राप्त गर्यो भने तेस्रो स्थान कोहलपुरको शिवशक्ति तेक्वान्दो दोजाङ्गले हासिल गर्यो।
प्रतियोगितामा पुरुषतर्फ धम्बोजी तेक्वान्दो दोजाङ्ग नेपालगञ्जका दीपशिखर रावल र महिलातर्फ सुपर स्टार तेक्वान्दो दोजाङ्ग मल्लिका शाही उत्कृष्ट खेलाडी घोषित भएका छन्।

समग्रमा प्रतियोगिताले बाँकेमा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने सम्भावना अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।





























