हप्ता दिनको मनको नैरश्यता गरुङ्गो भारीले यति धेरै कुराहरु खेल्यो कि जीवनको कैयौं बषौंसम्म नचलेको तुफानी आँधीले मन हलचल बनाई रह्यो । राजनीतिक र सामाजिक व्यथितिको वारे छरपष्ठान गर्ने रहर मलाई पनि छ, तर कैयौ सामाजिक जिम्मेवारी, पारिवारीक उत्तरदायित्वले थेचारिएको हृदय उकुसकुस बनाई बसिरहेको थिएं । तर, आफ्ना विचारलाई कुण्ठित गर्न सकेन कलम चलाउन वाध्य भएं ।
समसामयिक विश्व ब्यापी चुनौतीलाई सामानागरी देशलाई आत्मनिर्भरताको वाटोमा नेतृत्व प्रदान गर्न सक्ने प्लेमेकर वा चेन्जमेकर अथवा गेम चेन्जर नेतृत्वको खोजी नै राजनीतिमा सवैबाट खोजिएको नयाँपन हो । नेपालमा जव पार्टीहरुमा संकट आउन थाल्छ, त्यतिवेला नयाँको खोजी र बहस चल्न थाल्छ । नयाँ हुनका लागि आधारभूत विशेषता, लक्षण वा योग्यता के हुन सक्छन ? प्रचलित कानुनले तोकेको योग्यता वा अयोग्यता भन्दा बाहिर गएर, जनप्रतिनिधी छान्ने समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट खोजिएको नयाँले रुपान्तरण सम्भव हुन्छ वा हुदैन ? भन्ने वहस चलिरहंदा अहिलेको जेनजी विद्रोहले वर्तमान संविधान र प्रचलित कानुनमै समसामयिक सुधार तथा संशोधन अनिवार्य खोजेको देखिन्छ ।
भर्खरै भएको विद्रोहका कारण राजनीतिमा शुन्यमा ल्याएको छ । तर एउटा बहसले निकै उचाई प्राप्त गरेको छ, त्यो हो राजनीतिमा उमेर र योग्यता । भर्खरैको परिस्थितीले पनि यतिले राजनीति समस्या टार्न सकेन । राजनीतिक अनुभव हो वा पारिवारिक विरासत ? आर्थिक पृष्ठभूमि हो या सामाजिक भूमिका? पेशागत तथा व्यावसायिक योग्यता ? स्वच्छ चरित्र र सुशासनप्रतिको प्रतिवद्दता सवै योग्यताले स्थान नपाएपनि नेपाली राजनीति उत्कृष्ठ योग्यता पहिचानमा नै तीन दिनजति अल्मलियो । हुनत अहिले जेनजी विद्रोहले परम्परागत राजनीतमा नयाँ तरंग सिर्जना गरेको छ । जेनजी विद्रोहको बकपत्र हेर्दा यसले नयाँ अपेक्षा गरेको छ । जस्तो राजनीतिक एउटै ब्यतिmको रजगज नहोस्, राजनीतिक विरासतको रुपमा नरहोस, राजनीतिले नयाँ बुर्जुवा वर्गको सिर्जना नगरोस् । राजनीतिमा संलग्नहरु विभिन्न हत्कण्डा अपनाएर आजीवन राजनीतिमा टिकिरहने अवस्था नबनोस । जनता संधै शासित र नयाँ स्वरुपका प्रजाको रुपमा नरहून भनी राजनीतिलाई शुद्धीकरण गर्न सचेतनाको आवजको रुपमा यो विद्रोहलाई लिनु पर्ने हुन्छ । अव यो विद्रोहलाई फेशबुके वा सामाजिक सञ्जालमा फैलाउन खोजिएको अफवाहको रुपमा मात्रै लिनु हुदैन । २८ बर्षसम्म उमेर समुहका भाईवहिनीहरुले शासकीय प्रणाली र भ्रष्टार विरुद्ध उठाएको नयाँ विद्रोह हो ।
प्रजातान्त्रिक वा लोकतान्त्रिक अभ्यास हामीले सिक्दैछौ भन्ने छुट अव राजनीतिक दलहरुलाई छैन । पञ्चायतको अन्त्यपछि तीनवटा जनआन्दोलन र गणतन्त्रको स्थापनापश्चात दुईवटा संविधान हामीले भोगिसकेका छौं । ती संविधान लेख्नेहरुले अव एकअर्कालाई दोषारोपण गर्ने, संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकास गर्न तथा जनजीविकाको रक्षाको लागि अझ एकपटक मौका दिनुस भन्ने नैतिक अधिकार बाँकी छ, जस्तो लाग्दैन । संविधान अनुरुपको सामाजिक, आर्थिक व्यवस्था कायम गर्न नसकेपनि सत्तामा बसेका दल र तिनका नेतृत्वको विकल्पको खोजी नै अहिलेको विद्रोहले खोजेको नयाँपन हो । नयाँको आवज उठदै र नयाँको खोजी हुँदै गर्दा समसामयिक राजनीतिमा नयाँपन ल्याउनका लागि र रुपान्तरण गर्न हामीले गर्नै पर्ने सुधारहरु छन् ।
नेतृत्वको परिर्वन
संकटजन्य अवस्थामा देशले वृद्ध वा निरङ्कुश नेतृत्वलाई पनि स्वीकारर्ने अवस्था हुन्छ । त्यस्तो अवस्थमा नेतृत्वको निरन्तरता पनि स्वभाविक मान्नु पर्ने वाध्यता आउँछ । उदाहरणका लागि मलेसियामा महाथिर मोहम्मद, सिँगापुरमा लिक्वान यू चीनमा सी जिंग पिंग र रसियामा पुटिन नेतृत्वको लागि उमेर वा निरन्तरताले समेत जनतामा निराशा आएन । नेपालमा विद्रोह होस वा आन्दोलनको चरण होस वा आन्दोलन पश्चात जनताले नयाँपनको अनुभव गर्न पाएनन् । अर्काे महत्वपूर्ण पक्ष राजनीतिक नेतृत्वमा नपुगी संसदीय दल र सरकारको नेतृत्वको अवसर प्राप्त नहुने प्रावधानले नागरिकमा वितृष्णा पैदा भयो । दलभित्रपनि दलिय निरंकुस अभ्यासको परिपाटी विकास गर्दै जानु नेतृत्व परिवर्तनको वाधक बन्यो र नयाँपनलाई छेकवार लगायो । अव उप्रान्त यस्ता गलत अभ्यासलाई सुधारगरी लैजानु पर्छ ।
जेन–जी र युवा पुस्ता निकटता ः
सन् २००१ को आसपासमा जन्मिएका मिलेनियल्ज पुस्ता वा सन् १९९० पछि जन्मिएका जेनजी पुस्ता अहिलेका युवा शक्ति हुन । यिनको जनसंख्यामा मूल हिस्सा छ र मतदानको हिसावले यिनले निर्वाचनमा ठुलो प्रभाव पार्दछन । यी पुस्ता प्रविधिमा आधारित संचारमा अभ्यस्त हुन्छन र यिनको देशभित्र मात्र नभएर विश्वव्यापी भर्चुअल सम्बन्ध रहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बौद्धिकतामा आधारित अवको पुस्तालाई राजनीतिले मूल धारमा ल्याउन सकेन वा ती पुस्ताको चासो र सरोकारलाई राजनीतिले सम्वोधन गर्न सकेन भने राजनीतिक परिदृश्य अनपेक्षित रुपमा परिवर्तन हुन्छ ।
सामाजिकीकरणको प्रक्रियामा वा राजनीतिक प्रक्रियामा ब्यक्तिले आफ्नो पुस्ता वा आफ्नो नजिकको पुस्ताको खोजी गर्दछ । नजिकको पुस्तासंग ब्यक्तिको भावनात्मक सम्बन्ध बलियो हुन्छ । जेनेरेशन निकटताबाट जोडिएनन् भने जेनजी हुन वा युवा राजनीतिबाट अलग हुँदै जान्छन र फरक धार वा समुहमा आवद्धता बढ्दै जान्छ । यदि हामीले प्लेटफर्म उपलब्ध गराउन सकेनौ भने बुवा वा आमा कुनै राजनीतिक विचारधारा वोक्यो भन्दैमा नयाँ पुस्ता त्यही विचारलाई स्वीकार गर्दछ भन्ने परिवेश पूर्णतः परिवर्तन भएको छ । अवपनि राजनीतिक रुपमा स्थानीय तह, संसद र सरकारमा नयाँ पुस्ताको चाहना अनुरुपको नेतृत्वलाई अवसर प्रदान नगर्ने हो भने परम्परागत राजनीतिबाट युवा विचलित हुने निश्चित छ ।
मुद्दा वा एजेण्डा प्रधान ः
कुनैपनि उमेर समुहका ब्यक्तिहरुलाई आजीवन उही विचारधारामा अड्याउने अवस्था अव रहदैन त्यसका लागि हरेक पार्टीको गतिशीलता अत्यन्त महत्वपूर्ण छ । नेपाली राजनीतिमा सर्वाधिक सुनिएका राष्ट्रियता, लोकतन्त्र, समाजवाद,जनजीविक, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्धको आन्दोलन अव पुराना भईसके ।
अवका पुस्ताहरु संविधानको कार्यान्वयन वा संविधानको संस्थागत विकास, स्थिर सरकार लगाएका नारामा कुनै आकर्षण देख्दैनन । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विदेशिनु अवस्थाको अन्त्य, २० देखि २५ प्रतिशत युवाशक्ति रोजगारको लागि विदेशमा रहेका छन, तिनको राजनीतिक सहभागिताको प्रश्न, रेमिटेन्सको सामाजिक साँस्कृतिक मुल्यको प्रश्न, जन्मदेखि मृत्युपर्यन्त राज्यको संरक्षणको आभास र प्रत्याभूतिलगायतका मुद्दाहरु सम्वोधनको आवश्यकता युवाले खोजी रहेको छ ।
तिव्र पूर्वाधार विकास ः
पर्यापर्यटन, साहसिक पर्यटन, नदीनालाहरु थुनेर तालतलैया विकास, जलविद्युत, पूर्वपश्चिम, उत्तर दक्षिण रेलवे यातायात र नदी करिडोरमा आधारित यातायात संजालीकरण लगायतका पूर्वाधार विकासबाट ग्रामीण बस्तीहरुलाई स्थायी बनाउन तथा जीवनयापनलाई उन्नत बनाउन सकिन्छ । यस्तै विकासको अगुवाई र निरन्तरता नै राजनीतिबाट खोजिएको नयाँपन हो ।
आर्थिक पाटोको सुधार ः
अनौपचारिक क्षेत्रमा रहेको स्रोतसाधन माथि नियन्त्रण, दलाली तथा मध्यस्थताको अन्त्य, जनता माथिको ऋणको भारलाई हटाउने, प्रतिब्यक्ति आम्दानी बढाउने, जीवनस्तर र गरिवीको अवस्थामा सुधार राजनीतिक क्षेत्रबाट गरिएका नयाँ अपेक्षा हुन ।
सुरक्षा र अपराध नियन्त्रण ः
आत्महत्या, दुर्घटना, लागुऔषध, बलात्कार, यौननजन्य दुब्र्यवहार र चोरी तस्करी लगायत सार्वजनिक सुरक्षाका चुनौती बढ्दो छन । अपराधका आधुनिक शैली र प्रवृतिले थप सुरक्षा चुनौती सृजना गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रणमा नयाँपन अहिलेको नागरिकको खोजी बनेको छ ।
राजनीतिक पेशाबाट सेवामा रुपान्तरण ः
राजनीति पेशाविहीनहरुको पेशा भयो । यसको शुद्धीकरणका लागि विना पेशाको मान्छेलाई राजनीतमा प्रवेश नदिने, राजनीतिक लाभको पदमा पटक पटक अवसर लिने संरचना र ब्यवस्था निलम्वन गर्ने । स्थानीय तहका निर्वाचन दलगतभन्दा माथि उठेर भाग लिने ब्यवस्था अंगिकार गर्ने । पछिल्लो अवस्थालाई नियाल्दा राजनीतिमा आउने सभ्रान्त वर्ग हुन वा पेशा बनाउने वर्ग हुन समाजमा नयाँ बर्गीय विभाजन ल्याएको छ । राजनीतिकर्मी र जनता तथा नागरिकवीचको सेवासुविधा र वर्गीय विभाजन मेट्नु राजनीतिमा खोजिएको नयाँपन हो ।
समयले कोल्टे फेर्यो ः
देश बन्दा वा नबन्दा त्यसबाट सवभन्दा बढी प्रभाव कसलाई पार्दछ । नागरिकले कानुनले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न नपाउँदा कसलाई दोषारोपण गर्छन भन्ने विषयलाई केन्द्रमा राखेर राजनीतिक गति र दिशा तय गर्नुपर्ने वेला आयो । नयाँ भनेको यही भाद्र २४ र २५ गतेको पुस्ताको आवाज हो । श्रम, शिक्षा वा अन्य कुनै पनि वहानामा विदेश पठाएर रेमिटेन्स वा अन्य प्राप्तीमा सन्तोष मान्ने समयले कोल्टे फेरेको छ । देशमा असल प्रणालीको विकास सहित सुशासन वृद्धिबाट स्वाभिमान र स्थापित हुन सकोस, राजनीतिक व्यवसायको सट्टा सेवाको रुपमा स्थापित होस लगायतको परिवर्तन र सुधारको अपेक्षा राजनीतिमा खोजिएको नयाँपन हो ।
अन्त्यमा लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, राजनीतिक दलको विकल्प सुधारसहितका राजनीतिक दल नै हुन । तसर्थ राजनीतिक दलले जनतामा नैराश्यता अन्त्य हुनेगरी कामलाई अगाडी बढाउन नसक्नु आजको विद्रोहको अवस्था हो । अव नागरिक श्रद्धा र सम्मान अभिब्यक्त हुने अवस्था सृजनागरी राजनीतिमा नयाँपन दिनैपर्ने कुरालाई सामान्य ठानिनु हुंदैन ।