अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गर्नुभयो । नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको उहाँले स्वीकार्नुभयो । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उहाँको भनाइ छ । “एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति हामीसँग छ । विप्रेषण आप्रवाह राम्रो छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब विस्तारै लगानी पनि बढ्छ”, अर्थमन्त्री पुनले भन्नुभयो । बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुद बनेको उहाँले बताउनुभयो । “गत वर्ष सात महिनाका लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति नहुँदा हामी श्रीलङ्का जस्तै हुन्छौँ भनिएको थियो । सो समयमा पनि सरकारले हामी त्यति खराब अवस्थामा छैनौँ भनेर आस्वस्त पारिरहेको थियो”, अर्थमन्त्री पुनले भन्नुभयो । अर्थतन्त्रका सूचक सकारात्मक भए पनि बजारको मानसिकता अझै सुध्रिन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पु¥याउने अर्थमन्त्री पुनको भनाइ छ । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उहाँले विश्वास दिलाउनुभयो । विगतमा अर्थतन्त्रमा देखिएका सङ्कुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राख्नुभयो । यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय धितोपत्र बजारमा सुधारका सङ्केत देखिएको भन्दै यसले बजार चलायमान गर्न सहयोग पु¥याउने उहाँको भनाइ छ । सेवा प्रवाहमा सहजताका लागि सबै पक्ष र निकाय जवाफदेही हुनुपर्नेमा मन्त्री पुनले जोड दिनुभयो । “राजनीतिक नेतृत्वका समस्या छन् । राजनीतिक शुद्धीकरण जरुरी छ भनेर हामी आफैँले पनि ठानेका छौँ । हाम्रा सार्वजनिक निकायमा प्रशासनिक सुधारको आवश्यकता छ”, पुनले भन्नुभयो । नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभयो । कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उहाँको भनाइ छ । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफल योग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उहाँको भनाइ छ । लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफल योग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको कार्यकारी निर्देशक कार्कीले दाबी गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको छ ।
अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री पुन
- Dainik Nepalgunj

- Categories: News
Related Content
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति
by
Dainik Nepalgunj
April 18, 2026
सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प
by
Dainik Nepalgunj
April 18, 2026
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि
by
Dainik Nepalgunj
April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
by
Dainik Nepalgunj
April 18, 2026
कुलमान नेपालगन्ज आउँदै
by
Dainik Nepalgunj
April 18, 2026