ज्येष्ठ कृष्णपक्षको आमावस्याका दिन, लुम्बिनी तथा मधेश प्रदेशमा बर्साइत (वट सावित्री) पर्वलाई विशेष श्रद्धा, आस्था र सांस्कृतिक महत्त्वका साथ मनाउने परम्परा रहेको छ । विशेषगरी अवधी, मैथिली माडवारी तथा अन्य मधेशी समुदायमा यो पर्व मनाईन्छ । तराई – मधेसका जिल्लाहरूमा बसोबास गर्ने सनातन हिन्दु धर्म मान्ने विवाहित महिलाहरू, विवाह पछिको पहिलो बर्ष पर्ने ज्येष्ठ कृष्णपक्षको आमावस्याका दिन वट-सावित्री (बर्साइत पूजा) पर्व मनाउने गरेका छन् ।
यो पर्व धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता, सांस्कृतिक पहिचान र पारिवारिक मूल्यसँग जोडिएको जीवित परम्परा रहेको छ । बर्साइत पर्व धार्मिक संस्कार मात्र होइन, वैवाहिक निष्ठा, प्रेम, त्याग र समर्पणको अनुपम प्रतीक पनि हो । हिन्दू सनातन धर्म मान्ने विवाहित महिलाहरू बिहानैदेखि पारम्परिक परिधानमा सजिएर गाउँ–बस्ती नजिक रहेका वटवृक्ष (बर अर्थात् बरगदको रुख) को फेदमा जम्मा भइ पुजा गर्ने चलन रहेको छ । निराहार व्रत बसेर सावित्री र सत्यवानको स्मरण गर्दै ब्रह्मा, विष्णु र महेशसहित इष्टदेवको पूजा–आराधना गरिन्छ । वटवृक्षलाई त्रिदेवको वासस्थान मानिने भएकाले यसको विशेष धार्मिक महत्व रहेको विश्वास छ ।
वट-सावित्री (बर्साइत पूजा) पर्व मनाउने मूल धार्मिक आधार सती सावित्री र सत्यवानको अमर प्रेमकथा रहेको पाइन्छ । पौराणिक कथाअनुसार देवर्षि नारदले सत्यवानको अल्पायु हुने भविष्यवाणी गरे तापनि सावित्रीले आफ्नो निर्णय परिवर्तन गरिनन् । विवाहपछि सत्यवानको मृत्यु हुँदा पनि सावित्री आफ्नो अटल पतिव्रता धर्म, तपस्या र बुद्धिमत्ताका साथ यमराजको पछि लागिन् ।
अन्ततः सावित्रीको अविचल अडान अखण्डित प्रेम आस्था निष्ठा तथा पतिदेव को चरणमा नै समर्पण रहेको देखेर मृत्यु का देवता यमराज द्रबीभूत भई सत्यवानलाई पुनः जीवन प्रदान गरे । प्रेम र समर्पणले यमराजलाई समेतलाई झुकायो र सत्यवानले पुनर्जीवन पाए । यही अटल सौभाग्यको प्रतीकका रूपमा महिलाहरूले आजको दिन व्रत, पूजा र आराधना गर्ने परम्परा रहिआएको छ । पूजाका क्रममा महिलाहरूले वटवृक्षमा रातो र पहेँलो धागो बेर्दै पतिको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सुख–समृद्धिको कामना गर्छन् । सावित्री कथा वाचन तथा श्रवण गर्ने, वटवृक्ष परिसर सरसफाइ गर्ने र पूरी, गुल्गुला ,पिचक्का, हलुवा, माटोको घेरियामा चना, बढनीको सिन्कामा पीठोको गोदा, गुडको विशेष परिकार तयार गर्ने परम्पराले यस पर्वलाई अझ सांस्कृतिक र आत्मीय बनाएको छ ।
बर्साइत पूजा नेपाली समाजमा केवल धार्मिक अनुष्ठान होइन, नारी शक्ति, धैर्य, निष्ठा र पारिवारिक मूल्यको सशक्त सन्देश दिने पर्व पनि हो। समय परिवर्तनसँगै जीवनशैली बदलिँदै गए पनि प्रेम, विश्वास र समर्पणको यो सांस्कृतिक परम्परा आज पनि उत्तिकै जीवित र सम्मानित छ ।
वर्षा ऋतु अर्थात् बरसातको प्रारम्भको संकेतका रूपमा पनि बर्साइत पर्वलाई मान्ने परम्परा पनि रहिआएको छ । सनातन हिन्दू धर्मका अधिकांश पर्व, रीति–रिवाज र परम्पराहरू प्रकृति, ऋतु परिवर्तन तथा कृषि जीवनसँग गहिरो रूपमा जोडिएका पाइन्छन् । विशेषगरी कृषि प्रधान समाजमा वर्षा जीवनको आधार मानिन्छ । समयमै पानी परेपछि खेतीपाती, हरियाली र अन्न उत्पादनको आशा पलाउने भएकाले बर्साइत पर्वलाई प्रकृतिप्रति कृतज्ञता र समृद्धिको कामनासँग पनि जोडेर हेर्ने गरिन्छ । वटवृक्षको पूजा गर्नु केवल धार्मिक आस्था मात्र नभई प्रकृति संरक्षण, वृक्षप्रतिको सम्मान र मानव जीवनसँग प्रकृतिको अन्तरसम्बन्धलाई स्वीकार गर्ने सांस्कृतिक सन्देश पनि हो । यसरी बर्साइत पूजा प्रेम, सौभाग्य र पारिवारिक सुखको प्रतीक मात्र नभई प्रकृति, कृषि र जीवनचक्रसँग जोडिएको हाम्रो मौलिक सभ्यता र संस्कृतिको महत्वपूर्ण पर्वका रूपमा स्थापित रहेको छ ।
लुम्बिनी प्रदेशमा भाषिक जनसंख्याको हिसाबले अवधी दोस्रो स्थानमा रहे पनि यस समुदायसँग सम्बन्धित सांस्कृतिक, धार्मिक तथा प्राकृतिक परम्पराको संरक्षण, संवर्द्धन र व्यवस्थापनतर्फ राज्यका सम्बन्धित निकायहरूको पर्याप्त ध्यान पुग्न सकेको देखिँदैन । बरसाइतजस्ता पर्वहरूले प्रकृति संरक्षण, वृक्षपूजन, सामाजिक सद्भाव तथा पारिवारिक संस्कारलाई पुस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । तर यस्ता मौलिक परम्पराहरूको दस्तावेजीकरण, प्रचार–प्रसार, सांस्कृतिक पर्यटनसँग जोड्ने प्रयास तथा स्थानीय स्तरमा संरक्षणका योजनाहरू अझै प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् । भाषा, संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान र अस्तित्वका आधार हुन् । त्यसैले अवधी समुदायका यस्ता सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रवर्द्धनका लागि राज्य, स्थानीय तह तथा सरोकारवाला निकायहरूले दीर्घकालीन नीति, कार्यक्रम र व्यवस्थापनतर्फ गम्भीर ध्यान दिनु आजको आवश्यकता बनेको छ ।
[लेखक बर्मा उपप्रध्यापक हुन् ।]
