नेपालमा आजभोलि निकै चर्चामा रहने गरेको शब्द हो विकास र समृद्धि । नेपालीहरूको समृद्धिको सपना भनेको पनि जम्माजम्मी भौतिकवादको विकास मात्रै हो । राज्यले बेसक पूँजिगत खर्च गर्नै नसकोस्, असारे विकासमा खर्ब बढि खर्च गरेर पूँजिगत खर्चको तथ्याङ्क बनाओस् तापनि यसैलाई समृद्धिको यात्रामा छलाङ मारेको भनेर कथा बनाउने नेपाली परम्परा बनेको छ । उब्जाउ समथर खेतहरूमा कंक्रीटका संरचना बनाएर समृद्धिको कथा लेख्ने नेपाली विकासको दुरदर्शिता संसारको लागि नमूना नै भएको छ । कृषिको सम्पन्नताका कुरा फिका हुन्छन् तर यहाँ स्मार्ट सिटीका कथाहरू सुपरहीट हुने गरेका छन् । आजभोलिका चुनावका वाचाहरू ‘देशलाई यो कुरामा म आत्मनिर्भर बनाउँछु भन्नेमा हुँदैनन्, देशमा यतिवटा कंक्रिटका जंगलहरू बनाउँछु’ भन्नेमा केन्द्रित रहेका हुन्छन् । स्थानीय पालिकाहरूका सपना देखि केन्द्रका सपना कंक्रिटवादमा रुमलिएको छ ।
पछिल्ला दिनहरूमा देशमा महानगरहरू थप्ने चर्चा राजनीतिक वृतमा र पार्टीहरूमा चल्ने गरेको छ । बाँकेको नेपालगञ्जलाई महानगर बनाउनुपर्छ भन्ने कुरा पनि बेलाबेलामा सुन्ने गरिन्छ । यसका लागि हाल रहेको नेपालगञ्ज उपमहानगर पालिका, डुडुवा, जानकी, खजुरा, वैजनाथ गाउँपालिका, राप्तीसोनारीको केहि हिस्सा समेत र कोहलपुर नगरपालिकालाई समेटेर एउटा महानगर बनाउन पर्छ भन्नेहरू भेटिन्छन् । त्यो महानगरको बिशेषता के हुने हो ? २०७४ सालमा थुप्रै गाविसहरू जोडेर नगर, उपमहानगर र पालिकाहरू बनाएपछिका झण्डै दशबर्षमा के चमत्कार नै भयो ? अनि कस्तो समृद्धि आयो ? आजपनि यी प्रश्नहरूको उत्तर छैन । छ त लेटरप्याडमा स्थानीय सरकार बनेको छ , करका दर बढेका छन् । ‘झ’ लेखेका सेताप्लेटका गाडीहरू बढेका छन् । होटल रेष्टुरेन्टहरूमा राज्यकोषबाट सिटिङ, मिटिङ र इटिङ बढेको छ ।
किसानले आजपनि मल पाएको छैन । समयमा ट्रेक्टर पाएको छैन । पानी हेर्न त कर्णालीतिरै पुग्नुपर्छ । खेतमा सरकार छैन । उत्पादनमा दरकार छैन । रेमिटको रकम बुझेर सीमापारिको लर्कोमा सामेल हुने बाहेक अर्को कुनै चाला छैन । अनि सुशासनका कुरा त गरे नेगेटिभ मान्छेको पगरी मिल्छ ।
अनि यस्तो परनिर्भर, जनतामारा महानगर बनाउने किन ? यहाँभित्र हुन्छ के ? यहाँका जनताले पाउने के ? यो महानगर घोषणाले यहाँ कस्तो समृद्धिको कथा लेखिने हो ? जनताका जनजिविकाका सवालमा तात्विक रूपमा कस्तो परिवर्तन आउने हो ? यहाँ अहिले बर्षात नभएर काकाकुल बनेका यसक्षेत्रका खेतहरूमा पानीको व्यवस्था हुने हो कि या अब पानीको आवश्यकता नै नपर्ने हो ? दिनमा बाह्र घण्टा, सातै दिन खुलासीमा पारि लाग्ने गरेको किनमेलको लर्को रोकिने हो कि होइन ? यसका बारेमा ठोस योजना बिनाको महानगरको सपना नेपालगञ्जको राजनीतिले पालेको देखिन्छ ।
हप्ताभरिको कामको चापबाट फुत्त निस्केर अग्ला भवनहरूका छेउमा गएर फोटो खिँचेको र सञ्जालमा पोष्ट गरेको देखेर समृद्धिको मापदण्ड नै कंक्रीटका महलहरू नै हुन भन्ने भाष्य बनाएका त छैनौं हामीले ? त्यहाँ वास्तवमा कस्तो समृद्धि छ भन्ने कुरालाई गौण बनाएर कंक्रिटका संरचनामा मात्रै नेपालीहरूको समृद्धिको कथा खोज्ने अर्को तयारी त छैन हामीहरूको ?
समाजमा यहाँको मौलिक धर्मसँस्कृति, भाषा सभ्यताको रक्षा, नेपाल सापेक्षताका कुराहरूको चर्चा कमै हुन्छ । नैतिक, इमान्दार चरित्र निर्माण, कृषिमा आत्मनिर्भरता, भेदभावरहित शिक्षाको सुनिश्चिता, खेतमा पानी र किसानको ओंठमा खुशीको लालीको कुरा महानगरको समृद्धिको कथामा जोडिन्छ जोडिन्न ? थाह भएन ।
भैगोलिक सीमालाई बढाएर त्यो ठूलो भूगोलको मेयर बन्ने सपना राजनीतिको होला, उर्वरा खेतहरूमा प्लटिङ गराएर जग्गा कारोबार गराउने र दलालले पैसा कमाउने अनि राज्यले उत्पादनबिना कै कर पाउने सपना पनि होला । यत्तिले मात्रै महानगरको सपना त पुरा हुनै सक्दैन ।
मेरो विचारमा महानगर कुनै भूगोलको विस्तारले मात्रै बन्दैन, बन्दै बन्दैन । वर्तमान व्यवस्थामा भूगोल एउटा मापदण्ड हो । तर वास्तवमा त्यत्ति मात्रै सबैथोक भने होइन ।
हाल रहेको नेपालगञ्ज उपमहानगर भित्र हामीले के के गर्यौं । यहाँका स्थानीय व्यापारीको पूँजिको रक्षा गर्न सक्यौं कि सकेनौं ? यहाँ रहेको पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसलाई यसक्षेत्रकै उत्कृष्ट नमूना क्याम्पस बनाउन के कति लगानी गर्यौं ? कि त्यसलाई गौचरन बनाएर दर्जन बढि फ्याकुल्टीहरू बन्द गरेर सित्तैमा तीन दर्जन बढि अध्यापकहरूलाई तलब खुवाएर अरूअरू विश्वविद्यालय र क्याम्पसका कंक्रिट भवनका सपना त पालेका छैनौं ? महानगरको नाममा कर बढाएर ‘झ’ लेखेका महङ्गा गाडी थप्ने र ऐयाशी गर्ने सपना मात्रै त बुनेका छैनौं ?
नेपालगञ्जका सिमासर क्षेत्रहरूको संरक्षण गर्यौं कि गरेनौं ? यहाँ हिजोको ब्यापारिक महत्वलाई आज कत्तिको जोगाउन सकेका छौं ? यहाँको सार्वजनिक शिक्षामा कस्तो प्रगति गरेका छौं ? स्वास्थ्यमा केहि डाक्टरहरूका नीजि अस्पतालहरू बाहेक नगर आफैले कस्तो प्रगति गरेको छ ? यहाँको समाजिक मूल्य मान्यता र मौलिकताको रक्षामा उपमहानगर कहाँ छ ? नगर र आसपासका खेतहरूमा कृषिको अवस्था हिजोभन्दा सुध्रिएको छ त ? त्यहाँ रहेका उद्योगले उत्पादन गर्ने समानको लागि बजार सुनिश्चित भएको छ त ? शायद यसको उत्तर छ मा आउन सक्दैन होला । तर सपना महानगरको राखिन्छ ।
मेरो विचारमा भो अब महानगरको सपनामा सीमा बढाउने काम मात्रै नगरौं । आऔं समृद्धिको महानगर बनाउन लागौं । यसक्षेत्रमा रहेको पुरानो शैक्षिक संस्था महेन्द्र बहुमुखी क्याम्पसलाई यसको पुरानो रौनकतामा फर्काउन के गर्नुपर्छ त्यो गरौं । विद्यालय शिक्षामा धम्बोजी मा. वि. को कथा मात्रै नबेचेर समुच्य नगरको शिक्षाको अवस्था ठिक बनाउन सबै विद्यालयहरू स्तरीय बनाऔं । सीमापारिका विद्यालयका गाडी यहाँ नआउन यसको ग्यारेन्टी गरौं । सीमापारिबाट आउने ठेलाहरू रोकौं ।
नगरभित्रका ब्यापारी माखा धपाएर बस्ने र सीमापारि मेला लाग्ने अवस्था रोकौं । केन्द्रलाईm प्रहरी भन्सार प्रशासनसँग सहकार्य गरौं । क्यारिङ धन्दा बन्द गरौं । यतातिर उत्पादन भएको समानले नेपालगञ्जको बजार पाउने सुनिश्चिता गरौं । कृषिमा ब्यापक लगानी बढाऔं । किसानलाई पुन्पुरो समाउनु पर्ने अवस्थाबाट बाहिर ल्याउन उसलाई समयमा बीउ, पानी, उत्पादनको बजार सुनिश्चिता गरिदिऔं ।
बालबालिकामा नैतिक शिक्षामा जोड दिऔं । धार्मिक शिक्षाको नाममा विदेशबाट आएर धार्मिकस्थलहरू कब्जा जमाएर बस्नेहरूलाई निकालौं । सडकभरि घोडा छोडेर असुरक्षित बनाइएको यात्रा सहज बनाऔं । मान्छ ेभन्दा इरिक्शा बढि बनाएर सडकजाम गराउने काम बन्द गरौं ।
भक्तपुर नगरपालिकाको मोडेलमा शिक्षामा, साँस्कृतिक सम्पदा रक्षामा, नगरबासीको हक अधिकार सुनिश्चितामा लगानी गरौं । जहाँ खपर्न बोक्ने सानो किसानको आवाज पनि नगरले सुन्छ त्यो कुरा नेपालगञ्जले गर्न किन नहुने ? कम्तिमा नेपालगञ्जको बसपार्कलाई सफासुग्गर र स्तरीय सञ्चालनको व्यवस्था गरौं । भएका संरचनाहरूको संरक्षणसम्म पनि नगरि थप नयाँ संरचना बनाउन पूँजि ब्यर्थ नगरौं ।
नगरभरि पसल पसल र चोकहरूमा मगन्तेहरूको बिगबिगी रोकौं । पसल खोल्न पाएको छैन अनेक बाहनामा माग्न आउनेको घुइँचो रोकौं । सीमापरिबाट आएर बसपार्क देखि चोकचोकमा डुलुवा ब्यापार गर्नेहरूलाई प्रतिबन्ध लगाऔं ।
नगरको आम्दानी श्रोत भनेको बहाल कर पनि हो । यहाँ व्यापार बढे बहालवाला बढ्छन्, रोजगार बढ्छ अनि बहाल बस्नेहरू पनि बढ्छन् । यसलाई व्यवस्थित बनाएर घरमालिकहरूमा नगर सरकारप्रति विश्वास जगाएर घरबहाल कर उठाउने र नगरको आम्दानी बढाउने काम गरों ।
नेपालगञ्ज आसपासको पर्यटकीय क्षेत्रको बजारिकरण गरौं । यहाँका होटलहरूमा आउने आन्तरिक र बाह््य पर्यटक कसरी बढि स्टे गर्न सक्छन् त्यसको बाटो खोजौं । नेपालगञ्ज केन्द्र बनाएर बाँके बर्दिया साइज भिजिट गर्ने गराउने ब्यवस्था गरौं । नेपालगञ्ज आउने भनेको रूपैडिहाको बजारमा समान सस्तो पाइन्छ भन्ने न्यारेटिभ र सरकारी गाडी लिएर शपिङ गर्न जाने चलन रोक्न नेपालगञ्जभित्रै राम्रो र सस्तो बजारहरूको निर्माण र सञ्चालन गर्न ब्यापारी ब्यवसायी, होटल ब्यवसायी र नगरको सहकार्यको नमूना नेपालगञ्जलाई बनाऔं ।
नेपालगञ्जभित्र रहेका तालतलैयाहरूको संरक्षण र त्यसलाई पर्यटकीय प्रयोजनमा उपयोग गरौं । हिजो नगर बनाउन र कर तिरेर नगर टिकाउन लागेको साना ब्यापारी र यसको पूँजि रक्षाका लागि हरेकसम्भव उपायहरू अवलम्बन गरौं । लागूर्औषध र मानव बेचबिखनको नाकाको रूपमा नेपालगञ्जले कमाएको बद्नामी रोक्न नेता र पार्टीको पहुँचको आधारमा लुकाउने उम्काउने काम कोहि कसैबाट नहोस् त्यसको ग्यारेन्टी गरौं ।
नेपालगञ्जको प्रसिद्ध भनेर चिनिएको रावडीको काठमाण्डौंमा पनि चर्चा हुन्थ्यो कुनैबेला । तर नेपालगञ्जले आफ्नो त्यो पहिचान गुमाएको छ । त्यसलाई ब्राण्डिङ गरौ । पूर्वतिर घुम्न जाँदा सप्तरीको बरमझियाको बाजेको पेडा किनेर ल्याउने नेपालगञ्जले आफ्नो रावडी बेच्न किन सकेन ?
नेपालगञ्जको राष्ट्रिय बीउबिजन कम्पनी सकियो तर किसानले बीउ रूपैडिहा नगै पाएन किन ? प्रसस्त कृषि भूमि रहेको नेपालगञ्ज वरपरको मुख्य केन्द्र नेपालगञ्जले कृषि र किसानको लागि सबैथोक पाइने बजार बनाउन किन सकेन ? कारण खोजौ र काम गरौं ।
सीमापारिबाट मिसावटयुक्त दुध बोकेर नगर घुम्नेहरूलाई ठाउँको ठाउँ कार्वाहीको व्यवस्था गरेर यसक्षेत्र भित्रैका सहकारी डेरीहरूको दुध बेच्ने बिक्ने वातावरण बनाऔं । अरूपनि यहाँ नसमेटिएका तर समृद्धिको महानगर बनाउने कामहरू हुनसक्छन् त्यसमा काम गरौं । भूगोल र सीमा विस्तारको महानगरको आवश्यकता होइन समृद्धिको महानगर बनाउन यसो गरे कसो होला ?