संवेदना मानिसको जन्मजात गुण हो। र, यो उसको पहिलो र विशिष्ट पहिचान पनि हो। संवेदना नभएको मानिसलाई ढुंगा सित तुलना गरिन्छ। मानिस भएर जन्मे पछि मानिसले आफ्नो पहिचानलाई सार्थक पार्न प्रकृति, प्रवृत्ति र परिस्थितिहरूसंग जीवनपर्यन्त संघर्ष मात्र गर्दैन कि आफु निकट र परका व्यक्ति र समाजसंग पनि सुमधुर समबन्ध कायम गर्ने निरन्तर प्रयास गर्दछ । र, त्यस क्रममा ऊ कति सफल भयो भन्ने कुरा सम्बद्धहरूले मूल्यांकन गर्छन्।
वर्तमान अवस्थामा धेरै उपलब्धिहरूको साथ-साथै थुप्रै समस्याहरूको भारी बोक्दै मानिस आफ्नो जीवन व्यतित गर्न बाध्य छ । आज राम्रो घर , आदर्श परिवार र शिक्षित समाजको एउटा सदस्य भएर पनि मानिस आफ्नो जीवन प्रति विश्वस्त हुन सकिरहेको छैन। भोलि के हुने हो ? भन्ने कुरामा कोही पनि निश्चित हुंदैन। तर, योजना बनाएर हिँड्नेहरूको जीवनले पनि कहिले , कता र कसरी कोल्टे फेर्छ भन्ने कुराको अनुमान लगाउन उनीहरू असफल भएको पाइन्छ।
हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति र परिवार छन, जसका घरबार, परिवार र तिनका जीवनशैली देखेर धेरैलाई लोभ लागेको हुन सक्छ। कतिपयले त मनमनै उनीहरू जस्तै हुन पाए हुन्थ्यो भन्ने कामना पनि गरी सकेका हुन्छन्। तर, हरेक चम्किलो कुरा हिरा हुँदैन। नेपाली समाजलाई ध्यानमा राखेर भनिएको एउटा प्रचलित उखान छ- ‘धाक भन्दा धक्कु ठूलो हिँड्दा खेरी खुट्टै लूलो।’ हामीले लोभ गरेका , लहलहैमा आदर्श ठानेका ती कतिपय व्यक्ति वा परिवार ती उखानकै पात्र त हैनन् ? यी कुरा धेरै पछि हामीलाई थाहा हुन्छ।
एक जना राम्रो आर्थिक अवस्था भएका, परिवारै शिक्षित भएका र उनका आफन्त पनि सबै राम्रा हैसियत भएका व्यक्ति कृष्णप्रसादको जीवन भोगाइ बारे उल्लेख गर्न यो पंक्तिकारलाई आवश्यक लाग्यो। अहिले पनि समाजमा कृष्ण प्रसादको उठबस निकै लोभलाग्दो छ। विगतमा छोरालाई डाक्टर पढाउन र छोरीको विवाह धूमधामका साथ गर्न उनलाई गार्हो भएन। अस्ट्रेलियामा डाक्टर रहेका ज्वाँई संगै छोरी उतै बस्ने भइन। छोरा नेपालमै प्रेक्टिस गर्दै थिए । तर, विदेशमा उच्च अध्ययनको अवसर पाएपछि बुवाआमालाई छोडेर डाक्टर छोरा विदेश गइ हाले। पछि उतै कसैसित विवाह पनि गरी हाले ।
पहिला-पहिला त घरमा आमाबाबुलाई र सन्तानलाई पनि लाग्यो कि- हामी एकअर्का संग टाढा नै कहाँ छौं र ? दुई रातको हवाई यात्रा पश्चात तेस्रो दिन घरकै दैलो टेकि हालिन्छ । यो पनि कुनै दूरी हो र? भन्दै उनीहरूले एकअर्कालाई ढाडस दिन्थे । र, उनीहरू आफैपनि एकदुई पटक छोरी ज्वाँईलाई भेट्न विदेश गए। छोरा पनि बुहारी समेत दुई चार पटक आमाबाबुलाई भेट्न आइसकेका छन । अहिले दैनिक गरिने भिडियो कलले पनि उनीहरूको भौतिक दूरीलाई केही हदसम्म छल्न मद्दत त गरेको छ। तर कति ? भन्ने कुरा छ-सात कोठाको दुई तल्ले घरमा एक्लै बसेका आमाबाबुलाई राम्ररी थाहा छ। कुनै पनि घरलाई बिहान ढोकाको चुकुल खोलेर बाहिर जाने मानिस र राति फर्केर फेरि चुकुल लगाउने मानिस चाहिन्छ। घरको भुईंलाई पदचाप तथा कोठै पिच्छेका भित्ताहरूलाई परिवारका सदस्यहरूका हृदयको स्पन्दन तथा उनका बीचमा हुने कुराकानी चाहिन्छ ।
भिडियो कल त समाजिक सञ्जालले प्रदान गरेको एउटा सुविधा मात्र हो। र,यसले प्रत्यक्ष हुनुको आभास र विश्वास भन्ने कुरामा दुविधा कायम नै राखेको छ। मानिस स्वभावतः एक्लै बस्न सक्दैन। घरमा चहलपहल कायम राख्न घरका केही कोठाहरू बहालमा दिने उनको विचारलाई विदेशमा भएका छोरा र छोरीले पनि सहमति जनाए। केही कोठा भाडामा दिइयो। र,भाडामा बस्नेहरू पनि साह्रै असल परे। तर, भाडामा बस्नेहरू दिनको उज्यालो रहे सम्मकालागि नै त सहारा थिए। राति परेपछि श्रीमान र श्रीमती एउटा कोठामा थुप्रै कथा र ब्यथाका साथ एक्लै रहन बाध्य हुन्थे। यही क्रममा केही वर्ष नबित्दै श्रीमतीको बैकुण्ठबास भयो।
एक्लो भएको बुवा कृष्ण प्रसादलाई भेट्न विदेशबाट छोरी र छोरा अआफ्नो परिवार सहित आए। र, केही दिन बुवासंग बसेर विदेश फिर्ता पनि भए। त्यसबीच उनीहरूले उनलाई आफुसँगै विदेश लैजाने पनि भनें । तर , ‘हामी तपाईंलाई यो हालतमा एक्लै छोडेर अब विदेश जांँदैनौ’ चैं उनीहरू कसैले पनि भनेनन्। धेरै दिन बितेपछि संयोगवश एकदिन उनी एकजना पुरानो मित्रको घर खोज्दै एउटा वृद्ध आश्रम पुगेछन्। वृद्ध आश्रम त मित्रले नै चलाएका रैछन् भन्ने जाने पछि कृष्ण प्रसादलाई निकै अचम्म लाग्यो।
किनभने उनको मित्र उनी जस्तै हैसियत भएका व्यक्ति थिए। मित्रबाट वृद्ध आश्रम बारे धेरै कुरा थाहा भए पछि उनले निर्णय गरे कि- अब उनी आफै पनि वृद्ध आश्रममैं बस्ने हो। सकेसम्म मित्रको सहयोगी भएर वृद्ध आश्रमका वंचितहरूको सेवा गर्ने हो। पछि विदेशबाट छोराछोरीले- छि, बुवा किन वृद्ध आश्रम बस्न जानु भएको भन्ने बात लाए। आश्रममा भएका कतिपय अशक्त र दुखीको सेवामा भुलेका उनले – ‘अब मलाई डिस्टर्ब नगर्नु ‘ भनी जवाफ फर्काए।
उनी वृद्ध आश्रममैं बस्छन्। आफ्नो छ-सात कोठा भएको दुई तल्ले घरको भुईं तल्ला पूरै बहालमा दिएका छन् । त्यसबाट आउने सबै रकम आश्रमलाई दिन्छन्। छोराछोरी विदेशबाट केही दिनको लागि घर आउँदा घरको माथिल्लो तल्लामा बस्छन् । कृष्ण प्रसाद पनि उनीहरू संगै बस्न आश्रमबाट घर आउँछन्। उनीहरू विदेश फर्के पछि कृष्ण प्रसाद फेरि वृद्ध आश्रममैं फर्कन्छन्। उनी आफ्नो रुपान्तरणबाट खुशी छन्। तर भन्नेले-बिचरा कृष्ण प्रसादलाई धन, शिक्षा र सन्तानले साथ दिएनन् भनी कुरा काट्छन्।
धनमायाको कथा पनि उस्तै-उस्तै छ। संघर्षपूर्ण दाम्पत्य जीवनको जंघार तर्दै गर्दा एउटा जिम्मेवारी छोराकोरुपमा थपियो। बडो कठिनाईका साथ दुबैले आफ्नो एकमात्र छोरालाई पढाए-लेखाए । एउटा नीजि संस्थामा जागिरे भएपछि छोराको बिहे पनि गरी दिए। जीवनमा काम बढी र आराम कम्ति भए पछि अनेक बहानामा जीवन छोट्टिंदो रैछ। र, त्यस्तै भयो, धनमायाको पति परलोकवासी भए। दिन बित्दै गयो, धनमायाको छोराको एउटा छोरा भयो। नाती सानो हुँदा धनमायाले नातीको खुबै हेरचार गरिन्। छोरा बुहारीलाई लाग्यो-आमा साथ हुनुले उनको बच्चाले राम्रो स्याहारसुसार पाएको छ। तर, छोरा स्कुल जाने भएपछि र उमेर ढल्कँदै गएपछि आमा पनि अलिअलि विरामी पर्न थालेपछि बुहारीको हृदयबाट सासुप्रतिको सम्मान र कृतज्ञताको भावना पूरै हराएछ। र, सासुलाई नानाथरी भन्न थालिछन्। अफिसबाट घर फर्के पछि श्रीमतीको रोष र आमाको पीडा बुझ्न छोरालाई गाह्रो भएन। र, यो दिनदिनैको कथा हुन् थाल्यो । एकदिन एकदमै मिल्ने साथी सँग घरमा भईरहेका सबैकुरा भने पछि साथीले वृद्ध आश्रम बारे भनेछ। दुबैले गएर वृद्धाश्रम बारे जानकारी लिएछन् । र, पारिवारिक कलहले विभिन्न समस्या उत्पन्न हुन नदिने उपाय स्वरूप छोराले आमालाई वृद्ध आश्रममा राख्ने निधो गरेछ। अनि एकदिन आमालाई घुमाउन लैजाने बहानामा छोरा र आमा वृद्धाश्रम पुगेछन्। त्यहाँका सबैकुरा बताए पछि छोराले भनेछ – आमा, मेरो माया र आदर तंपाईं प्रति अलिकति पनि कम्ति भएको छैन। तर, घरको कलहले मलाई अहिले तंपाईं सित छुट्टिएर बस्न बाध्य पारेको छ। तर, म तपाईंलाई यहाँबाट एकदिन घर लैजान अवश्य आउने छु। के तपाईं यहाँ एक्लै बस्न सक्नु हुन्छ? निकै समझदारी पूर्वक धनमायाले भनिन् – उसैपनि घरमा नाति संग एकडेढ घण्टा र तं संग खाना खाने बेला नै त म साथ हो, अरु बेला म एउटा कुनामा बसेर आराम गरी रहेकी हुन्छु। यहाँ भएपछि आफ्नो दौंतरी संग समय बित्नेछ। बरू शनिबार विदा भए पछि भेट्न आइ हाल्नु। मलाई यहाँ एक्लै बस्न कुनै समस्या छैन।
समस्या कृष्ण प्रसादलाई छैन। समस्या धनमायालाई पनि छैन। फेरि किन कसैले यसरी भन्ने गर्छन् कि- त्यस्ता सन्तानको पनि त्यही हालत होस्। हो, हुने त सबैको त्यस्तै नै हो। तर, पारिवारिक रुपान्तरणको यो पक्ष हामीलाई किन स्वीकार्य छैन?
हाम्रो पारिवारिक संरचनामा अभिभावकको ठूलो स्थान छ। कहिले आवश्यकता,कहिले महत्वकांक्षा वा कहिले विभिन्न कारणले हामीलाई पुरानै अवस्थामा कायम रहन सम्भव पनि छैन। उपरोक्त प्रसंगहरूको आशय अभिभावकलाई वृद्धाश्रम नै पुर्याउनु पर्छ भन्ने होइन्। मिलाउन सक्नेले मिलाएर बस्छन् । नसक्नेले शान्तिपूर्ण बाटो खोज्छन्। बरू,यस्ता कतिपय पारिवारिक र सामाजिक समस्या निराकरण गर्ने संस्थाहरूलाई आधुनिक र आर्थिकरुपले बलियो बनाउन तर्फ किन नलाग्ने?