यस बर्षको बडा दशैंको आज पाँचौं दिन भैसक्यो । कहिले भुकम्प, कहिले कोरोना महामारी, कहिले वैश्विक युद्ध त कहिले देश भित्रैको अराजकता र आतंकले थल्लिएको नेपाली अर्थतन्त्रमा त्राण आउन पाएको छैन । यसैमाथि भ्रष्ट र सत्ताका राजनीतिक लम्पटहरूको चरित्रले आक्रोशित बनेको नेपाली समाजभित्र विदेशीको स्वार्थको जेली लगाएर जेनजिको नाउँबाट उफारिएको आन्दोलनले देशको झण्डै अस्मिता नै मेट्ने गरि देशभरि राज्यविहिनताको अवस्था बनाइदियो । देशका अनेकौं नीजि सार्वजनिक र सरकारी सम्पत्ति र सम्पदा माथि भएको आक्रमण आगजनी आदिले देशमा गरिखाने वातावरण छैन र कुनै उद्यमीले उद्यम गरेर केहि जोरजाम गरेको छ भने पनि त्यो कुनैपनि बेला यस्तै प्रायोजित षडयन्त्रकारिहरूको शिकार बन्न सक्छन् भन्ने नजिर बसिसकेको छ ।
२०५२ सालदेखि जसरी यो समाजका स्वदेशी उद्यमीहरूमाथि जाइ लाग्ने र उनीहरू भनेका लुटेरा हुन, यिनलाई दुई फुट छोट्याउनुपर्छ, यिनको जायजेथा लुछेर हडप्नुपर्छ भन्ने जुन सोचको विकास भएको थियो त्यसमा पछिल्लो एक दशकमा केहि न केहि परिवर्तन आइरहेको थियो भने नेपाली अर्थतन्त्रमा अलिकति विश्वासको वातावरण बन्न लागेको हो कि हो कि भनेजस्तो भै रहेको थियो । तर अचानक पुनः नेपालभित्रका स्वदेशी लगानीका उद्यम र उद्यमीहरू माथि आक्रमण भयो यसले नेपालको अर्थतन्त्रको अबको दिशा कस्तो हुने भन्ने ठूलो प्रश्न उठाएको छ । यस्तै अनिश्चयका बिच यसबर्षको बडा दशैं मुखैमा रहेको छ ।
मैले २०७९ को निर्वाचन पछिको दशैंको आफ्नो नियमित स्तम्भमा नेपालको अर्थतन्त्र र राजनीतिको बाटो पाकिस्तानको बाटोमा जाँदैछ भन्ने अनुमान सहितको लेख लेखेको थिएँ । आज त्यो अनुमान सत्य साबित भएको छ । देशको राजनीति संविधान भन्दा बाहिर सडकबाट चल्न थालेको छ भने अर्थतन्त्रका सबै अवयहरू नेपाल लगानजीको लागि उपयुक्त ठाउँ होइन भन्नेतिर गएको छ । यहाँ अब न कुनै राजनीतिक इमान्दारिता बाँकी छ, न सुशासन र लगानीमैत्री वातावरण छ । न यहाँ राज्यको कुनै भिजन देखियो न देशभित्रका उद्यम र उद्यमीहरूको संरक्षण र सुरक्षा देखियो । यो अवस्था भनेको कुनैपनि देशको लागि सबैभन्दा घातक अवस्था हो । यस्तो घातक अवस्था र समाजिक वैवनश्यताको बीच यसबर्षको बडादशैंको बजार अर्थतन्त्र सेलाउनु स्वभाविक नै हो ।
नेपालको भौगोलिक अवस्थाले यहाँको यातायात क्षेत्र सबै मौसममा सहज हुन सक्दैन । बडा दशैंको मुखमा देशको राजधानी नै जोड्ने मुख्य राजमार्ग नै बन्द छ । दशैं विदामा घर जाने र चाडवाड मनाउने नागरिकको इच्छामा राजमार्गको अवरोधले बिराम जस्तै लगाइदिएको छ । राज्य यतिसम्म भ्रट भैसकेको छ कि यसले कुनैपनि आयोजना न त समयमा सम्पन्न गर्छ न दिर्घकालिन रूपमा बलियो र भरपर्दो नै बनाउँछ । यसको सबै मार खेप्ने जनता र यो राज्यलाई बिभिन्न तरिकाले करतिर्ने व्यवसाय परेका छन् ।
दशैंको किनमेल आफ्नै देशभित्र गर्ने गराउने कुनै वातावरण बनाउन नेपाली सत्ता कहिल्यै गम्भीर बनेन । यहाँ त तीनतिर तन्नम खुला रहेको सीमापारिका बजारमा पाइला राख्ने ठाउँ नहुनेगरि आफ्ना नागरिकले किनमेल गरेको टुलुटुलु हेरेर बस्छ फेरिपनि ठूल्ठूला कुरा गर्छ यो राज्य ।
विप्रेषणमा आधारित रहेको नेपाली अर्थतन्त्र र त्यो विप्रेषणको रकम खुरुखुरु सीमापारिका बजारमा पोखिएमा कुनै ऐया न आछ्छो हुने सरकार भएको देश नेपालमा कसले लगानी गर्ने र किन गर्ने भन्ने प्रश्न जटिल छ । जसले लगानी लगाउँछ त्यो यहाँ टिक्न सक्दैन भने उसले पनि बाटो समात्ने भनेको बजारलाई अस्वस्ध बनाउने नै हो या पलायन नै हुने हो । यसैले त आज बैंकहरूमा तरलताको भरमार छ, निक्षेपमा ब्याज न को बराबर छ, उद्यमीको ब्यापार छैन अनि ऋण लिने मान्छे छैन । आन्तरिक बजार सुतेर बसेको छ । उत्पादन न को बराबर छ । अलि अलि लगानी सबै आयात ब्यापारमा मात्रै लागेको छ । सरकार स्वयं अण्डर बिलिङ् गरेर पूँजि पलायन गराउने र तस्करी गर्ने कामलाई परोक्ष रूपमा प्रोत्साहन गर्नमा अलिकति आउने भन्सार रकममा मख्ख छ ।
नेपालको अर्थतन्त्रको लयलाई विदेशतिर अर्थशास्त्र पढेर आएका सल्लाहकारहरूले डा्रयाए । यहाँको धरातलिय यर्थात तिनिहरूले बुझ्न सकेनन् । उनीहरूलाई नेपाली अर्थतन्त्रको चाललाई विदेशीको चश्माले हेर्ने र निकै ठूला आर्थिक जानिफकार कहलाउने नशामा उन्मत्त रहे । त्यो आजपनि निरन्तर जारी छ । ब्यापारिक “बिग हाउस थ्योरी” र विकासमा “बिग प्रोजेक्ट थ्योरी” को सिद्धान्त अँगालेर नेपाली अर्थतन्त्र चल्नै सक्दैन भन्ने नेपालमा अहिले आएको आर्थिक संकुचनले प्रष्ट पार्दा समेत यसलाई सरकार र यसका योजनाकारहरूले स्वीकार गर्न चाहेको देखिँदैन ।
नेपाली अर्थतन्त्रको बिषेशता नै मौलिक चाडपर्वसँग अनन्योश्रित सम्बन्ध भएको अर्थतन्त्र हो । राजनीतिले सनातन सँस्कृति र परम्परालाई जतिसुकै नास्तिकवाद भन्ने र यस बिरुद्धको अलाप गरेपनि नेपाली अर्थतन्त्रको धमनी भनेको नेपालका मौलिक चाडपर्व, यहाँको परम्परा र सँस्कृति नै हो । यो कुरालाई जोसुकैले जत्रो कालो पर्दा हालेपनि छोप्न सक्दैन । कतिपयलाई नेपाली मौलिक चाडपर्व यसका महत्व र आयामहरू प्रति घृणा होला, पूर्वाग्रह होला तर नेपालको मात्रै होइन संसारको कुनैपनि देशको बजार अर्थतन्त्र कुनैपनि हालतमा त्यहाँको मौलिक चाडपर्व, परम्परालाई निषेध गरेर, अपमान गरेर अगाडी बढ्नै सक्दैन ।
नेपाल साँस्कृतिक विविधता भएको देश हो । यो भूमि देवभूमि तपोभूमि पनि रहेकोले यहाँ बिभिन्न किसिमका देवी देवलहरूमा पूजा प्रार्थना हुने गर्छ । हरेक समुदायका साझा र एकल चाडवाडहरू रहेका छन् । यहाँका साझा चाडवाडहरूमा संयुक्त उत्सव मनाउने मात्रै होइन कि एकल चाडवाडहरूमा समेत सहभागी हुने, बधाई साटासाट गर्ने, एक अर्काका साँस्कृतिक र परम्परागत उत्सवहरूको रमाइलोमा सक्रिय सहभागी भएर रौनक थप्ने समेत गर्ने परम्परा रहेको छ । नेपाल समाजिक कित्ताकाट र घृणावादको भूमि कहिल्यै रहेन र हुन सक्दैन । यो भूमि सहृदयतावादको केन्द्र हो र नेपालीको शान्ति अमनचयन, विकास र समृद्धिको लागि सहृदयतावाद नै जिवन्त रहनुपर्छ ।
नेपालमा हरेक महिनाजसो कुनै न कुनै साँस्कृतिक या धार्मिक पर्व परेको हुन्छ जसलाई समय, स्थान बिषेश आदिका आधारमा महत्व दिएको पाइन्छ । यस्तै चाडवाड या पर्वहरूको समष्टिगत रूपमा महापर्व, महाचाड, साझा चाडको रूपमा बडादशैं र तिहार छठ आदि रहेका छन् । यी चाडहरूमा गरिने खर्चले नेपालको उपभोक्ता बजारको ठूलो कारोबार थेग्ने गरेको छ ।
आर्थिक बर्षको पहिलो दिनबाट शुरु हुने नेपाली मौलिक चाडहरूले नेपालको बजार अर्थतन्त्रमा ठूलो भूमिका खेलेका हुन्छन् । मौलिक चाडहरूले देशको अर्थतन्त्रमा त्राण भर्छन । दशैं तिहारमा यो चरमोत्कर्षमा पुग्छ । माघे संक्रान्तिबाट यसमा बिस्तारै शिथिलता आउन थाल्छ । यसले के प्रष्ट हुन्छ भने नेपालको उपभोक्ता बजार अर्थतन्त्रको धमनी भनेको नै नेपालका चाडपर्वहरू नै हुन् । तर यहाँ यो कुरालाई न त वर्तमान सत्ता सञ्चालकहरूले स्वीकार गर्छन न नेपालको प्रगतिशील भनिने बुद्धिजिवीहरूको ठूलो जमातले स्वीकार गर्छ । वामपन्थीहरूलाई त नेपालका चाडपर्वहरू, यसमा दिइने विदाहरू, मनाइने उत्सवहरूले भत्तति पोल्ने गर्छ । कसरी यी चाडपर्वहरूको उछितो काढ्ने, अपमान गर्ने र कथित क्रान्तिकारी बन्ने भन्ने होडबाजी चलिरहन्छ । यिनीहरूको लागि नेपालमा क्रान्तिको परिभाषा नै नेपाली मौलिक चाडपर्वहरू, यहाँको मौलिक परम्परा र साँस्कृतिक उत्सवहरूको उछितो काढ्नु मै सीमित रहेको पाइन्छ ।
नेपालमा मात्रै होइन संसार मैं मानिसलाई कुनैपनि किसिमको खर्च गर्न चाहना भन्दा पनि बहाना चाहिन्छ । बाहनाले चाहनाको सृजना गर्छ । यसैको आडमा बजार चलायमान हुने हो । नेपालमा खर्च गर्नका लागि यस्तै प्रत्यक्ष बाहनाको पनि प्रचलन छ । हो हाम्रा यी चाडपर्वहरूको बहाना नै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भएपनि अति महत्वपूर्ण छन् किन नभन्ने ? गैर रैथाने धार्मिक, गैरमौलिक गैर रैथाने साँस्कृतिक पृष्ठभूमि भएकाहरू र नेपालीपनलाई यहाँको साँस्कृतिक परम्परालाई सत्तोसराप गर्नेहरू र न्वारनको बल लगाएर जिन्दगी भरिको अध्ययनको हरेक शब्दशब्द खर्चेर उछितो काढ्नेहरूको पनि चुलो बल्ने वा ब्यापार चल्ने भनेको पनि नेपालका मौलिक रैथाने चाडपर्वहरूको बहानामा नै हो । यो सत्य कसैले चाहेर पनि लुकाउन सक्दैन ।
नेपालमा पछिल्ला दिनहरूमा साना उद्यमी ब्यापारीहरूलाई बिस्थापन गराउने काम भयो । यसपटक प्रायोजित षडयन्त्र नै गरेर आक्रमण गर्ने र यहाँ लगानीको लागि उपयुक्त वातावरण छैन भन्ने न्यारेटिभ सेट गर्न खोजिएको छ । यसलाई राज्यले भोलिका दिनमा कत्तिको चिर्न सक्छ त्यो हेर्न कुर्नै पर्नेछ ।
सीमावर्ती क्षेत्रमा पछिल्ला केहि दशकमा चलाइएको परधार्मिक अतिवाद, सरकारी जग्गा, भवन देखि प्रशासन कार्यालयहरू नै कब्जा गर्ने अतिवादीहरूको दुस्साहसले नेपालमा यस्तो अर्को विध्वंसको योजना बनिरहेको छ भन्ने संकेत नदिएको होइन तर राज्य भागबण्डा र कमिशनको गद्दा बिछाएर मस्त निद्रामा रह्यो । २०५२ देखिको नेपाली मौलिकता मास्ने अभियान र २०६३ देखिको क्षेत्रियतावादी आन्दोलनले गराएको पलायनको घाउमा अझै राम्रोसँग खाटा बसेको छैन फेरि धार्मिक अतिवाद र क्रान्तिको नाउँमा विनास विध्वंश गरेर अर्को घाउ पार्ने र उद्यमशिलता पलायन गराउने प्रपञ्च शुरु भएको छ । यो आफै निर्माण भएको परिििस्थति हुँदै होइन ।
यी सबै अवस्थाहरू नेपालको अर्थतन्त्र, नेपाली समाजमा रहेको शान्ति र सुव्यवस्था, नेपालको अमनचयन, र राष्ट्रिय सुरक्षाको लागि ठूलो खतरा हो । यसले यहाँको विकास मात्रै होइन नेपालको रैथाने चाडपर्व केन्द्रित अर्थतन्त्रमा समेत ठूलो असर पुर्याएको छ । यसपटकका ठूला चाडवाडले देशमा कुनै रौनकता ल्याउने छाँट देखाएन । कुनै न कुनै कारणबाट विगतका बर्षहरूमा पनि हाम्रा चाडपर्वहरू मौलिकताच्यूत हुँदै गैरहेका छन् । यो भनेको कतै न कतै नेपाली रैथाने चाडपर्व विरोधीहरूका लागि अनुकुल अवस्था बनेकोमा उनीहरू खुशी भएका छन् ।
यो बर्षको विध्वशंले देशमा राज्य र प्रशासनको उपस्थिति समाप्त भयो । यसको असर तराईका जिल्लाहरूमा सीमापािरका चोर डाँकाहरूको बिगबिगी बढेको छ । मानिसहरू चाडपर्वको खरिदारी गर्ने मनाउने भन्दा पनि आफ्नो ज्यूधनको सुरक्षा कसरी गर्ने भनेर चिन्तित बनेका छन् । बाटोघाटोको दुरावस्था र चोरडकैतीको संत्रासले घर छोडेर चाडवाड केन्द्रित घुम्न जाने अवस्था नहुँदा यसपटक आन्तरिक पर्यटनमा ठूलो संकुचन आउने देखिएको छ । यो संत्रासले नेपालको सिंङ्गो अर्थतन्त्रलाई नै भंयङ्कर असर गर्नेछ । नेपाल नै सहृदयताको नेपाल रहने वा नरहने र नेपालको मौलिकतामा रमाउने दिन रहने वा नरहने भन्ने कुरा नेपालका मौलिकता विरोधी शासकहरूको चरित्रको निरन्तरता र यिनको ब्यवहारमा नै निर्भर रहनेछ । हाम्रा दशैंतिहार केन्द्रित अर्थतन्त्र समग्रमा भन्ने हो भने संकुचनको दिशातिर गैरहेका छन् र यो क्रम निरन्तर जारी छ ।
यस्तो आर्थिक समाजिक, आन्तरिक लगानी र गरिखाने वातावरणको संत्रासको बीच मनाउन लागिएको यो बडा दशैं २०८२ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक एवं मंगलयम शुभकामना ।