सामाजिक सञ्जाल
सामाजिक सञ्जाल भनेपछि सामान्यतया फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक, युट्यूब आदिलाई सम्बोधन गर्न खोजिएको हो ।
यसले प्रयोगकर्ताहरूलाई एकअर्कासँग अन्तरक्रिया गर्ने, कन्टेन शेयर गर्ने र आफ्ना धारणा व्यक्त गर्ने सजिलो प्लेटफर्म प्रदान गर्दछ ।
यसका प्रयोगकर्ताहरू आफ्ना सामग्री उत्पादन गर्ने र वितरण गर्ने दुवै आफै, चाहेको सामाग्री पोस्ट गर्न, शेयर र डिलिट निर्वाध गर्न सक्ने सहजता आफैमा उपलब्ध छ ।
व्यक्तिगत विचार, अनुभव, फोटो, भिडियो, जस्ता सामाग्री प्रयोगकर्ताहरूद्वारानै उत्पादन हुने हुँदा विश्वसनीयता र गुणस्तरमा आशंका कायमै रहन्छ ।
मिडिया
आधिकारिक रुपमा तथ्यसहितका समाचार, विचार, मनोरञ्जन, र शिक्षा प्रदान गर्ने उद्देश्यले सामग्री उत्पादन, सम्पादन र वितरण गर्ने व्यवस्थानै मिडिया हो । मिडियामा प्रायः एकतर्फी संचार हुन्छ, जहाँ दर्शकहरूले सामग्री उपभोग गर्छन् तर सिधै प्रतिक्रिया दिने व्यवस्था प्रायः हुँदैन ।
व्यावसायिक रूपमा उत्पादन गरिने मिडियाका सामाग्रीको गुणस्तर र विश्वसनीयता कायम राख्ने प्रयास र विधि तय गरिएर समाचार, लेख, रिपोर्ट, आदि जस्ता जानकारीमूलक सामग्रीहरू उत्पादन र वितरण व्यवस्थापन गरिन्छ । मिडियामा सम्पादकले सामाग्रीको गुणस्तर, विश्वसनीयता र प्रकाशकले प्रकाशनको समय, मात्रा अनि मुल्य निर्धारण गर्छन् ।
त्यसैले
उपभोक्तामा उस्तै बुझाइ भइरहेको सामाजिक सञ्जाल र मिडिया दुवै सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भए पनि यी दुईको प्रकृति, उद्देश्य र कार्यप्रणालीमा उपरोक्त महत्वपूर्ण भिन्नता रहेका हुन्छन् । जुन भिन्नता बुझाउन यसखालका कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ, जसले सञ्चार उपभोक्तालाई ‘साक्षर’ बनाउँछ । त्यसका लागि पनि मिडिया साक्षरता आवश्यक छ ।
पत्रकारितामा सामाजिक सञ्जालले थुप्रै अवसर र चुनौतीहरू ल्याएको कुरा तपाईं हामी सबैले पक्कै महसुस गरिरहेका छौं । मेरो दृृष्टिकोणमा त सामाजिक सञ्जाल अवसरनै अवसर हो ।
किन ? कसरी ??
सूचनाको तत्काल प्रसारणः पत्रकारहरूलाई कुनैपनि घटनाको खबर तुरुन्तै सम्प्रेषण गर्नमात्रै होइन सामाजिक सञ्जालले सूचना अपडेट हुन पनि उत्तिकै मद्दत गर्दछ । यसले गर्दा पत्रकारिता आकर्षक बनिरहेको छ, समाचारहरू छिटो र व्यापक रूपमा फैलिने अवसर प्राप्त भएको छ ।
प्रत्यक्ष संवाद अनि प्रशारणः सामाजिक सञ्जालको माध्यमबाट पत्रकारहरूले दर्शक, स्रोता वा पाठकहरूसँग प्रत्यक्ष संवाद गर्न सकिरहेका छन् । यसले हामीलाई समाचारको प्रतिक्रिया जान्न र सुधार गर्न मद्दत पुगिरहेको छ ।
सजिलैसँग समाचारको विविधताः सामाजिक सञ्जालले वृहद दृष्टिकोण बनाउन ठाउँ दिन्छ । विभिन्न दृष्टिकोण र विचारहरूलाई सजिलो पहुँच र स्थान दिने हुँदा हामीलाई समाचारको बारेमा थप जानकारी वा आफुले चाहेको सूचना प्राप्त गर्न मद्दत गर्छ ।
उपभोक्ता निर्माण र विस्तारः पत्रकारले उत्पादन गरेका सामाग्रीहरूलाई सामाजिक सञ्जालमार्फत नयाँ दर्शक, पाठक वा स्रोता (सञ्चार उपभोक्ता) हरूसम्म पुग्न मद्दत गर्ने भएकाले हाम्रो समाचारको पहुँच अनि दायरा पक्कै बढ्न थालेको छ ।
सस्तो लागतः हामीले तयार गरेका समाचार सम्प्रेषण गर्नको लागि सामाजिक सञ्जालले लागत घटाउन मद्दत गरिरहेको छ । यसले गर्दा साना लगानीका सञ्चारगृह समेतलाई समाचार उत्पादन, वितरण सजिलो भइरहेको छ । दायरा फराकिलो भएको छ ।
यतिमात्रै होइनन्, तमाम अवसर छन्, जुन तपाई हामीले दैनिक उपभोग र अनुभूत गरिरहेका छौं ।
यी तमाम अवसरबीच, चुनौती पनि उत्तिकै छन्,
यी चाहिं चुनौती हुन् ?
समाचारको सुरक्षा (कपि–पेष्ट)ः निकै मिहिनेतका साथ तयार गरिएका समाचार सामाग्री पलभरमै चोरी भइदिने नियतिबाट तपाई हामी पत्रकार मारमा परिरहेका छौं । कानुनी उपचारमा जानु झन्झटिलो हुने भएकाले यस्ता प्रवृतिले दायरा बढाउँदै गएको देखिन्छ ।
भ्रामक सूचनाको खेतीः हाम्रो समाज नकारात्मकतामा रमाउन थालेको छ । सामाजिक सञ्जालमा झूटा समाचार छिट्टै फैलिने हुँदा भ्यूजका आधारमा पाइने मूल्यले भ्रामक सूचनाको खेती मौलाएको छ । सामाजिक सञ्जालमा धेरै समाचार स्रोतहरू उपलब्ध छन्, जसले गर्दा कुन समाचार सही हो र कुन गलत हो भनेर छुट्याउन उपभोक्तालाई गाह्रो हुन्छ । यस्तोमा हामीले आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने चुनौती बढेको छ । पत्रकारहरूले भ्रामक र झुटा सूचनाहरूलाई पहिचान गरी सत्य समाचार सम्प्रेषण गर्नुपर्ने जिम्मेवारी बढेको छ ।
गोपनीयताविरुद्धको जोखिमः समाचार स्रोतको गोपनीयताको रक्षा पत्रकारको न्यूनत्तम जिम्मेवारी हुन्छ । सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी चुहावट हुने जोखिम हुन्छ । (सन्दीपकी गौशाला हुन वा पलविरुद्ध जुध्ने किशोरी) पत्रकारहरु आफ्ना सामाग्रीमा समाचार स्रोतको सुरक्षामा अझै जिम्मेवार बन्ने चुनौती थपिएको छ ।
व्यक्तिगत सुरक्षामा संकटः सामाजिक सञ्जालमार्फत पत्रकारहरूलाई आक्रमण र धम्की आइरहेका विषय हामीलाई ज्ञात भइनै रहेको छ । सामाजिक सञ्जालमार्फत यस्ता धम्कीहरूको सामना गर्नुपर्ने पत्रकारले अझै सतर्कता अपनाउनु पर्ने हुन्छ ।
संस्थागत विकासमा बाधाः
को पत्रकार ? को गैरपत्रकार ? संस्थागत पत्रकारिता कमजोर हुँदै गइरहेको तथ्य तपाई हामीमाझ छर्लङ्गै छ । त्यसमा पनि परम्परागत सञ्चार माध्यम धराशयी भइरहेका छन् । भइरहेका संस्था बन्दप्रायः हुने अवस्था छ । तुलनात्मक रुपमा बाँकेका पत्रकारहरुको संस्थागत विकासमा नयाँ लगानी आउन सकेको छैन । यसले पत्रकारिताको विकासमा संक्रमणकालको संकेत देखाएको छ ।
विज्ञापन बजार सिफ्टिङः सञ्चारमाध्यमको दीर्घकालीन आयआर्जन भनेको विज्ञापन बजार हो । सामाजिक सञ्जालमै विज्ञापन दिने ‘बुष्ट’ प्रवृत्तिले नेपाली रुपिया डलरमा बाहिरिएकोमात्रै छैन, सञ्चारमाध्यमका नियमित अनि परम्परागत विज्ञापन बजारनै सिफ्टिङ भइरहेको छ । यसले अन्ततःगत्वा सञ्चारमाध्यमलाईनै धराशयी बनाइरहेको छ । मिडिया सञ्चालकले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आइसकेको छ ।
यसरी, सामाजिक सञ्जालले पत्रकारितामा अवसर र चुनौती दुवै ल्याएको छ । पत्रकारहरूले यी चुनौतीहरूको सामना गर्दै अवसरहरूको सदुपयोग गर्नुपर्ने हुन्छ । त्यसैले नयाँ परिस्थतिमा प्रविधिले दिएको अवसरलाई उपयोग गर्दै चुनौती न्यूनिकरणमा ध्यानाकर्षणको विकल्प छैनकी ? निष्कर्षमा, सामाजिक सञ्जाल मिडियाका लागि अवसरनै हो । सञ्चार साक्षरता अभावनै चुनौती हो, प्रेस चौतारी नेपालमात्रै होइन, नेपाल पत्रकार महासंघलेनै मिडिया साक्षरताका लागि अभियान चलाएर चुनौती कम गर्दै सामाजिक सञ्जालको भरपुर उपयोग गर्न सकिन्छ ।
थोरै चर्चा यता पनि,
यतिबेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न बनेको कानुनको मस्यौदा विधेयकलाई लिएर नेपाली समाज भाइब्रेन्ट छ ।
संसदमा विचाराधीन ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने, दुरुपयोगलाई निरुत्साहित गर्ने, र प्रयोगकर्ताको अधिकारलाई संरक्षण गर्ने लक्ष्य राखेको छ ।
यो लक्ष्यमा सरकार इमान्दार भइदिने हो भने, नेपाली पत्रकारिताका चुनौती केही हदसम्म कम हुने आशा गर्न सकिन्छ । तर, नेपालमा कुन चाहिं शासक कानुन कार्यान्वयनमा इमान्दार छन् ? वा, हुनसक्छन् भनेर आशा गर्न सकिन्छ ?
विधेयकका केही मुख्य प्रावधानहरूः
सामाजिक सञ्जाल प्लेटफर्मको दर्ताः नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्महरूले कानुनी रुपमा दर्ता गराउनुपर्नेछ । सरकारले त्यसका लागि सूचित पनि गरिरहेको छ । प्लेटफर्म सञ्चालन गर्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
प्लेटफर्महरूले हानिकारक सामग्री हटाउनु पर्नेछ विभिन्न व्यवस्था गरि प्रयोगकर्ताको अधिकार र प्रयोगकर्ताको गोपनीयताको रक्षासम्मका व्यवस्था गरेको छ । तर, दण्ड सजायका व्यवस्थामा गम्भीर आशंका गरिएका छन् । विधेयकमा उल्लङ्घन गर्नेलाई गरिएका जरिवाना र कैदको व्यवस्थालाई शासकले आफु अनुकूल गरिदेलान भन्ने आशंकालेनै यो विधेयकले नेपाली समाजलाई भाइब्रेन्ट गरेको हो ।
यो विधेयकले सामाजिक सञ्जालको दुरुपयोगलाई कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । तर, यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने भन्दै केहीले आलोचना पनि गरेका छन् । विधेयक अहिले संसदमा छलफलको क्रममा रहेको छ, र यसमा आवश्यक संशोधन हुन सक्नेछ ।
जबकी, नेपालको संविधान २०७२ का धारा १७, १९ र २८ को परिपालनाले धेरै हदसम्म समस्या समाधान गरिदिन्छ ।
(प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना गरेको छलफलमा प्रस्तुत आधार–पत्र)