जीवनमा सुख–दुःख, सफलता–असफलता, अवसर र चुनौती सबै कुरा मानवीय यात्राका स्वाभाविक पक्ष हुन् । तर ती अवस्थालाई हामीले कस्तो दृष्टिले हेर्छौँ भन्ने कुराले नै हाम्रो जीवनको गुास्तर निर्धारण गर्छ । कुनै पनि अवस्था प्रति धेरै दुःखी र चिन्तित नभई त्यसलाई सहज रूपमा स्वीकार्नु नै सकारात्मक सोच हो । मानिसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । ऊ जसरी सोच्दछ, ऊ त्यस्तै बन्छ । त्यसैले सकारात्मक सोच नै मानिसको जीवनको ऊर्जाको मूल स्रोत हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुणा बढी शक्ति हुन्छ । जसले सकारात्मक सोचलाई सही समयमा, सही ठाउँमा, सही तरिकाले प्रयोग गर्न सक्छ, उसकै जीवन र जगत सुन्दर बन्ने गर्छ ।
नेपालमा प्रचलित उखान छ । जस्तो मन त्यस्तै तन” हाम्रो सोचले नै हाम्रो व्यक्तित्व निर्माण गर्छ । सकारात्मक सोचले मात्र आत्मबल, आत्मविश्वास, र प्रेरणा बढाउँछ । नेतृत्व क्षमताको विकासदेखि लिएर स्वस्थ मन र सफल संगठन निर्माणसम्मका सबै कुरा सकारात्मक सोचकै उपज हुन् ।
खप्पतड बाबाले भनेका छन् — विचार बाण सरह हुन्छ। एक पटक उच्चारित विचार वा शब्द फिर्ता गर्न सकिँदैन । त्यसैले बोल्नु अघि सोच्नुपर्छ, किनभने हाम्रा विचारहरूले नै हाम्रो कर्म र परिणाम तय गर्छन् । नकारात्मक सोचले निराशा, आक्रोश र असन्तुष्टि जन्माउँछ भने सकारात्मक सोचले खुशी, सहिष्णुता र सन्तोष प्रदान गर्छ ।
डा.योगी विकाशानन्दका शब्दमा — संसार बदल्न चाहिन्छ भने सुरुवात आफैँबाट गर्नुपर्छ।” आजको युगमा धेरै मानिसहरू अरूले गरेनन् भनेर दोष लगाउँछन्, तर आफूले के गरेँ भन्ने प्रश्न उठाउँदैनन् । अरूको आलोचना गरेर होइन, आफैँबाट सुरु गरेर मात्रै सकारात्मक परिवर्तन सम्भव हुन्छ । त्यसैले अरूको कमजोरी होइन, आफ्नो योगदान खोज्ने बानी बसाल्नुपर्छ ।
डा. म्याक ओडेलले भनेका छन् — महान कार्य सुरु गर्ने सबैभन्दा उपयुक्त समय आजै हो । समय बर्बाद नगरी, आलोचना छाडेर काममा लाग्नु नै सकारात्मक सोचको व्यवहारिक रूप हो ।
हिजोआजको नेपाली समाजमा नकारात्मकता बढ्दै गएको महसुस हुन्छ । सामाजिक सञ्जालदेखि लिएर दैनिक कुराकानीसम्म, अरूको कमजोरी खोज्ने, गुनासा गर्ने र निराशा फैलाउने प्रवृत्ति बढेको छ । यस्तो सोचले वातावण मात्र होइन, मनोवृत्तिलाई पनि विषाक्त बनाउँछ । नकारात्मक सोचले मानिसलाई कमजोर र असन्तुष्ट बनाउँछ त्यसका विपरीत, सकारात्मक सोचले चुनौतीमा पनि अवसर देख्न सिकाउँछ । विष्टर्न चर्चिलको भनाइ छ ः निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, आशावादी व्यक्ति हरेक समस्यामा अवसर देख्छ ।
सकारात्मक सोचले व्यक्ति मात्रै होइन, समाज र राष्ट्रको ऊर्जा पनि बढाउँछ । सहकार्य, सहिष्णुता र सद्भावका आधारमा समाज अघि बढ्छ । जो मानिस अरूको सहयोग गर्छ, ऊ वास्तवमै सुखी हुन्छ । आफूमा भएको ज्ञान, सीप र क्षमता अरूमा बाड्दा त्यो घट्दैन, झन् बढ्दै जान्छ ।
अहिलेको समाजमा देखिने नकारात्मक प्रवृत्तिहरूको चर्चा गर्दा आलोचना र गुनासो केन्द्रित संवादलाई बढावा पाईरहेको देखिन्छ । परिवार, समूह र मिडियामा अरूको दोष खोज्ने, कुराहरू बिगारेर मात्र देखाउने प्रवृत्ति बढेको छ । तुरुन्तै नकारात्मक भावनामा प्रतिक्रिया दिने, असन्तुष्टि, रिस, घृणा र तिरस्कार सहज रूपमा व्यक्त गरिन्छ । सहिष्णुता घटेको छ । तुलना र ईष्र्या — सामाजिक सञ्जाल र उपभोक्तावादका कारण अरूको जीवनसँग लगातार तुलना र ईष्र्या बढेको छ । विवाद र कटुता फैलाउने सामूहिक व्यवहारहरू पनि देखिएका छन् । छोटो चिन्तन, अफवाह फैलाउने र बहसलाई नकारात्मक दिशामा लगाउने प्रबृत्ति बढेको छ ।
कर्तव्यविरुद्धको उदासीनता बढेको छ । अरूले गरेनन, भन्ने बहाना र जिम्मेवारी छाड्ने प्रवृत्ति देखिन्छ । यी प्रवृत्तिहरूले व्यक्तिको मनोवृति, सम्बन्ध र क्षमता माथि दिगो प्रभाव पार्छन् ।
नकारात्मक सोचबाट व्यत्तिलाई मात्रै नभई समाज समेत पार्ने असर पार्दछ । मानसिक स्वास्थ्यमा क्षति, बारम्बार नकारात्मक विचारले चिन्ता, डिप्रेसन र तनावको जोखिम बढाउँछ । आत्मविश्वास घटछ, निर्णय गर्न क्षमतामा कमी आउँछ ।
नकारात्मक सोचले शारीरिक स्वास्थ्यमा प्रभाव पार्दछ । दीर्घकालीन तनावले निद्रा नलाग्ने, प्रमुख रोगहरूको जोखिम (उच्च रक्तचाप, तौल वृद्धि÷कमी, पाचन समस्या) बढाउन सक्छ ।
नकारात्मक सोचबाट सामाजिक सम्बन्ध लाई बिगार्ने र टुटफुट पार्नमा मद्धत गर्दछ । नकारात्मक बोली र व्यवहारले पारिवारिक सम्बन्ध, मित्रता र कार्यस्थलको सहकार्यमा दरार ल्याउँछ । नकारात्मक सोचले उत्पादकता र आर्थिक प्रभाव पार्दछ । कार्यक्षमता घटछ, अवसरबाट बन्चित हुन्छ; समुदाय र संस्थाहरूको प्रगति ढिलो हुन्छ ।
नकारात्मक सोचले माथी उल्लेखित हानी गर्ने भएकाले हामीले सधै सकारात्मक सोच अभिवृद्धि गर्ने तर्फ लाग्नु पर्दछ । व्यक्तिगत अभ्यासहरू जस्तै प्रातःकाल आभारको अभ्यास गर्ने हरेक दिन तीनवटा कुरामा आभार व्यक्त गर्ने बानी बसाल्ने — सानी चीजबाट पनि खुसी महसुस गर्न सिक्नु पर्दछ । ध्यान र साँस अभ्यास गर्नु पर्दछ । दैनिक १०–२० मिनेट गरिने ध्यानले मनलाई शान्त र केन्द्रित बनाउँछ; नकारात्मक विचार घट्छ ।
सकारात्मक सोच अभिबृद्धिका लागी नियमित शारीरिक अभ्यास गर्नु पर्दछ । व्यायामले मानसिक र शारीरिक ऊर्जा बढाउँछ । दिनको साना–साना काममा पनि रमाएर काम गर्नु पर्दछ । आत्मवार्ता सुधार गर्ने, आफैंसँग बोल्ने भाषा सकारात्मक राख्ने — म सक्दछु शैलीमा आत्मप्रेरणा दिने गर्नु पर्दछ । नकारात्मक विचार आएका बेला त्यो विचारलाई प्रश्न चिन्ह लगाएर सोध्ने — के यो सत्य हो? के यो उपयोगी ? छ भनेर बिचार गर्नु पर्दछ ।
समस्या–समाधान केन्द्रित सोच बनाउनु पर्दछ । समस्या देख्ने बानीको सट्टा समाधान सुझाउने अभ्यास गर्नु पर्दछ । साना कदममा समस्यालाई विभाजन गरी क्रमशः समाधान गर्दै जानु पर्दछ ।
सीमित आश्चर्य र अपेक्षा व्यवस्थापन गर्ने, अतिविश्वास र अतिरञ्जनाबाट बच्ने; वास्तविक लक्ष्य र योजना बनाउने गर्नु पर्दछ । सम्बन्ध र सामाजिक वातावरण सुधार गर्नु पर्दछ । सकारात्मक मानिसहरूको सञ्जाल बनाउने, उत्साह दिने, सहायता गर्ने र प्रेरित गर्ने साथी र समुहमा समय बिताउनु प्रयास गर्नु पर्दछ । सम्वादमा श्रोता बन्न सक्नु पर्दछ । अरूलाई पुरै सुन्नु र सहानुभूति देखाउने बानीको बिकास गर्नु पर्दछ । यसले झगडा र भ्रम कम गर्दछ । अरूलाई प्रोत्साहन गर्ने व्यवहार देखाउनु पर्दछ । साना सफलताहरूको प्रशंसा गर्ने र साझा खुसी बाँड्ने बानी बसाउनु पर्दछ । अनवश्यक नकरात्मक खबर÷पोष्टबाट टाढा रहने सामाजिक सञ्जाल र समाचार उपभोगमा न्युनतम समय सीमित गर्ने; रचनात्मक सामग्री खोज्ने, प्रेरणादायी पुस्तक, पोडकास्ट र लेख पढ्ने÷सुन्ने गर्नु पर्दछ जसले सकारात्मक सोचलाई पोषण गर्छ ।
स्कूल र कार्यस्थलमा सामाजिक–भावनात्मक शिक्षा दिनु पर्दछ । बालबालिकालाई प्राथमिक तहदेखि नै आत्म–सम्झौता, समाधान प्रविधि र सहानुभूतिमा सिकाउने कार्यक्रम बनाउनु पर्दछ । समुदायमा आयोजित वर्कशपहरूमा सकारात्मक संचार, तनाव व्यवस्थापन र मनोस्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनु पर्दछ ।
जीवनमा सकारात्मक सोच विकास गर्नका लागि केही अभ्यासहरू आवश्यक छन् जसमा स्वास्थ्यमा ध्यान दिने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, असन्तुष्टि होइन, आभार प्रकट गर्ने, ईष्र्या र घृणाबाट टाढा रहने । आफूलाई अरूभन्दा ठुलो होइन, उपयोगी बनाउने प्रयास गर्नु नै सकारात्मक सोचको व्यवहारिक अभ्यास हो । सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । जीवनका बाटामा समस्या होइन, समाधान खोज्ने दृष्टि राख्नुपर्छ । नकारात्मक सोचले बाटो बन्द गर्छ, सकारात्मक सोचले नयाँ बाटो खोल्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा होइन, आफ्नै मनमा निहित हुन्छ । त्यसका लागि मन र मस्तिष्क सकारात्मक हुनु जरुरी छ ।
याद राखौं — सकारात्मक सोचको मुहान हामी आफैं हौं । त्यसैले हरेक व्यक्तिले आजैदेखि आफैंमा सकारात्मक सोच विकास गर्न थालौं । किनभने सकारात्मक सोचको बाटो नै सफल जीवनको बाटो हो । (लेखक अधिवक्ता हुन् ।)