घोराही : आयोडिन युक्त नुन खादा हुने फाईदाका बारेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड घोराही शाखाले घोराही उपमहानगरपालिका ४ सवारीकोटमा पुगेर नागरिकहरुलाई जानकारी दिनुका साथै निशुल्क नुन वितरण गरेको छ ।
आयोडिनको कमिले हुने विकृतीहरु सम्बन्धी जनचेतना जगाउने महिनाव्यापी अभियान अन्तरगत साल्ट ट्रेडिङले सवारीकोट, गोठधारा, जस्पुर र छेकवार गाउँका साढे २ सय बढी नागरिकहरुलाई जानकारी गराउदै साढे २ सय किलो आयोडिन युक्त पोकाको नुन निशुल्क वितरण गरेको हो ।
आधारभूत विद्यालय सवारीकोट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कुँवर योगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र साल्ट ट्रेडिङका शाखा प्रमुख रामबाबु गुप्ताको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरि २ सय ५० जनालाई नुन, ६० जना विद्यार्थीलाई स्कुल झोला, २५ जना अभिभाबकलाई टिसर्ट र २० जनालाई सपिङ झोला वितरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले शारिरीकरुपमा स्वस्थ र तन्दुरुस्त हुनका लागि आयोडिन नुन नै खानुपर्ने बताउनुभयो । आयोडिनको कमिले विभिन्न शारिरीक समस्याहरु आउने गरेको उल्लेख गर्दै स्वास्थ्यको ध्यान दिन आग्रह गर्नुभयो । जानकारी नहुदा गाउँघरमा अहिले पनि ढिकाको नुन खाने गरेको भन्दै उहाँले आयोडिन युक्त नुन खान सबैलाई अपिल गर्नुभयो ।
कार्यक्रममा साल्ट ट्रेडिङका प्रमुख गुप्ताले आयोडिन युक्त नुनको कमिले गलगाड हुने, गर्भ तुहिने, मृत शिशु जन्मने, सुस्त मनस्थितको बच्चा जन्मने भएकाले दुई बालबालिकाको फोटो भएको पोकाको नुन खान सबैलाई आग्रह गर्नुभयो ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.