प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताउनुभयो । बहुपक्षीय र क्षेत्रीय सङ्गठनमा नेपालले आफ्नो सहभागिता जनाउँदै त्यसमा सकारात्मक भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय विश्व संस्थामा नेपालको सहभागिता रहँदै आएको बताउनुभयो । “क्षेत्रीय सङ्गठनलाई पनि आफ्नो सहभागितासहित प्रभावकारिता बनाउने दिशातर्फ प्रयत्न गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने हो ।” दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको यथार्थ सुनाउँदै सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “बिम्स्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन । सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत छैन”, उहाँले भन्नुभयो, “हामी सार्कलाई प्रभावकारी बनाउने पक्षमा छौँ, अध्यक्षको हैसियतमा सक्रिय भूमिका खेल्नेछौँ ।” सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै उहाँले संसद्बाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताउनुभयो । “नेपालबाहेक छ सदस्य मुलुकले संसद्बाट यो बडापत्रलाई अनुमोदन गरिसकेको सूचना प्राप्त भएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपालले अनुमोदन गरेको ३०औँ दिनपछि बडापत्र कार्यान्वयनमा जाने प्रावधान छ ।” बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले बिम्स्टेक बडापत्र अनुमोदनको प्रक्रियाको स्वागत गर्नुभयो । बिम्स्टेकको प्रस्तावना, उद्देश्य तथा सिद्धान्त सकारात्मक रहेको उल्लेख गर्दै बडापत्रमा नेपालको सार्वभौमिकतामा आँच आउने प्रावधान नभएको बताउनुभयो । “आर्थिक समृद्धिको मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले बिम्स्टेक बल्ल जाग्दैछ, यसलाई हुर्काएर अघि बढाउन सक्यौँ भने नेपालको हित नै हुन्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयमा नेपालले बिम्स्टेकबाट लाभ लिन सक्ने बताउनुभयो । उहाँले भूराजनीतिक स्वार्थबाट जोगिएर राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीय सङ्गठनबाट मुलुकले लिन सक्ने लाभका बारेमा सरकारको ध्यान जानुपर्ने बताउनभयो । नेपाली कांग्रेसका सांसद सीता मिजारले बिम्स्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने बताउनुभयो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु विद्या भट्टराई, दीपा शर्मा, ईश्वरी घर्ती, सुनिता बराल, एकनाथ ढकाल, मनिष झा, गणेश पराजुली, सोविता गौतम, प्रदीप यादव, देवेन्द्र पौडेल, माधव सापकोटा, नारायणी शर्मा, पूर्णबहादुर घर्ती मगर, अब्दुल खान, प्रेम सुवाल, सोनु मुर्मू, विनिताकुमारी सिंह र दामोदर पौडेल ‘वैरागी’ले भाग लिनुभयो । नेपालको संविधानको धारा, २७९ को (१) मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ । नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले सोही व्यवस्थाअनुसार बिम्स्टेक बडापत्र अनुमोदनका लागि संसद्मा पेस गरेको हो । आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व र कनेक्टिभिटी जस्ता मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेकको गठन भएको थियो । बङ्गालको खाडी क्षेत्रमा रहेका पाँचवटा दक्षिण एसियाली राष्ट्र र दक्षिण पूर्वी एसियाली क्षेत्रका दुई राष्ट्रको सङ्गठन हो । बिम्स्टेकमा बङ्गलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । नेपाल सन् २००४ मा बिम्स्टेकको सदस्य बनेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २१ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित
- Dainik Nepalgunj

- Categories: News
Related Content
अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प
by
Dainik Nepalgunj
April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
by
Dainik Nepalgunj
April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
by
Dainik Nepalgunj
April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ
by
Dainik Nepalgunj
April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग
by
Dainik Nepalgunj
April 19, 2026