विकास भट्टराई
कुनै पनि क्रान्तिले अर्थतन्त्रलाई नयाँ सम्भावना दिन्छ, साथ साथै चुनौती पनि । त्यसैले क्रान्ति पछि कुन आर्थिक मोडेल रोज्ने? भन्ने प्रश्न नै मुलुकको भविष्य निर्धारण गर्ने निर्णायक आधार हुन्छ । अब समय र बहस त्यता केन्द्रित गरौँ ।
क्रान्ति भनेको केवल सडकमा उठेको नारा वा शासन फेरबदल मात्र होइन, यो त पुरानो संरचना ढालेर नयाँ बाटो खोज्ने अवसर हो । जब पुरानो ढाँचा भत्किन्छ, देश एक किसिमको खाली अवस्थामा आइपुग्छ । त्यस्तो खालीपनमा कुन दिशा रोज्ने भन्ने निर्णय नै मुलुकको आगामी यात्रा तय गर्ने मुख्य आधार हुन्छ ।
नेपालको सन्दर्भमा क्रान्ति धेरै पटक आएको छ । तर समस्या के भयो भने, सत्ता परिवर्तन त भयो, तर आर्थिक संरचना भने उस्तै रह्यो । किसान अझै बजारमा परनिर्भर, युवा अझै रोजगारीको लागि विदेशीन बाध्य, श्रम अझै सस्तो र अपमानित । यसरी जनताले आशा गरेको परिवर्तन केवल भाषणमै सीमित रह्यो । त्यसैले अब आवश्यक छ, सत्ता भन्दा माथि उठेर नयाँ आर्थिक दर्शन रोज्ने ।
यदि फेरि उही आयातमुखी र उपभोगमुखी बाटो दोहोर्याइयो भने, यो क्रान्ति पनि पुरानै हारको पुनरावृत्ति हुनेछ । तर यदि हामीले उत्पादनलाई प्राथमिकता दियौं, श्रमलाई सम्मान ग¥यौं, किसानलाई भूमिमा गर्वका साथ उभ्यायौं, युवालाई आफ्नै देशमै अवसर देखायौं भने मात्र क्रान्तिको अर्थ छ । क्रान्तिको सार्थकता जनताको जीवनस्तरमा प्रत्यक्ष देखिनुपर्छ जस्तै पेटभरिको खाना, उपचारमा भरोसा, शिक्षा र रोजगारीको अवसर ।
क्रान्ति पछि उठ्ने मूल प्रश्न हो, अब हामी कुन बीउ छर्ने? किनकि आज छरिएको बीउले भोलि फल दिन्छ । पुरानो बीउ छ¥यौं भने फल उस्तै आउँछ, नयाँ बीउ छ¥यौं भने मात्रै बगैँचाको स्वरूप बदलिन्छ । त्यसैले अब बहस कसले शासन गर्छ भन्ने होइन, शासनले कुन आर्थिक बाटो रोज्छ भन्ने हो ।
यही कारण अहिलेको क्षणलाई निर्णायक भन्न सकिन्छ । यदि हामीले साझा दृष्टि बनाएर आत्मनिर्भर, उत्पादनमुखी र न्यायपूर्ण मोडेल रोज्यौं भने, क्रान्तिले दिएको बलिदान र त्याग व्यर्थ हुने छैन । तर यदि फेरि हचुवाको भरमा अगाडी बढियो भने, भविष्यले यसलाई केवल अर्को असफल प्रयासका रूपमा सम्झिनेछ ।
त्यसैले, क्रान्तिले दिएको ऊर्जा खेर जान दिनु हुँदैन । यो ऊर्जा प्रयोग गरेर मुलुकलाई श्रमको सम्मान, सीपको मूल्य र उत्पादनको गर्वमा रूपान्तरण गर्न सकियो भने मात्रै हामी भन्न सक्छौं क्रान्ति सफल भयो, अब मुलुक नयाँ युगमा प्रवेश ग¥यो ।