निराशा विभिन्न प्रकारका थिए, प्रत्येक ब्यक्ती निराश देखिन्थे, त्यो निराशा युवामा नहुने कुरै भएन, केही चरम निराशा त केही थोरै थोरै भएपनी केही आशापनी । यो एक ब्यक्ती, एक परिवार, एक समाज र एक देशको मात्रै थिएन यो सन्सार भरी नि उस्तै उस्तै थियो ।
के कारणले यति निरास विश्व भयो होला मानवशास्त्रीय र समाजशास्त्रीय अध्ययन लामै अध्ययन अनुसन्धान हुनुपर्छ भन्ने लाग्छ । म यहाँ गहिरा बिषय भन्दापनी मैले र म जस्तैले देखेका र भोगेका बिषय खोतल्ने प्रयास गर्नेछु ।
हामी ४ दशक पुगेकाले बिश्वयुद्ध सुन्यौ, हेर्न पाएनौ, इराक र कुवेत धमिलो सम्झनामा होला कसैकसैलाई, बाकी बिश्वको बारेमा नेपाल टेलिभिजनमा दुर्गानाथ शर्माले लय मिलाएर भन्ने गरिएको बिश्वघटना टेलिभिजन कार्यक्रम बाहेक त्यति अनुभवहरु हामीसङ्ग ताजा छैन । पछिल्लो ३ दशकका केही र पछिल्लो डेढ दशकको घटनाहरु भने हामी अत्यन्त नजिकबाट आफै साक्षात्कार र सहभागी हुनपायौ । यो राजनीतिक, आर्थिक र सामाजिक बिकासक्रमले गर्दा नै पाएका हौ । हामीले २ दशक मै प्रबिधिको चरम उपयोग गर्ने मौका पाएका छौ, बिकासका अनेकौ आश्चर्य हेर्न पाएका छौ । हामी ले नै मोटरसाइकल देख्दा पछि लाग्ने, गाडिलाई माला र पन्चेबाजाले स्वागत गर्ने देखेकै हौ ।
यो बिकाससङ्गै बिनास पनि उत्तिकै देख्यौ, सिरिया होस या सुडान, गाजा प्यालेस्टाइन होस या युक्रेन या अफगानिस्तान यस्तै नेपालको जनयुद्ध, कोभिड १९, नेपालले भोगेको मधेश आन्दोलन र नाकाबन्दी कतै ४ दशकदेखिको यो सबै घटानाक्रम नै त होईन निराशाका कारणहरु?
यो लेखमा भर्खरै भएको जेन जि आन्दोलनको पृष्ठभूमि के हुनसक्ला त यत्रो चरम निराशाका जडहरु के के हुनसक्लान भन्ने बिषयको एउटा सानो पाटो मात्रै हो ।
जेन जि हो चाहिँ के त?
भाद्र २३ अगाडि छिटपुट रुपमा यो शब्दमा बहश र कुराकानी भएको भए पनि यति सतहमा छलफल हुने गरि आएको चाहिँ भाद्र २३ गते जेन जि युवा सडकमा प्रदर्शनका लागि आउने भनिसकेपछी हो अझ तलसम्म पुगेको चाहिँ प्रदर्शन उग्र र केही युवाहरुले शहादत प्राप्त पछि हो ।
नेपालमा अधिकाम्श बहश जेन जि भनेको उमेर समुहमा लगेर टुङ्गिएको छ र थोरै बहस अहिलेको सुचना प्रबिधी बिज्ञानसङ्ग जोडिएको छ । खासमा यो अढाईदशकमा सुचना प्रबिधिले मारेको फडकोसङ्गै जन्मेको पुस्तालाई यो उच्चतम प्रबिधी युगका रुपमा जेन जि भनिएको हो । त्यसैले ४ दशक कटेका हामी र यो अढाईदशक भित्र जन्मेका तिमी पुस्ता प्रबिधिको उच्चतम प्रयोग मात्रै फरक हो । यो लेखमा भाद्र २३/२४ को घटना विशेष भन्दापनी हामी पुस्ता र तिमी पुस्ताको राजनिति परिवर्तन अन्तर्न्यको बहशको एउटा हिस्सा मात्रै हो ।
हामी पुस्ता
अहिलेको जेन जि पुस्ता (युवा समूह) भन्दा अगाडीका हामी पुस्ताले जत्तिको राजनीतिक सङ्क्रमण अन्य पुस्ताले कम भोग्यो होला । केही नभएर दु:ख हुनु, गार्हो हुनु र दु:ख पाउनु फरक फरक व्याख्या हुनसक्छ । हामी पुस्ताले नभएर पनि दु:ख पायो, भएर पनि दु:ख पायो ।
चालिसको दशकका पुस्ताले गाडी देख्यो, बत्तिबिजुलि र भर्खर टिभी देख्यो, कर्म गर्दैजादा पचासको दशकमा कम्युटर र ईन्टरनेट देख्यो, कतिले शुरूवात देखि प्रयोग गरे त कतिले पचासको दशकका अन्तिममा देख्यो र प्रबिधिसङ्ग बल्ल अभ्यस्त हुदैछ, अझैपनी हामी पुस्ताका कतिपयलाई अतिसरल प्राबिधिक ज्ञान कै पनि कमी छ, ईन्टरनेट साक्षरता कै खाचो छ । युट्युब हेर्न जानेर मात्रै भएन, एसएमएस र क्यु आर गर्दा पैसा जान्छ तान्छ भन्ने पुस्ता नै हामी हौ ।
यो पुस्ताले ०४६ सालको आन्दोलन्लाई केहिले आखैले, केहिले रेडियो, त केहिका बा-आमाले भनेर थाहा पाए, ०५२ साल माओबादिले शुरु गर्दा, मध्यावधि हुँदा नारा जुलुस सुने, रमाए । जब सङ्कटकाल लाग्यो हामी पुस्ता पनि त्यसमा समाहित भयो कोहि आन्दोलनमा लागे त कोहि भुमिगत भएर ।
हामी पुस्ताको हातमा अलेली मोवाईल आइस्स्केको ईन्टरनेट थाहा भैसकेको SLC परिणाम हेर्न साईबर क्याफेमा लमतन्न पास भए जतिपनी तिर्न फेल भए १० रुपैया तिर्न तयार भएर उभिएको पुस्ता हो । ईन्टरनेट मिनटको ५ रुपैया तिरेर याहु र मेसेन्जर चलाएको पुस्ता, झगडा गरेर जागिर खाएको पुस्ता, बल्लबल्ल ब्याचलर शुरु गर्दा धेरै पो पढिसकेछु कि क्या हो भन्ने हामी पुस्ताले आन्दोलन शुरु गर्यो खुल्ला । त्यही आन्दोलनले ०६२/०६३ नाम पायो, सदियौदेखिको बंशबादको “शाह” खलक राजा हुने परम्परा टुङ्गाईदिएर जनताको छोरो पनि राज्यको सर्बोच्च पदमा पुग्नसक्छ भन्ने बुझाईदियो ।
हो, हामी पुस्ता त्यही हौ जस्ले एउटा सस्कार, एउटा मान्यता, एउटा संरचना, एउटा गतिलाई “ब्रेक” लागादिने पुस्ता हौ र थियौ । यो परमपरागत राजनितिक विधि प्रकृया र शाशनलाई ढाल्ने पुस्ता थियौ । यो प्रकृयामा सबैका आ-आफ्नै इतिहास, व्याख्या, विश्लेषण र तथ्य होलान । हामी पुस्ताले जन्माएका नेतृत्वहरु अहिले हरेक संरचनामा छन, त्यही हामी पुस्ताले ल्याईदिएको लोकतान्त्रिक गणतन्त्रमा । यस्मा हामी पुस्ता जस्ले जे भने पनि गर्व गर्न लायक पुस्ता हो । म गर्व गर्छु म हामी पुस्ताको हिस्सेदार हो ।
तिमी पुस्ता
तिमि, हामी पछिको पुस्ता हो । तिमिलाई उहीँ दाईदिदी, बा-आमा, काका काकी अथवा परिवारले भनेपछी राजनीतिका बिषयमा जानकार भएको । अझ हामी पुस्ताले ठूलो गल्ती गरेको थियो “बालबालिकाले राजनिती बुझ्नु हुदैन” भन्ने भाष्य आफैले हुर्काएका पुस्तालाई जानकारी दिन चाहेन । आफैले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रका बारेमा आफ्ना पुस्तामा जानकार गराउन चाहेन र सकेनन त्यसैले तिमी पुस्तालाई राजनितीक आन्दोलन र यस्ले पार्ने प्रभाव पुर्ण थाहा पाएनौ ।
तिमी पुस्ताले भात खान नमान्दा मोवाईल चलाउन पाएर खादै हुर्कियौ, भनेको कलेज पढ्न नपाउदा अभिभावकलाई अदृश्य त्रास देखायौ, भनेको मोवाईल नकिनिदिदा खाना खाएनौ, मर्दिन्छु भन्ने धम्की पनि तिमी पुस्ताले नै गर्यौ । बजारभरी डुल्दा कफिखाने ठाम भेट्नन हामी पुस्ताले, तिमिले आफ्ना मनपरेका साथिसङ्ग अङ्गालिएर हुक्का र अमेरिकानो र क्याप्चिनोमा रमायौ ।
तिमी पुस्ता बल्ल “इन्टरपर्नरशिप” भन्न थाल्दा हामी पुस्ता बिहान बेलुका कलेज गएर दिनभर काम गरेर तिमी पुस्तालाई “नयाँ” सामन किनिदिने भैसकेको थ्यो । तिमिले वडामा गएर हातले निवेदन लेख्नपर्दा नआएर अलम्लिएर च्याट जिपिटी गर्नपर्दा झोक्किएर वडाध्यक्षसङ्ग र कर्मचारी औला ठड्याउदा हामी पुस्ता नागरिकता बनाउन सातदिनसम्म भौतारिन पर्थ्यो । तिमी पुस्ता १२ कक्षा पढ्दा हातमा राहदानी पनि बनाईसक्छौ, हामी पुस्तासङ्ग अहिलेपनी ६० प्रतिशतसङ्ग पनि छैनहोला राहदानी । तिमिपुस्ताले अमेरिका र युरोप डुल्दा हामी पुस्ता अयोध्या रेल चढेर बिदेश गए भनेर रमाईरहेको पुस्ता हो हामी ।
सहज र सरल, प्रबिधिमैत्री शासन ब्यबस्था हामी न तिमी सबै पुस्ताको चाहना हो । जुन पुस्ताले जे प्रबिधीसङ्ग रमाउने मौका पायो त्यही रमायो, यस्मा कसैलाई बढी र कसैलाई कम भन्ने नै हुन्न । हामी पुस्ता वा अझ अघिल्लो पुस्ता केही नजान्ने र अहिले तिमी पुस्ता उल्कै जान्ने त होईन होला ।
त्यसो हो भने जेन जि पुस्ताले गरेको आन्दोलन, सवाल र मुद्दा अनि हामी पुस्ताको आन्दोलन मुद्दा र सबालमा फरक के हो त? सरल भाषामा त्यो हामी पुस्ताले गरेको आन्दोलन ब्यबस्था परिवर्तन थियो, तिमी पुस्ताले गरेको आन्दोलन (शुरुवात) अबस्था परिवर्तन थियो । हामी पुस्ताले राज्यका सम्पतीमा न्युन क्षती पुर्याएर नै ब्यबस्था परिवर्तन गर्यो । तिमी पुस्ताले खरबको ध्वश र मानबिय क्षतिमा परिवर्तन गर्यौ । अझ तथ्यमा व्याख्या विश्लेषण हुदैजाला इतिहासमा । एउटा गहिरो छाप बन्यो देश खरानी बनाएर परिवर्तन, भलै यस्को दुरगामी प्रभाव असर सकारात्मक र नकारात्मक हेर्न भने हामी पुस्ता बुढ्यौली भएसी र तिमी पुस्ता हामी हुँदा थाहा होला ।