लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनुभएको छ ।
दाङको भालुबाङमा आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमानलाई अझ विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गरिने बताउनुभएको हाे ।
उहाँले मौसम सम्बन्धी सूचना नागरिकसम्म समयमै पुर्याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । दैनिक मौसम सूचना किसानसम्म पुर्याउन विशेष जोड दिदै उहाँले स्थानीय सञ्चार माध्यम, सामाजिक सञ्जाल र समुदायस्तरका संरचनालाई परिचालन गरिने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्नुभयो ।
पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको उहाँको भनाइ थियो ।
प्रदेशमा हाल नेपालगञ्ज र भैरहवास्थित मौसम पूर्वानुमान कार्यालयमार्फत सूचना प्रवाह भइरहेको उल्लेख गर्दै उहाँले ती कार्यालयले उपलब्ध गराउने पूर्वानुमान सम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकारले समन्वय गर्ने बताउनुभयो ।
उहाँले मौसम सम्बन्धी पूर्वतयारीका काममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, १२ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो । नागरिकसम्म सूचना पुर्याउन सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यमको प्रयोग प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना भरपर्दो र व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सूचना प्रवाहको जिम्मेवारी स्थानीय तहले पनि सक्रिय रूपमा लिनुपर्ने बताउनुभयो । स्थानीय समुदायको परिचालन, स्वयंसेवक तयारी तथा विपद् कार्ययोजनामार्फत पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँको भनाइ थियो ।
स्थान विशेष मौसम पूर्वानुमान र मौसम पूर्वानुमान संयन्त्रको विकास अहिलेको आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।
