तस्बिरका कुरा
विशाल रानामगर
कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे । फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो । फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने, कस्तो पोजमा फोटो खिच्ने, घर अगाडि खिच्ने कि खेतबारीमा खिच्ने योजना बन्न थाल्थ्यो ।
फोटो खिच्न आउने मान्छे फोटो खिचेर जान्थे । हप्ता दश दिन कहिले काही त महिनादिन पछि फोटो धुलाएर नेगेटिभसहित आउथे । त्यो दिन गाउँमा एक खालको तमासनै हुन्थ्यो । कस्को फोटो राम्रो आयो । कसको फोटो धमिलो आयो । कसको फोटोमा घाम पर्यो । कसको फोटोमा टाउको खुट्टा कट्यो । अनि कसको आँखा बन्द गरेको फोटो आयो । बडो चर्चाको विषय हुन्थ्यो ।
कतिका फोटो लेमिनेशन भएर घरका भित्तामा टंगिन्थे । कति एल्बममा सजिन्थे । त्यो बेला हरेक घरमा पाहुना आउँदा चिया वा पानीसँगै घरमा भएको फोटोका एल्बम अनिवार्य रुपमा पस्किइन्थ्यो ।
बेला फेरियो ।
अहिले फोटोहरु फेसबुक र इन्स्टाग्राममा संग्रहित हुन थालेका छन् । फोटो खिचेर हेर्नका लागि हप्ता दिन कुर्नुपर्ने जमानाबाट मोबाइलमै फोटो खिचेर तुरुन्त हेर्न र डिलिट गर्न सकिने भएको छ ।
गाउँमा डुलेर फोटो खिच्ने जाने चलन त मोबाइल र डिजिटल क्यामेराको विकाससँगै हराइसक्यो । साथमा गाउँगाउँ डुलेर जीवनका असिम क्षणहरुलाई क्यामेरामा कैद गरी फिर्ता गर्ने फोटोग्राफरलाई हामीले बिर्सिसकेका छौं ।
त्यसैले आजको यो पडकास्टमा नेपालगन्जमा फोटोग्राफीलाई पेशाको रुपमा सुरुवात गर्ने व्यक्तित्वसँग कुराकानी गरेको छु । फोटोग्राफीमा रुची राख्ने भएकाले मलाई सधैं लाग्थ्यो नेपालगन्जमा फोटोग्राफीको सुरुवात गर्ने को होला, त्यो मान्छेले के कस्ता अवसर र समस्या भोग्यो होला । कसरी फोटोग्राफीलाई पेशा बनायो होला । कस्ता कस्ता क्यामेराहरु चलायो होला । इतिहासका कालखण्डमा भएका के कस्ता घटनाहरुलाई क्यामेरामा कैद गर्यो होला?
मेरा यी र यिनै खुल्दुली मेटनका लागि मैले नेपालगन्जका अग्रज फोटोग्राफर देवीप्रसाद रस्तोगीलाई भेटने मौका पाए । बाँकी उहाँसँग गरेको रोचक कुराकानी यो पडकाष्टमा सुन्न सक्नुहुनेछ ।
यो भेटलाई पडकाष्टमा परिणत गर्न तिलक गाहामगर र सुवर्ण क्षेत्रीले गरेको सहयोग अतुलनिय छ ।