नेपालमा प्रविधिको विस्तारसँगै यसको दुरूपयोग दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा ‘तपाईंको चिठ्ठा प¥यो’ भन्दै ठगी गर्ने, बैंक खाताको ओटिपि मागेर रकम चोर्ने, हनी ट्रयाप, मानवबेचबिखन, सामाजिक सञ्जाल ह्याक गरेर प्रयोगकर्ताको नाममा ‘आपत पर्यो, पैसा पठाइदिनु’ भन्ने सन्देश पठाएर ठग्ने, वेभ साइट ह्याक गर्ने, निजी भिडियो वा स्क्रिनसट प्रयोग गरेर ब्ल्याकमेलिङ गर्ने जस्ता साइबर अपराधहरू तीव्र रूपमा बढिरहेका छन् ।
बाँकेमा पनि साइबर अपराध सम्बन्धी निवेदन ह्वात्तै वृद्धि भएको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा त्यसको दुरूपयोग हुने अपराधका घटनामा जिल्लामा वृद्धि भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक शिवा थापाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा ३ सय ३५ वटा साइबर अपराध सम्बन्धी निवेदन परिसकेको जानकारी दिएकी छिन् । उनले जसमध्ये १ सय ४४ वटा निवेदन अनलाइन ठगी सम्बन्धी रहेको बताइन् ।
आर्थिक बर्ष २०८०÷०८१ मा २ सय ७०, आर्थिक बर्ष २०७९÷०८० मा १ सय ६, आर्थिक बर्ष २०७८÷०७९ मा ५८ वटा निवेदन साइबर अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेका थिए ।
प्रहरी निरीक्षक थापाका अनुसार, नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर अपराध सम्बन्धी घटनामा गहत अध्ययन गरी दोषीलाई कारवाहीको दायरामा ल्याइरहेको बताउँछिन् । साइबर अपराधीहरू नेपालभित्र मात्र नभई विदेशबाट पनि सञ्चालन हुने गरेको र उनीहरूलाई कानुनी कारवाहीको दायरमा ल्याउन पनि चुनौति रहेको बताउँछिन् । साइबर अपराधीहरूले विशेष गरी फेसबुक, इन्स्टाग्राम, भाइबर, व्हाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत विश्वास जितेर फेन्डलिष्टमा रहेका व्यक्तिहरूलाई निशाना बनाउने गरेका छन् । कहिले स्क्रिन शेयरिङ एप प्रयोग गरेर मोबाइल वा कम्प्युटर नियन्त्रणमा लिने, कहिले अनलाइन ‘लिन्क’ पठाएर पासवर्ड चोरी गर्ने जस्ता प्रविधिगत तरिकाले प्रयोगकर्ताको गोपनीयता हनन गरिन्छ ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर प्रविधिको प्रयोगसँगै प्रविधिको दुरूपयोग गरी हुने अपराधिक घटना बढ्दै गएको बताउँछन् । ‘कतिपयले जानाजान पनि कानुनको उल्लंघन गरिरहेको पाइन्छ’, उनी भन्छन् ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले जान, अनजान जे भएपनि अपराधको सजाय भोग्नु पर्ने भएकाले प्रविधिको प्रयोग गर्दा त्यसबारे सचेत हुनुपर्ने धारणा राख्छन् । ‘मैले नजानेर गरे भनेर कानुनले छुट दिंदैन’, नगर प्रमुख विष्ट भन्छन् ।
नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले प्रविधिले जति सहज बनाएको छ त्यति नै चुनौति पनि निम्त्याइरहेको बताउँछन् । ‘सामाजिक सञ्जालले मानिसलाई एडिक्ट बनाइरहेको छ, कतिसम्म यसको प्रयोग गर्ने भन्नेमा सचेत हुन आवश्यक छ’, उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले हरेक क्षेत्र डिजिटलाइज हुँदै जाँदा यसको नकारात्मक पक्ष पनि वृद्धि भएको बताउँछन् । ‘त्यसैले प्रविधिको प्रयोग, त्यसको सुरक्षाका उपाय र कानुनी व्यवस्था बारे नागरिकलाई सचेत बनाउन आवश्यक छ’, उनले भने ।
प्रविधि सम्बन्धी काम गर्दै आएको डटवक्र्सका मेनेजिङ्ग डाइरेक्टर अरशद कमाल सिद्दिकीले इन्टरनेटको प्रयोग गरी हुने सबै गतिविधि सुरक्षित बनाउनका लागि अवलम्वन गर्नुपर्ने उपायबारे प्रयोगकर्ताहरूले जानकारी लिनुपर्ने बताए । ‘प्रविधिको दुरूपयोग बढिरहेका बेला त्यसबाट हुने अपराध र जोगिने उपाय प्रयोगकर्ता शिक्षित बनाउन आवश्यक छ’, उनी भन्छन् । डटवक्र्सका मेनेजिङ्ग डाइरेक्टर सिद्दिकी नागरिकहरूले अनलाइन चलाउँदा अपरिचित लिंक नखोल्ने, पासवर्ड नियमित रूपमा परिवर्तन गर्ने, दुई–चरणीय प्रमाणीकरण जस्ता सुरक्षा उपाय अपनाउने र गोप्य जानकारी कसैसँग पनि साझा नगर्ने सावधानी अपनाउनु अत्यावश्यक रहेको बताउँछन् ।