बाँकेका सहकारीहरू सहकारी आन्दोलनलाई बिग्रन नदिन विभिन्न पाँच बुंदै प्रतिबद्धता जारी गरेका छन् । राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा आयोजित दुई दिने कार्यशाला समापनका क्रममा आइतबार उनीहरूले सामूहिक प्रतिबद्धता जारी गर्दै ‘सुधारिन तयार भएको’ बताएका हुन् ।
‘हामी आफु आबद्ध सहकारी संस्थालाई ऐन, नियमावली र संस्थाको विनियम अनुसार सञ्चालन गर्न प्रतिबद्ध छौं’, जिल्ला सहकारी संघ बाँकेले आयोजना गरेको कार्यक्रममा उनीहरूले भनेका छन्, ‘समस्याको जड म नै हो, म सफल र खुशी हुन म नै सुधारिन तयार छु ।’ सहकारीमा अधिकतम पूँजी परिचालन गरी सदस्य सेवा, सदस्यको विश्वास आर्जन गर्न प्रतिबद्ध रहेको भन्दै उनीहरूले व्यापक रूपमा सहकारी शिक्षा र वित्तीय साक्षरता सञ्चालन गर्ने, नियामक निकाय र अभियानबाट जारी मार्ग दर्शनको पूर्ण पालना गर्ने कुरामा पनि प्रतिबद्ध रहेको जनाएका छन् ।
जिल्लाका ८६ सहकारी प्रतिनिधि सहभागी दुई दिने कार्यशालामा सहभागी उनीहरूलाई पूर्व सचिव गोपिनाथ मैनाली, नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना, राष्ट्रिय सहकारी बैंकका प्रमोद कुमार घिमिरे लगायतले विभिन्न विषयगत प्रशिक्षण दिएका थिए । दुई दिनसम्म सहकारी क्षेत्रको समस्या समाधानका उपायदेखि सुरक्षित ऋण लगानी र प्रभावकारी कर्जा असुलीसम्मका आधा दर्जन बढी विभिन्न सत्रमा समूहगत छलफल र प्रस्तुतिपछि घोषणा पत्र जारी गरिएको जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्यायले जानकारी दिए ।
त्यसक्रममा आइतबार बाँकेका विभिन्न सरोकारवालाहरू बीच संवादको आयोजना पनि गरिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले जिल्लाको समग्र सहकारीको अवस्था प्रस्तुत गरेपछि संवादमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सहकारीको समग्र अवस्थाबाट आत्तिहाल्नु पर्ने नरहेको बताए । ‘तीन प्रतिशत सहकारी समस्याग्रस्त देखिएका छन्’, स्थानीय प्रशासनले गरेको अध्ययन प्रस्तुत गर्दै प्रजिअ पोखरेलले २ सय ६ मध्ये ६ वटा सहकारीमा समस्या देखिएको तथ्य उजागर गरे । ‘लिएको ऋण नतिरेर सुख्खै छैन’, सहकारीमा बचत भन्दा ऋण ठूलो रहेको र ऋणिहरूले नतिरिदिंदा समस्या देखिएको संघका अध्यक्ष सुवेदीको तथ्यांकप्रति प्रजिअ पोखरेलले भने, ‘बचतकर्तालाई न्याय हुने गरी समस्याग्रस्त सहकारीहरू पुनर्संरचना गरेर अगाडि बढ्नुस् ।’
संवादमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ऋणिले आफुले लिएको रकम सहकारीलाई बुझाउने कुरामा प्रतिबद्ध रहन आग्रह गर्दै भने, ‘तपाईले ऋण नतिरिदिंदा तपाई–हामी जस्तै बचतकर्ता उद्योगी, व्यवसायी पीडित भैरहेका छन् ।’
बारका अध्यक्ष मेहर सिंह खत्रीले थिति, विधिबाट सहकारी सञ्चालन नहुँदा समस्या उत्पन्न भएको बताउँदै सदस्यहरू जिम्मेवार भएर निगरानी गरिदिए सहकारीहरू समस्यामा नपर्ने बताए । उनले कानुनी रूपमा कतिपय अन्योलताले बचतकर्ताको हित प्रवद्र्धन हुन नसकेको भन्दै सञ्चालकहरू गम्भीर हुन आग्रह गरे ।
कार्यक्रममा सहभागी सहकारी अभियन्ताहरूले एकाध खराब सहकारीका कारण सिंगो सहकारी आन्दोलन बदनाम गर्न नहुने भन्दै राज्यको अभिभावकत्व खोजेका थिए ।






























