जलवायु परिवर्तन अहिलेको युगमा सबभन्दा ठूलो पर्यावरणीय चुनौती हो । औद्योगिक क्रान्तिपछि मानवीय क्रियाकलापका कारण पृथ्वीको वातावरणमा भएको गहिरो परिवर्तनले जैविक प्रणाली, पारिस्थितिक सन्तुलन, र मानवीय जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ । जलवायु परिवर्तन मुख्यत हरितगृह ग्यासहरूको अत्यधिक उत्सर्जनका कारण भएको हो, जसले पृथ्वीको तापक्रम बढाएर वातावरणीय असन्तुलन निम्त्याएको छ । उच्च तापक्रमले हिमनदी पग्लिने, समुद्रको सतह बढ्ने, र प्रकोपजन्य घटनाहरू दिन प्रति दिन बढ्दै गएको छ ।
नेपाल जस्ता हिमालयीय देशमा जलवायु परिवर्तनको असर अझ गम्भीर रूपमा देखिएको छ । हिमालयका हिमनदीहरू पग्लिनु, प्राकृतिक स्रोतहरूको क्षय हुनु, र बाढीपहिरो जस्ता घटनाहरूले यहाँको कृषि, जनजीवन, र जैविक विविधता संकटमा परेका छन् । यस अवस्थामा, जलवायु परिवर्तनका मुख्य कारण, असरहरू, र समाधानका उपायहरूमाथि सोच्ने र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो ।
जलवायु परिवर्तनका मुख्य कारणहरूमा हरितगृह ग्यासहरूको अत्यधिक उत्सर्जन, वन कटानी, खनिज ईन्धनको अत्यधिक प्रयोग, र शहरीकरण हुन । विश्वव्यापी तापमान वृद्धिले अत्यधिक मौसमी घटना, अनावृष्टि, र अतिवृष्टिलाई तीव्र बनाएको छ । नेपालमा मात्र, जलवायु परिवर्तनले ६० प्रतिशतभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ, जसमा कृषि, जल स्रोत, र जैविक विविधता संकटको मूल केन्द्रमा छन् । हिमालय क्षेत्रको तापक्रम विश्व औसतभन्दा छिटो बढिरहेको तथ्यले हिमताल विस्फोट, बाढी, र सुक्खा जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । यसले नेपालजस्ता विकासशील देशहरूलाई ठूलो आर्थिक र सामाजिक भार थप्दै गएको छ र निकै ठुलो चुनौती पनि छ ।
जलवायु परिवर्तनका प्रत्यक्ष असरहरूसँगै अप्रत्यक्ष प्रभावहरू पनि गम्भीर छन् । जैविक विविधता ह्रास, पानीको अभाव, र कृषि उत्पादनमा कमीले खाद्य असुरक्षालाई निम्त्याएको छ । वन्यजन्तु र वनस्पतिको संरक्षण चुनौतीपूर्ण बनेको छ । साथै, रोगहरूको प्रसार, स्वास्थ्य समस्याहरू, र वातावरणीय आपत्कालीन अवस्थामा कमजोर समुदायहरू अझ बढी पीडित छन् । यी सबै चुनौतीहरूलाई सम्बोधन गर्न हामीले व्यक्तिगत र सामूहिक दायित्व स्वीकार गर्नुपर्ने समय आइसकेको छ । जलवायु परिवर्तनको चुनौती सामना गर्नका लागि प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारीलाई गहिरो रूपमा बुझेका छन् । वन संरक्षण, वृक्षारोपण, र नवीकरणीय ऊर्जा प्रवर्द्धन जस्ता कदमले प्रभावकारी भूमिका खेल्न सक्छ । वृक्षारोपणले मात्र होइन, ‘हरित विद्यालय’ र ‘हरित समुदाय’ जस्ता परियोजनाले भावी पुस्तालाई जलवायु सचेत नागरिकको रूपमा तयार गर्न मद्दत पु¥याउँछ । प्रत्येक व्यक्तिले “म मेरो कार्बन पदचिन्ह घटाउन के गर्न सक्छु ?“ भनेर आत्मविश्लेषण गर्नुपर्ने बेला आएको छ ।
जलवायु शिक्षामा जोड दिनु, ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा र बायोग्यास प्रविधि विस्तार गर्नु, र जैविक कृषि प्रणालीको विकास गर्नु दीर्घकालीन समाधानका रूपमा देखिएका छन् । साथै, जलवायु परिवर्तनविरुद्धको राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियानमा सक्रिय सहभागिता आवश्यक छ । नेपालले वनस्पति र जैविक विविधताका हिसाबले धनी देश भएकाले यसलाई बचाउन र प्रवर्द्धन गर्न स्थानीय समुदाय, सरकार, र गैरसरकारी संस्थाबीच सहकार्य गर्नुपर्छ । उदाहरणका लागि, जन्मदिनमा रुख लगाउन प्रेरणा दिने तथा ’हामी रूख लगाउँछौं, शान्तिका लागि’ भन्ने अभियान जस्ता परियोजनाहरू जलवायु रोकथामका लागि अभ्यास बन्न सक्छ ।
जलवायु परिवर्तनविरुद्ध लड्न शिक्षा र सचेतनाको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्म वातावरण शिक्षालाई अनिवार्य विषय बनाउनु आवश्यक छ । जलवायु परिवर्तनको असरबारे जनतालाई सचेत पार्न मिडिया, कार्यशाला, र स्थानीय तहका अभियान प्रभावकारी माध्यम हुन् ।
नीतिगत तहमा, जलवायु परिवर्तनका असरहरूको सामना गर्न सरकारलाई दीर्घकालीन योजना निर्माणमा ध्यान दिनुपर्छ । हरित अर्थतन्त्रमा आधारित नीतिहरू, जलवायु मैत्री विकासका परियोजनाहरू, र वैकल्पिक ऊर्जा स्रोतहरूको प्रयोगले सकारात्मक परिवर्तन ल्याउन सक्छ । साथै, अन्तर्राष्ट्रिय सहकार्य, अनुदान, र प्राविधिक सहयोगमार्फत नेपालजस्ता देशहरूले जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमता बढाउन सक्छन् ।
जलवायु परिवर्तन मात्र वैज्ञानिक वा सरकारी समस्या होइन; यो मानव अस्तित्व र भविष्यको विषय हो । व्यक्तिगत तहमा स–साना कदमहरू जस्तै ऊर्जा बचत, प्लास्टिकको पुनः प्रयोग, र रूख रोप्ने बानीले ठूलो प्रभाव पार्न सक्छ । हामीले यो बुझ्नुपर्छ कि पृथ्वी हाम्रो साझा घर हो र यसको संरक्षण हाम्रै दायित्व हो । नेपालले जलवायु परिवर्तनको चुनौती सामना गर्न धेरै अवसरहरू प्राप्त गरेको छ ।
स्थानीय तहदेखि विश्वव्यापी सहकार्यसम्म, हरेक प्रयासले जलवायु परिवर्तनको असरलाई न्यून गर्न योगदान पु¥याउनेछ । आजको सचेत कार्यले भावी पुस्ताका लागि हरित र स्वस्थ वातावरण सुनिश्चित गर्न सक्नेछ । जलवायु परिर्तनविरुद्धको यो लडाइँ मानव सभ्यताको भविष्यका लागि हो, र यसमा हाम्रो भूमिका महत्वपूर्ण छ ।