नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार आयोजना गरेको चालु आ.व.को दोस्रो सार्वजनिक सुनुवाईमा सहभागीहरूले यसअघि उठाएकै प्रश्न पुनः दोहोर्याएका छन् । सहभागीले उठाएका कतिपय प्रश्नहरू बर्षौदेखि उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा उठाइरहेको विषयवस्तु थियो ।
उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा यसपटक पनि पूर्वाधार, सडक नाला निर्माण, सौन्र्दयीकरण, इरिक्सा, छाडा पशु व्यवस्थापन सम्बन्धी प्रश्नले बढी जसो सहभागीले गरेका थिए । यसपटकको सार्वजनिक सुनुवाईमा सरकारी जग्गाको संरक्षणको विषयमा समेत सहभागीहरूले प्रश्न गरेका थिए ।
कार्यक्रममा वडा नं. १ का ओविराज आचार्यले राँझाचोकदेखि एयरपोर्टसम्मको सौन्र्दयीकरण, नाला सरसफाई, धम्बोझी चोकमा रहेको विहान राखिने अव्यवस्थित तरकारी मण्डीको व्यवस्थापन, फुटपाथ निर्माणमा भैरहेको ढिलाई, दोन्द्रा नाला अझैसम्म बन्न नसकेको लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
त्यस्तै, आरके ठाकुरले नेपालगन्जको फुल्टेक्रामा नाला नहुँदा समस्या भएको भन्दै त्यसको निर्माण गर्न माग गरेका थिए ।
अरूण विक्रम शाहले नेपालगन्जमा क्रिकेट मैदान नभएको उल्लेख गर्दै क्रिकेट मैदान कहिले बन्छ भनेर नगर प्रमुखलाई प्रश्न गरेका थिए । उनले जेनजी आन्दोलनको क्रममा उपमहानगरपालिका तोडफोड र आगजनी गर्नेलाई के कारवाही भयो भन्ने जिज्ञासा समेत राखे ।
त्यस्तै, संगीता राईले बागेश्वरी मन्दिर लगायतका क्षेत्रमा स्कुल जाने उमेरका बालबालिकाले माग्ने काम गरिरहेको भन्दै व्यवस्थापनको सम्बन्धमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराइन् । अजित शर्माले सरकारी जग्गाको संरक्षण, उमहानगर पालिकाले सरकारी जग्गा संरक्षणमा के कस्तो काम गरिरहेको छ भन्ने प्रश्न गरे ।
सात बूंदे प्रतिबद्धता
सात बुदे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिका चालु आ.ब. २०८२÷०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएकोे छ ।
सरकोरावाला उपमहानगर–पालिकाले लाइन्स गेट देखि राँझा विमानस्थलसम्म सौन्र्दयीकरण गर्ने तथा सडक दायँबायाँ आपांगता मैत्री फुटपात निर्माण गर्ने, नेपालगन्ज ६ मा क्रिकेट मैदान निर्माण गर्न पालिकाले निर्णय गरि पठाएकोमा हालसम्म स्विकृती प्राप्त नभएकाले असार भित्र पुनः डेलिगेसन गई स्विकृतीको पहल गर्ने, बागेश्वरी मन्दिरको बाहिर तथा नगरका विभिन्न स्थानमा खुल्ला रूपमा बस्ने जेष्ठ नागरिक र असहाय ब्यक्तिहरूको पहिचान गरी ब्यवस्थापनको पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिबद्धताहरूमा दोन्द्रा नाला छेउछाउ तथा नगरका विभिन्न स्थानमा भएको जग्गा अतिक्रमण यथासक्य खाली गर्ने, वडा नम्मर ४ स्थित एबिसी स्कुल जाने बाटो छेउमा रहेको खाली जमिनमा फोहोर जम्मा भइरहेको भन्ने गुनासो आएकाले तत्काल अनुगमन गरी सो कार्यमा रोक लगाउने, उपमहानगरभित्र इरिक्सा ब्यवस्थापन चुनौती बन्दै गएकाले तत्काल ब्यवस्थापन गर्ने रहेका छन् ।
कार्यक्रममा नगरका सार्वजनिक स्थान तथा बाटो छेउमा जथाभावी फोहोर फाल्ने नागरिकहरूको सिसि क्यामेरा मार्फत निगरानी गर्न क्यामेरा जडान गर्ने, सुर्खेतरोड मुख्य सडकको सडक पेटि ब्यवस्थापन गर्ने, स्थानीय कृषकहरूको उत्पादनको बजारीकरणका लागि सम्भाव्यता हेरी आवश्यक सहकार्य गर्ने र वडा नम्बर ९ को मालपोत र जिल्ला अदालतको बाटोको निर्माण ब्यवस्थापनका लागि हरसम्भव पहल गर्ने तथा आगामी बर्ष उक्त बाटो निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता गरिएको थियो ।
बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयको हलमा आयोजित सम्पन्न सुनुवाइमा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण र स्वागत तथा उद्देश्यमाथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।
सुनुवाई पूर्व गरिएको नागरिक प्रतिवेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेको सुनुवाइमा खुल्ला छलफलको क्रममा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बम र वडा अध्यक्षहरूले गरेका थिए । झण्डै तीन घण्टा चलेको सुनुवाइमा उपमहानगरपालिकाका दुईसय बढी नगरबासिहरूको सहभागिता रहेको थियो ।




























