कविता प्रतियोगिता गर्दै समाज

भेरी साहित्य समाजले नेपालगन्जमा ‘कविता प्रतियोगिता’ आयोजना गर्ने भएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति अन्तर्गत काव्य विभागले १९औं गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १६ गते नेपालगन्ज नगरस्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको हो । भेरी साहित्य समाज काव्य विभागका संयोजक मीना बरालका अनुसार, काव्यका क्षेत्रमा नवप्रतिभाहरुको क्षमता उजागर गर्दै यसतर्फ आकर्षण ल्याउन नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ सँगको सहकार्यमा यसखालको प्रतियोगिता गर्न लागिएको हो । त्यसका लागि केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष इश्वरी रिजाल ‘उल्कापात’को संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको जानकारी दिंदै संयोजक बरालले आयोजनालाई सिर्जनात्मक क्षमता अभिवृद्धिको अवसरको रुपमा विकास र बिस्तार गर्न खोजिएको बताइन् । समाजले गतबर्ष पनि नवप्रतिभाहरुको प्रतिभा उजागरका लागि गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाएको जानकारी दिंदै काव्य विभाग संयोजक बरालले भनिन्, ‘यसबर्ष अझ भव्य र विशेष बनाउन खोजिरहेका छौं ।’ शुक्रबार समितिका संयोजक इश्वरी रिजालको अध्यक्षतामा विशेष बैठकको आयोजना गरिएको छ । बैठकमा समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरि प्रसाद तिमिल्सिना, केन्द्रीय अध्यक्ष इन्द्र बस्नेत, संस्थापक सदस्य समेत रहेका आजीवन सदस्य झलक जी विकल्प लगायतले विषयवस्तु बारे प्रकाश पारेका थिए । ‘कृतिम बुद्धिमत्ताका नाममा प्राकृतिक बुद्धिमत्ता थिलोथिलो भैरहेका बेला बालबालिकामा यसखालको प्रतिस्पर्धात्मक आयोजनाले सिर्जनशिलताको विकास गर्ने अपेक्षा गर्न सकिन्छ’, विकल्पले कार्यक्रममा भने । डा. तिमिल्सिनाले मावि स्तरका विद्यार्थीहरुको सिर्जनशिलतामा प्रतियोगिताले थप सहयोग पुर्याउने विश्वास गरिएको बताए । कार्यक्रममा वरिष्ठ कलाकार, समाजका केन्द्रीय महासचिव सुन्दर गुरुङ्ग, कोषाध्यक्ष डा. राजकुमार थारु, कविराज रेग्मी, चन्द्रावति अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।

Exit mobile version