“हाम्रा नर्सहरू, हाम्रो भविष्य — सशक्त नर्सहरूले जीवन बचाउँछन्।”
हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ। यो दिन नर्सहरूको योगदानको सम्मान गर्ने, उनीहरूको अधिकार र पेशागत गरिमाको विषय उठाउने अवसरका रूपमा लिइन्छ। तर नेपालमा नर्सिङ पेशा अझै पनि अनेक चुनौती, सरकारी बेवास्ता र अवसरको अभावसँग संघर्ष गरिरहेको छ।
नर्स भनेको केवल अस्पतालमा बिरामीको हेरचाह गर्ने जनशक्ति मात्र होइनन्। नर्स स्वास्थ्य शिक्षा, अनुसन्धान, व्यवस्थापन, मानसिक स्वास्थ्य, सामुदायिक स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य, जेरियाट्रिक केयर, क्रिटिकल केयर, पुनर्स्थापना सेवा तथा नीतिगत तहसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ति हुन्। तर दुःखको कुरा, नेपालमा अझै पनि “नर्स” भन्नासाथ अस्पतालमा काम गर्ने स्टाफ नर्सलाई मात्र बुझ्ने संकुचित सोच कायम छ।
आज नेपालमा धेरै नर्सहरूले मास्टर्स, एम.फिल. तथा पीएचडीसम्म अध्ययन गरेका छन्।
विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका नर्सिङ जनशक्ति देशमै उपलब्ध छन्। तर उनीहरूको ज्ञान, क्षमता र दक्षताअनुसारको “प्लेसमेन्ट” कहाँ छ ? उनीहरूको योग्यता अनुसारको पद, तलब, सेवा–सुविधा र नेतृत्वको अवसर कहाँ छ ? यी प्रश्न आज पनि उत्तरविहीन छन्।
नर्सिङ पेशा अस्पतालमा मात्र सीमित छैन। नर्सहरू नर्सिङ कलेज, सामुदायिक स्वास्थ्य क्षेत्र, जेरियाट्रिक सेन्टर, पुनर्स्थापना केन्द्र, विद्यालय स्वास्थ्य कार्यक्रम, अनुसन्धान संस्था, मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य व्यवस्थापन तथा विभिन्न गैरसरकारी र सरकारी निकायहरूमा समेत महत्वपूर्ण भूमिका खेलिरहेका छन्। तर यी क्षेत्रहरूमा कार्यरत नर्सहरूको योग्यता अनुसारको पद, तलब, सुविधा र सम्मान सुनिश्चित भएको अवस्था अझै देखिँदैन। एउटै योग्यता भएका नर्सहरूले फरक–फरक क्षेत्रमा अत्यन्त असमान सेवा–सुविधा पाइरहेका छन्, जुन दुःखद विषय हो।
स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत हाल नर्सिङ पृष्ठभूमिबाट आएको व्यक्तित्वले गरिरहनुभएको सन्दर्भमा नर्सिङ क्षेत्रले थप आशा गरेको छ। नर्सिङ पेशाको गरिमा उकास्ने, विशेषज्ञ नर्सहरूको उचित व्यवस्थापन गर्ने, योग्यताअनुसारको पद र अवसर सुनिश्चित गर्ने तथा सेवा–सुविधालाई व्यवस्थित बनाउने दिशामा ठोस पहल आवश्यक छ। नर्सिङ पेशाको समस्या नजिकबाट बुझ्ने नेतृत्वबाट नर्सहरूले व्यवहारिक परिवर्तनको अपेक्षा गरेका छन्।
त्यस्तै, नर्सहरूको हकहित र पेशागत अधिकारका लागि स्थापित नर्सिङ संगठनहरूले पनि अझ प्रभावकारी रूपमा आवाज उठाउन आवश्यक देखिन्छ। विशेषगरी Nursing Association of Nepal (NAN) ले नर्सहरूको पेशागत सम्मान, उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण, योग्यता अनुसारको पदस्थापन तथा नीति निर्माणमा नर्सहरूको सहभागिताका विषयमा अझ सशक्त रूपमा आवाज उठाउन जरुरी छ। नर्सहरूको समस्या केवल व्यक्तिगत होइन, समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको विषय हो भन्ने कुरा सम्बन्धित निकायले बुझ्न आवश्यक छ।
नेपालमा हजारौं नर्सिङ जनशक्ति उत्पादन भइरहेका छन्। तर पर्याप्त सरकारी दरबन्दीको अभाव, अस्थायी करार सेवा, न्यून पारिश्रमिक र सीमित अवसरका कारण धेरै नर्सहरू बेरोजगार वा निराश अवस्थामा छन्। निजी अस्पतालहरूमा अत्यधिक काम र न्यून तलबको समस्या अझै पनि व्यापक छ। यही कारण धेरै दक्ष नर्सहरू विदेशिन बाध्य भइरहेका छन्।
यदि राज्यले समयमै नर्सिङ क्षेत्रको समस्या समाधान गर्न सकेन भने भविष्यमा नेपालले दक्ष नर्सिङ जनशक्तिको गम्भीर अभाव सामना गर्नुपर्ने अवस्था आउन सक्छ। नर्सहरूलाई केवल सेवा गर्ने जनशक्ति नभई स्वास्थ्य प्रणालीका नीति निर्माता, अनुसन्धानकर्ता, शिक्षक र विशेषज्ञका रूपमा पनि स्थापित गर्न आवश्यक छ।
यस वर्षको अन्तर्राष्ट्रिय नर्स दिवसको नारा —
“हाम्रा नर्सहरू, हाम्रो भविष्य — सशक्त नर्सहरूले जीवन बचाउँछन्।”
— केवल औपचारिक नारामा सीमित हुनुहुँदैन। नर्सहरूलाई वास्तवमै सशक्त बनाउन उचित अवसर, सम्मान, नेतृत्व, तलब तथा सेवा–सुविधा सुनिश्चित गर्नुपर्छ।
नर्सहरूको सम्मान भनेको सम्पूर्ण स्वास्थ्य प्रणालीको सम्मान हो। नर्सहरूको भविष्य सुरक्षित भए मात्र देशको स्वास्थ्य सेवा सुरक्षित र प्रभावकारी बन्न सक्छ। अब समय आएको छ — नर्सिङ पेशालाई केवल सेवाभावको दृष्टिले होइन, दक्षता, नेतृत्व र राष्ट्र निर्माणको महत्वपूर्ण शक्तिका रूपमा हेर्ने।





























